गोविन्द र सविना आईटीएफ वर्ष-खेलाडी

गोविन्द र सविना आईटीएफ वर्ष-खेलाडी


नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) ले पुरुषमा एपीएफका गोविन्द खत्री र महिलामा गुल्मीकी सविना श्रेष्ठलाई आईटीएफ वर्ष खेलाडी–२०७५ अवार्डबाट सम्मान गरेको छ ।

गोविन्दले आठौं राष्ट्रिय खेलकुद तथा व्यवसायिक आइटीएफ राष्ट्रिय तेक्वान्दोमा स्वर्ण जितेका थिए । सविनाले एसिया प्यासिफिक अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो तथा सिंगापुरमा भएको आमन्त्रित अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण जितेकी थिइन् ।

उत्कृष्ट प्रशिक्षकमा नेपाल आर्मीका उमेश राजथला पुरस्कृत भए । उनकै प्रशिक्षणमा आठौं राष्ट्रिय खेलकुदमा आर्मीले सर्वाधिक स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो । विजय श्रेष्ठले ‘आउट स्टेन्डिङ’ अवार्ड हात पारे । महासंघका उपाध्यक्ष समेत रहेका विजयले आईटीएफ तेक्वान्दोको विकास र विस्तारमा उल्लेखनिय योगदान पु¥याएकाले सो अवार्ड प्रदान गरिएको महासंघका अध्यक्ष अञ्जन धमलाले जनाए । यो विधा पहिलो पटक समावेश गरिएको हो । विजय प्रतियोगिता विभागका प्रमुख पनि हुन् ।

रोल्पा जिल्ला उत्कृष्ट संघ ठहरियो । वर्ष २०७५ मा उक्त जिल्लाले प्रदेश स्तरीय रेफ्री सेमिनार, प्रोफेसनल तेक्वान्दो प्रतियोगिता र प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरेको थियो । सो अवार्ड रोल्पा जिल्लाका अध्यक्ष विक्रम पाठा मगरले ग्रहण गरे ।

पूर्व उप प्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय सांसद् श्यामकुमार श्रेष्ठ, नेपाल खेलकुद महासंघका सह–संयोजक शिव कोइराला (ज्वाला) लगायतले नगदसहित पुरस्कृत गरे । महासंघको २२औं वार्षिकोत्सवका अवसरमा खेलाडी र प्रशिक्षकहरुलाई पुरस्कृत गरिएको हो । महासंघले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउदै आइरहेको छ । त्यस अवसरमा महासंघले रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो ।