डान्स रेस्टुरेन्टका परिचारिकाहरूको पीडा

(२० वर्षअघिको घटना र विचार)


राजधानीका अधिकांश स्थानहरूमा साँझ ढल्दै गएपछि रात रङ्गीन हुन थालेको छ । व्यापारिक दृष्टिकोणले खोलेका डान्स रेस्टुरेन्टहरू जतिसुकै राम्रो चले पनि केहीलाई छोडेर प्रायजसो धेरै रेस्टुरेन्टहरूमा हुने अमर्यादित क्रियाकलापका कारण युवाहरू मात्र नभएर सरकारी तथा गैरसरकारी कार्यालयका उच्चपदस्थ कर्मचारी, व्यापारी र कलाकारहरू पनि डान्स रेस्टुरेन्टतर्फ आकर्षित भएका देखिन्छन् ।

यी रेस्टुरेन्टमा जाने ग्राहकहरू जोकोही भए तापनि केबल डान्स हेर्दै मदिराको आनन्द प्राप्त गर्ने मात्र नभई रेस्टुरेन्टमा कार्यरत ‘वेट्रेस’हरूबाट सर्भिस लिने बहानामा मौका छोपी उनीहरूको संवेदनशील अङ्गहरू छुनेसमेत गर्दछन् ।

वसन्तपुरनिवासी एक रेस्टुरेन्ट पारखी भन्छन्– रेस्टुराँ गएर केटीहरूलाई छुन पनि नपाइने हो भने यति महँगो मदिरा र नास्ता खान किन जानु ? त्यस्तै कोही त डान्स रेस्टुरेन्टहरूमा हुने गरेको हिन्दी चलचित्रका अश्लील गीतहरूमा खुलेआम अर्धनग्न र अश्लील तवरले नृत्य गर्नुका साथै डान्सर युवतीहरूको नाइटो, स्तनलगायतका यौनउत्तेजक अङ्गहरू हेरेरै मात्र पनि चित्त बुझाउने गर्छन् ।

यसरी राजधानीमा फस्टाउँदै गरेको उत्तेजक नृत्यको व्यवसायले गर्दा एकातर्फ डान्स रेस्टुरेन्टहरू फस्टाउँदै गएका छन् भने अर्कोतर्फ विकृति पनि बढेको छ । मानिसहरू रेस्टुरेन्टहरूमा परिवारसहित जान हिचकिचाउन थालेका छन् ।

बुझिएअनुसार उत्तेजक नृत्यको प्रस्तुतिपछि ड्रेसिङ रूममा नजाँदै ती डान्सरहरूको मोलमोलाइ हुने गर्दछ र मोलमोलाइको काम स्वयम् रेस्टुरेन्टधनी र त्यहाँ कार्यरत स्टाफहरूबाट हुने गर्दछ । जसबाट उनीहरूले मोटो रकम कमिसनस्वरूप प्राप्त गर्ने गर्दछन् ।

राजधानीको हरेक ठाउँमा च्याउ उम्रिएझैँ खोलिएका डान्स रेस्टुरेन्टहरू अहिले राजधानीवासीका मनोरञ्जनका साधन भएका छन् ।

तीन वर्षअघिदेखि रेस्टुरेन्टको व्यवसाय गर्दै आएका रेस्टुरेन्टका एक प्रोप्राइटर आफ्नो रेस्टुरेन्टमा प्रायजसो कल्चरल डान्सलाई नै प्राथमिकता दिने गरेको, तर कहिलेकाहीँ ग्राहकहरूको अनुरोधमा अश्लील नृत्य पनि प्रदर्शन गर्नुपरेको बताउँछन् । तर, कतिपय रेस्टुरेन्टहरूमा ग्राहकहरूको अनुरोधभन्दा पनि रेस्टुरेन्टको आकर्षण नै यौनउत्तेजक नृत्य हुने गरेको पाइन्छ । यी रेस्टुरेन्टहरूमा ग्राहकहरूको अनुरोध नभए पनि अर्धनग्न नृत्यहरू प्रस्तुत गर्ने गरिन्छ । प्रायजसो यस किसिमका रेस्टुरेन्टहरू देहव्यापारको प्लेटफर्म बन्ने गरेका छन् ।

प्रहरीले अहिले केही रेस्टुरेन्टहरूमा छापा मार्ने काम पनि गरेको छ । तर, प्रहरीले जुन–जुन रेस्टुरेन्टमा छापा मारी डान्सरहरू पक्राउ ग¥यो ती रेस्टुरेन्टका मालिकहरू भन्छन्– पैसा पाउञ्जेल प्रहरी चुप बस्छन् र जब पैसा दिन सकिँदैन तुरुन्तै छापा मारिहाल्छन् ।

यस सम्बन्ध जिप्रका हनुमानढोकाका प्रनाउ देवेन्द्र सुवेदी भन्छन्– यस किसिमका रेस्टुरेन्टसँग सम्बन्धित व्यक्तिहरूले प्रहरी प्रशासनलाई सर्वसाधारणको नजरमा बदनाम गर्ने र आफू बच्नका लागि मात्र भ्रामक हल्ला फैलाएका हुन् । त्यस्तै, वडा प्रहरी कार्यालय जनसेवाका प्रहरी निरीक्षक आफ्ना इलाकामा जम्माजम्मी पाँचवटा डान्स रेस्टुरेन्ट सञ्चालन रहेको र ती रेस्टुरेन्टबाट अहिलेसम्म आफू प्रहरी भएको रवाफ देखाएर कहिले पनि पैसा लिने नगरेको एवम् यो व्यक्तिगत चरित्रहत्या गर्ने सुनियोजित षड्यन्त्र मात्र भएकाले यसमा कुनै सत्यता नभएको बताउँछन् ।

राजधानीकै डीपसी रेस्टुरेन्टमा कार्यरत लामा थरकी वेट्रेस रेस्टुरेन्टको कारणबाट आफू अहिलेसम्म देहव्यापार र यौन शोषणमा नफसेको बताउँछन् । ‘त्यो त आफूमा भर पर्छ,’ उनी भन्छिन् ।

त्यस्तै एक वेट्रेसको भनाइ छ– हेर्नुस्, रेस्टुरेन्टमा हामीजस्ता केटीहरूलाई जसले पनि नराम्रो नजरले हेर्छन् । यहाँ आउने प्रायः ग्राहकहरू जति मानियो उनी अश्लील व्यवहार गर्छन् । चुरोट सल्काउन लगाउने वहानामा सीधै छातीमा हात ल्याउँछन् । त्यतिखेर झिनो रिसाएकोजस्तो गर्नुबाहेक न त गाली गर्न सक्छौँ न त अरू केही नै गर्न सक्छौँ । यस्ता कुरामा ग्राहकसँग झगडा ग¥यो कि उल्टै रेस्टुरेन्ट मालिकले हामीलाई गाली गर्छन्, साथै कामबाट समेत निकादिन बेर लगाउँदैनन् । त्यसैले बरु मात्तिएका ग्राहकहरूको अगाडि सकेसम्म हामी जाँदैनौँ र गए पनि परै बसेर अर्डर लिन्छौँ, सर्भिस गर्छौं । – सृजन झा

(घटना र विचार साप्ताहिक, २०५६ साल चैत ३० गते बुधबार)

प्रतिक्रिया