भारतीय उच्च अधिकारी फिर्ता पठाउने पाकिस्तानको घोषणा

भारतीय उच्च अधिकारी फिर्ता पठाउने पाकिस्तानको घोषणा


जम्मू कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकारले सोमबार खारेज गरेपछि पाकिस्तानले आफ्नो देशमा रहेका भारतीय उच्च अधिकारीलाई निकाला गर्ने र भारतसँगको दुईदेशीय व्यापार स्थगन गर्ने घोषणा गरेको छ ।

आफ्नो राजदूतलाई दिल्लीबाट स्वदेश फिर्ता गर्ने उल्लेख गर्दै पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद क्वुरेशीले भारतीय प्रतिनिधि पनि पाकिस्तानबाट फिर्ता पठाउने बताएका एएफपीले बुधबार जनाएको छ । भारतसँगको पाकिस्तानको कूटनीतिक सम्बन्धको स्तरलाई न्यूनीकरण गरिएको समेत उनले बताएका छन् ।

भारतको पछिल्लो निर्णयका विरुद्धमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पनि पाकिस्तानले आवाज उठाउने क्वुरेशीको भनाइ छ ।

जम्मू कश्मीरलाई दिइएको विषेश अधिकारलाई केन्द्र सरकारले फिर्ता लिएको विषयलाई लिएर भारत र पाकिस्तानबीचको तनाव झन् बढ्दै गएको छ । भारतको निर्णयले अन्तर्राष्ट्रिय कानून तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको पाकिस्तान पक्षको तर्क छ ।

हिमाली क्षेत्र कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भूमि भएको दाबी गर्दै केही भागमा दुई देशले शासन गर्दै आएका छन् । भारतले शासन गरेको कश्मीर क्षेत्रमा लामो समयदेखि पृथकतावादी आन्दोलन चलिरहेकाले तीन दशकमा हजारौँको मृत्यु भएको र गरिबी झनै बढ्दै गएको भारतको दाबी छ । गरिबी बढेको, विकास रोकिएको र द्वन्द्व अन्त्य हुन नसकेकाले केन्द्र सरकारले जिम्मेबारी लिनु परेको भारतका केन्द्रीय मन्त्रीहरूको भनाइ छ ।