कश्मिर मामलामा पाकिस्तानलाई अमेरिकाको तर्फबाट झट्का

कश्मिर मामलामा पाकिस्तानलाई अमेरिकाको तर्फबाट झट्का


अमेरिकाले भारत र पाकिस्तानलाई शान्ति र संयम अपनाउन आह्वान गरेको छ । काश्मिर नीतिमा आफ्नो कुनै फरक अवधारणा नरहेको स्पष्ट पार्दै अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता मोर्गन ओर्टागसले कश्मिर भारत र पाकिस्तानबीचको द्विपक्षीय मुद्दा भएको र दुई देश मिलेर नै सम्बन्धित मुद्दामा कुराकानी गरी निचोडमा पुग्नुपर्ने बताएकी हुन् ।

यस मामलामा अमेरिकी नीतिमा कुनै परिवर्तन आएमा तत्काल सार्वजनिक गरिने प्रष्ट्याउँदै प्रवक्ता मोर्गनले भारत र पाकिस्तानबीच वार्ता हुनुपर्ने अमेरिकाको धारणा रहेको जानकारी दिइन् ।

यता, भारतीय विदेश मन्त्रालयले जम्मु काश्मिरका सम्बन्धमा लिइएको निर्णय भारतको आन्तरिक मामिला रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो पक्षमा कन्भिन्स गराउने प्रयत्न जारी राखेको छ ।

भारतले जम्मु काश्मिरका सम्बन्धमा रहेको संविधानको विशेष व्यवस्था गत सोमबार खारेज गरेको थियो । भारतको उक्त निर्णयप्रति विमति जनाउँदै पाकिस्तानले भारतको कदमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने जनाएको छ ।

पाकिस्तानले बुधबार भारतसँगको कुटनीतिक दर्जा घटाएको थियो भने भारतीय दूतलाई फिर्ता गर्ने तथा दुबै देशबीचको व्यापारिक सम्बन्ध तोड्ने निर्णय गरेको थियो ।

ज्ञातव्य छ, काश्मिरको विषयलाई लिएर भारत र पाकिस्तानबीच दुई पटक युद्ध भइसकेको छ ।

भारतीय विदेश मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा जम्मु काश्मिरलाई विशेष दर्जा प्रदान गर्ने भारतीय संविधानको धारा ३७० लाई खारेज गर्ने निर्णय भारतको आन्तरिक मामिला रहेको उल्लेख छ ।

भारतले पाकिस्तानका पछिल्ला कार्यवाहीप्रति तिखो आलोचना गर्दै भारतीय कदमले जम्मु काश्मिरको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताएको छ ।

भारतीय सञ्चार माध्यम प्रेस ट्रस्ट अफ इन्डिया र इन्डियन एक्सप्रेसले जम्मु काश्मिरमा विश्वविद्यालयका प्राध्यापक, व्यवसायी र अधिकारकर्मी समेतका ५६० जनाभन्दा बढीलाई नजरबन्दमा राखिएको जनाएका छन् । उनीहरुलाई श्रीनगर, बारामुल्ला र गुरेजमा अस्थायी शिविर बनाएर राखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार अपराह्न देशका नाममा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको भारत सरकारले जनाएको छ । जम्मु काश्मिरको सुरक्षा व्यवस्था सुदृढ तुल्याउन दशौं हजार सेना र प्रहरी तैनाथ गरिएको छ । जम्मु काश्मिरमा इन्टरनेट र फोन सेवा बन्द गरिएको छ भने मानिसको आवागमनमा अति कडाई गरिएको छ ।