म एउटा मेयरले चाहेर मात्र ‘लुम्बिनी’ बन्दैन

■ मनमोेहन चौधरी (मेयर, लुम्बिनी सांस्कृतिक नगरपालिका)





बुद्धजन्मस्थल लुम्बिनीको सर्वाङ्गीण विकासका लागि यतिबेला विश्वको ध्यानाकृष्ट भइरहेको छ । लुम्बिनी भ्रमण वर्षसमेतको घोषणा भइसकेको अवस्थामा लुम्बिनी सांस्कृतिक नगरपालिकाको दायित्वबारे मेयर मनमोहन चौधरीसँग घटना र विचारका लागि बिन्दुकुमार चौहानले गरेको कुराकानी :

० लुम्बिनीमाथि विश्व जगत्को ध्यान पुगेको परिवेशमा यहाँको नगरप्रमुख भएको नाताले तपाईंका योजना के छन् ?
– अवश्य पनि लुम्बिनीमा विश्वको ध्यान रहेको मैले पनि महसुस गरेको छु, तर सोअनुरूप विश्व जगत्सँग समन्वय–सहकार्य र बुद्ध जन्मस्थलको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारको कमी छ । तसर्थ, यो अवस्थाबाट मुक्त भई लुम्बिनीको विकास र समृद्धिका लागि मेरो व्यक्तिगत र नगरपालिकाको पनि विशेष पहल रहेको छ । जसमा अन्तर्राष्ट्रिय स्तरमा नगरपालिकासँग सह–सम्बन्ध, भगिनी–सम्बन्ध, विकास, प्रविधि र अनुभवको आदानप्रदान तथा नयाँ सिकाइका लागि आवतजावत आदि कार्य हामीले अघि बढाइसकेका छौँ । यसमा भारत, चीन, स्पेन आदि मुलुकहरूसँग प्रक्रिया शुरु भइसकेको छ भने अन्य देशसँगको सम्बन्ध–विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ ।

० तपाईं आफ्नो कार्यकालभित्रै लुम्बिनी सांस्कृतिकलाई नेपालको उत्कृष्ट नगरपालिका बनाउने प्रतिबद्धता पटक–पटक जनाउनुहुन्छ, तर त्योअनुसारको काम या विकास प्रक्रिया त देखिएको छैन, के भन्नुहुन्छ ?
– हो, उत्कृष्ट नगरपालिका बनाउने मेरो सोच र चाहना हो, तर यो नगरपालिका विश्वशान्तिका दूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी, विश्व सम्पदा सूचीमा सूचीकृत भएको महत्वपूर्ण भूमि हो । यसर्थ हाम्रो नगरपालिका आफैँमा उत्कृष्ट छ । यस क्षेत्रको सर्वाङ्गीण विकासका लागि हामीले राम्रा योजना र कार्यक्रमका साथ सरोकारवालासँग समन्वय–सहकार्य गर्नु पक्कै जरुरी छ । नगरवासीलाई विकासमा सहभागी गराउँदै सङ्घीयताको मर्मअनुसार सेवा–सुविधा दिनु जरुरी छ । यसमा म लागिपरेको पनि छु । तर, यो हीरालाई हीरा हो भनेर स्थानीय समुदाय, अन्तर्राष्ट्रिय जगत् स्वयम् नगरपालिका टिम, प्रदेश सरकार, सङ्घीय सरकारले नबुझेको या नबुझाइएको र आत्मसात् नगरेको कारण सोचेजस्तो हुन सकेको छैन । तैपनि सीमित स्रोतका बाबजुद हामी यो उत्कृट नगरपालिकालाई थप उत्कृष्टता दिलाउन लागिपरेका छौँ । यसको लागि स्मार्ट सिटीको योजना, पर्यटन एवम् अन्य क्षेत्रको विकासको लागि अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, समन्वय–सहकार्य बौद्ध धर्मावलम्बीहरू, स्थानीय समुदाय, होटेल व्यवसाय, पर्यटन व्यवसायी, सरोकारवाला सङ्घसंस्था सरोकारवाला सबैसँग समन्वय, सहकार्य र सहयोगलाई प्राथमिकतामा राखी काम भइरहेको र भविष्यमा पनि यसलाई प्राथमिकतामा राखी काम गर्ने योजना रहेको छ । तर, हामी नयाँ नगरपालिका भएको र नयाँ संरचना सङ्घीयताको अभ्यासमा भएको हुँदा सीमित स्रोत–साधन (मानवीय र भौतिक स्रोत)को कमीका कारण नगरपालिकाबाट प्रदान हुने कार्यलाई छिटो, छरितो र सरल रूपमा सेवाग्राहीलाई सेवा दिन सकेका छैनौँ । तैपनि प्राप्त स्रोत–साधनलाई अधिकतम परिचालन गरी कार्य गरिरहेका छौँ । लुम्बिनी नगर क्षेत्रको विकासका लागि आमनागरिक, सम्पूर्ण नगरवासी, सम्बन्धित निकाय लुम्बिनी विकास कोष, प्रदेश सरकार, सङ्घीय सरकार र अन्तर्राष्ट्रिय जगत्लाई यो महत्वपूर्ण भूमिको समृद्धिको लागि थप चासो र आवश्यक स्रोत–साधन, सहयोग उपलब्ध गराउन अनुरोध गर्दछु । किनकि लुम्बिनी सांस्कृतिक नगरपालिका नेपालकै संस्कृति दर्शाउँछ, लुम्बिनीको विकासले देशको पर्यटन र आर्थिक विकास हुन सक्छ यो मेरो बुझाइ छ ।

० तपाईंले पटक–पटक विदेश भ्रमण गर्नुभएको छ, यसबाट नगरपालिका र नगरवासीको निम्ति के उपलब्धि भएको छ ?
– पटक–पटक विदेश भ्रमण त होइन, एउटा नगरपालिकाको जिम्मेवार मेयर भएको नाताले नगर र नगरवासीको विकासको लागि उपयुक्त ठाउँको विदेश भ्रमण भएको हो । मनमोेहन चौधरी होइन यस ‘लुम्बिनी सांस्कृतिक नगरपालिका’को मेयर गएको हो । हामी विश्व सम्पदा सूचीमा सूचीकृत पवित्र शान्तिभूमिका बासिन्दा हौँ । विश्वको नजर प्राथमिकतामा परेको नाता र यस नगरपालिकाको अन्तर्राष्ट्रिय जगत्सँग सम्बन्ध विस्तार गरी लुम्बिनीको पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा खेलकुदको विकासमा समन्वय सहकार्य आर्थिक, प्राविधिक र अनुभवको आदान–प्रदान गर्ने उद्देश्यका साथ चीन, स्पेन र अन्य युरोपियन राष्ट्रको भ्रमण म र मेरा कर्मचारीहरूबाट भएको छ । भ्रमण गरेका देशहरूको विकास र सभ्यताले म मोहित भएको छु । हामी हाम्रा प्राकृतिक स्रोतसाधन महत्वपूर्ण स्थान (धार्मिक, सांस्कृतिक, प्राकृतिक) जो हामीले चिन्न नसकेको मैले महसुस गरेँ । हाम्रो सिस्टम कमजोर र फितलो छ, यसमा सुधार गर्न केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सोचमा परिवर्तन हुनु जरुरी छ । हामी आफ्नो भूमि बाँझो राख्छौँ, अर्काको भूमिबाट उत्पादित खाद्यान्न किनेर खान्छौँ । आफ्नो पानी खेर फाल्छौँ अर्कासँग मागेर, किनेर खान्छौँ ।

हाम्रो जनता जनप्रतिनिधिहरूप्रति आशावादी, जनप्रतिनिधि आफूभन्दा उपल्लो तहको नेतृत्वप्रति आशावादी, स्थानीय कर्मचारी प्रदेश कर्मचारी केन्द्रको निर्देशनको प्रतीक्षामा बस्ने परम्परागत ढङ्गले चल्ने हुँदा नयाँ संरचना सङ्घीयताको कानुन र मर्मलाई लागू गरी कार्यसम्पादनमा चुस्त र सरलता प्रदान हुन नसकेको अवस्था छ । भनाइ, मोलाहिजाप्रति ध्यान दिँदा सम्पादित योजना एवम् कार्यहरू गुणस्तरीय नहुनु र समयमा सम्पन्न नहुनु दुःखको कुरो हो । मैले भ्रमण गरेका चीन र युरोपका जनता राज्यप्रति र राज्य जनताप्रति उत्तरदायी भएर आ–आफ्नो भूमिका निर्वाह गरेको हुँदा विकसित राष्ट्रमा पुग्न सकेको मैले पाएँ, यो हुनुमा राज्यले जनतालाई औधी माया गरेको छ जसको उदाहरण शिक्षा र स्वास्थ्यमा राज्यको पूर्ण लगानी छ । अन्य सेवासुविधा प्राप्त भएका छन्, जनताको चाहना र आवश्यकताअनुसार योजना बनाइएको छ । राज्यले भन्दा पनि बढी माया जनताले राज्यलाई गरेको देखिन्छ । राज्य यो चाहन्छ कि बिरामी भएर अन्तिम अवस्थामा पुगेको नागरिकलाई एक मिनेट, १ घन्टा, १ दिन, १ वर्ष भए पनि बढी बाँच्नुपर्छ भनी लगानी गर्दछ, साथै व्यावसायिक र सीपमूलक, रोजगारमूलक शिक्षा आदिले राज्य सम्पन्न छन् । नागरिक पनि राज्य बलियो हुनुपर्छ, राज्यलाई बलियो बनाउनुपर्छ, राज्य बलियो भएपछि मात्र हामी बलियो हुन्छौँ भनेर लागेका छन्, लागिरहेका छन् । तसर्थ, हामी राजनीतिकर्मी, राष्ट्रसेवक कर्मचारी, आमनागरिक सबैको मानसिकतामा आमुल परिवर्तन हुन जरुरी छ तब मात्र गाउँ, वडा, गाउँपालिका, नगरपालिका, महानगरपालिका र देश बन्न सक्छ ।

हामीले देश बन्नुपर्छ भन्नुभन्दा पनि व्यक्ति बन्नेतर्फ उन्मुख भई काम गऱ्यौँ भन्ने मेरो बुझाइ हो । विदेशीले हेर्दा उनीहरूभन्दा हामी धेरै कुरामा सम्पन्न छौँ, हामीलाई प्रकृतिले सम्पूर्ण चिज दिएको छ, तर हामी माल पाएर चाल नपाएको अवस्थामा छौँ । हामीले हाम्रो देशको कृषि, जल, प्राकृतिक स्रोत, वनजङ्गल, खनिज, उर्वरा भूमि आदि चिन्न सके सोअनुसार योजना नीति निर्माण गर्न सके विदेशीको अनुभव र प्रविधि सहयोग लिए पुग्छ । हामी पनि विकसित राष्ट्रमा पुगी विदेशका राष्ट्रमा आर्थिक सहयोग गर्न सक्छौँ । म यो भन्न चाहन्छु नगरपालिका, जिल्ला र देश विकासको लागि कुनै एक जनप्रतिनिधि वा कुनै नागरिक लागेर मात्र हुने होइन, हामी आमनागरिक, जनप्रतिनिधि, कर्मचारी, आ–आफनो ठाउँबाट सकारात्मक रूपमा लाग्नुपर्छ, राज्यलाई सहयोग गर्नुपर्छ । विदेशमा राजमार्ग (हाई–वे)मा घर छैन, सडक व्यवस्थित छन्, सडक संरक्षण र व्यवस्थित गर्न जनताको साथ–सहयोग छ । हामी हाम्रो सडक अतिक्रमण गरी घर बनाउँछौँ, भैरहवा–लुम्बिनी सडक हेर्नु बस्ती विकास भएको छ, यो भोलि ठूलो समस्या हुनेछ । विदेशी पाँच सय वर्ष पछाडिको योजना बनाउँछन् । हाम्रो १० वर्ष पनि चल्दैन, भैरहवा–लुम्बिनी सडक १० वर्ष पहिला निर्माण गरिएको थियो, अहिले विस्तारको लागि फेरि भत्काएर निर्माण गरिँदै छ, १० वर्षअघि नै अहिलेको आवश्यकताअनुसार निर्माण गर्नुपर्ने यो अहिलेको निर्माण १५–२० वर्षपछि भत्काउनुपर्ने हुन्छ । यी अदूरदर्र्शी योजना काममा लापरबाही सोर्सफोर्स हामीकोमा बढी चल्छ । यसले गर्दा हामीकोमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि गुणस्तरीय सफलता लिन सकेका रहेनछौँ भन्ने कुरा मैले विदेश भ्रमणबाट अनुभव प्राप्त गरेँ । तर, के गर्नु ? एउटा मेयर या म एक्लैले मात्र बुझेर हुँदैन, केन्द्रदेखि स्थानीयस्तरले सम्म त्यसमा पनि जनप्रतिनिधिले मात्र होइन राष्ट्रसेवक कर्मचारी आमजनसमुदायले बुझ्नु जरुरी छ, सोअनुसारको सहभागिता र सहयोगको आवश्यकता छ ।

० विकासको दृष्टिमा पर्खालबाहिरको लुम्बिनी र पर्खालभित्रको लुम्बिनीमा आकाश–पातालको फरक छ, यो असमानताको खाडल तपाईं कसरी पुर्नुहुन्छ ?
– राम्रो प्रश्न गर्नुभयो । हो, यस्तै अवस्था छ । यो अवस्थामा सुधार र विकासमा म र नगरपालिकाले मात्र गरेर या चाहेर हुने होइन । यस महत्वपूर्ण शान्तिभूमि विश्व सम्पदामा सूचीकृत स्थानको समग्र विकासका लागि यसको राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्वको हिसाबले पनि सङ्घीय सरकार, प्रदेश सरकार, लुम्बिनी विकास कोष र नगरपालिकाले संयूक्त रूपमा समन्वय, सहकार्य गरी विशेष ध्यान दिई राम्रो योजनाका साथ अगाडि बढ्न जरुरी छ । लुम्बिनी विकास कोषमा स्थानीय सरकार (नगरपालिका)को नीतिगत र संस्थागत भूमिका हुनु अति आवश्यक छ यसको लागि सङ्घीय सरकार, प्रदेश सरकार, लुम्बिनी विकास कोषलाई विशेष अनुरोध गर्दछु । लुम्बिनी विकास कोषले पर्खालभित्रलाई मात्र महत्व दिई योजना र कार्यक्रम बनाउनुहुँदैन, पर्खालबाहिर र भित्र नगरपालिकाको समन्वय र सहकार्यमा पर्खालबाहिरको विकासका लागि सकारात्मक रूपमा लाग्नुपर्दछ । नगरपालिकाले पनि सोअनुसारको भूमिका निर्वाह गर्नेछ । स्थानीय सरकार स्थानीय सरकार भन्ने स्थानीय सरकारको लुम्बिनी विकास कोषमा भूमिका नहुनु दुःखद हो । लुम्बिनी विकास कोषमा नगरपालिकाको भूमिकालाई कसैले पनि नजरअन्दाज गर्नुहुँदैन ।

० कोष र स्थानीयबीचको खाडल पुर्नका लागि तपाईं के–कस्ता प्रयास गर्नुहुन्छ ?
– लुम्बिनी विकास कोषभित्रको भूमि लुम्बिनीवासीको हो, लुम्बिनीवासीको संरक्षणमा रहेको सो भूमिका लुम्बिनीवासीले प्रदान गरेको हुँदा स्थानीय त्याग र लगानीलाई ध्यानमा राखी विश्वशान्ति भूमि लुम्बिनीको महत्व, स्थानीयको भूमिकालाई बुझाई कार्यक्रम र अवसरमा स्थानीयको सहभागिता जरुरी छ । माथि पनि भनिसकेँ दोहोऱ्याउन चाहन्छु, पहिलो कुरा लुम्बिनी विकास कोषमा नगरपालिकाको संस्थागत र नीतिगत रूपमा सहभागिता स्थापित गर्नुपर्छ । बुद्ध र बुद्ध जन्मभूमि, विश्वशान्तिको मुहान, विश्व सम्पदाभित्र सूचीकृत स्थानको महत्व लुम्बिनीवासी आमसमुदायलाई बुझाउनुपर्दछ । समुदायले बुझे मात्र लुम्बिनीको विकास र संरक्षण हुन सक्छ । अहिले यो अवस्था छैन । लुम्बिनी विकास कोषले पनि नगरपालिकाको महत्व र भूमिकालाई ख्याल गरी समन्वय–सहकार्यका साथ लुम्बिनीको विकासमा पर्खालभित्र मात्र लुम्बिनी होइन भन्ने कुरा बुझ्नुपर्छ, सोअनुसारको योजना र कार्यक्रम बनाउनुपर्छ । लुम्बिनी विकास कोषमा प्राप्त हुने पर्यटन शुल्क र अन्य शुल्क लुम्बिनी सांस्कृतिक नगरपालिकालाई ५० प्रतिशत उपलब्ध गराइनुपर्छ । यसको लागि सङ्घीय सरकार, प्रदेश सरकार, लुम्बिनी विकास कोष, सरोकारवाला र आमसमुदाय सबैसँग विशेष अनुरोध गर्दछु ।

० अन्तमा…
लुम्बिनी भगवान् गौतम बुद्ध जन्मस्थल विश्व सम्पदामा सूचीकृत स्थान यसको महत्व बुझी लुम्बिनी र रूपन्देहीको समग्र विकासका लागि समन्वय–सहकार्यका साथ हामी सम्पूर्ण सरोकारवालाले सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्छ । यसका लागि हामीबाट भएका गल्ती–कमजोरी सुधार गरौँ, विरोधको लागि विरोध गर्ने परिपाटीको अन्त्य गरौँ, लुम्बिनीको विकासको सबैले आ–आफनो ठाउँबाट सक्दो भूमिका निर्वाह गरौँ । जनप्रतिनिधिलाई सहयोग गरौँ, नराम्रा कामको विरोध गरौँ । यस लुम्बिनी सांस्कृतिक नगरपालिका नयाँ नगरपालिका भएको गाउँ नै गाउँले भरिएको हुँदा नयाँ अभ्यास सङ्घीयतामा आएको हुँदा आवश्यक स्रोतसाधनको कमी (मानवीय तथा भौतिक) स्रोतको कमीले गर्दा प्रभावकारी र छिटो–छरितो सेवा प्रदानमा समस्या भएको छ । तैपनि सीमित स्रोत–साधनका बीचमा पनि नगरपालिकालाई संस्थागत, व्यवस्थित र सेवाग्राहीलाई सजिलो, छिटो–छरितो, सरल तरिकाबाट सेवा दिनलाई भएको स्रोतसाधनलाई अधिकतम परिचालन गरिएको छ । विभिन्न उपाय अवलम्बन गरिएको छ, जनताको चाहना र विद्यमान ऐन–कानुनअनुसार जनतालाई सेवा दिन हामी तत्पर छौँ । हाम्रा समस्या नगरपालिकाको अवस्थालाई तपाईंलगायत आमसमुदाय मेरा मतदाता सबैले बुझ्न जरुरी छ । विश्वमा लुम्बिनीको संस्कृति झल्काउन नगरपालिकाको एक वडा एक पहिचान कार्यक्रमको प्रचारप्रसार सुधार गर्नुपर्ने भएमा सुझाव, सल्लाह र सहयोगको अपेक्षाका साथ सबैमा अनुरोध गर्दछु ।

प्रतिक्रिया