नेपाल विश्वकपमा छनोट नभएपछि प्रशिक्षक पटवालप्रति औंला उठ्यो

नेपाल विश्वकपमा छनोट नभएपछि प्रशिक्षक पटवालप्रति औंला उठ्यो


सिङ्गापुरमा सम्पन्न विश्वकप ट्वान्टी–२० एसिया छनोट चरणमा नेपालले शर्मनाक प्रदर्शन गरेकोे छ । नेपाल सहित पाँच राष्ट्रको सहभागिता रहेको उक्त छनोट प्रतियोगितामा नेपाललाई प्रमुख दावेदार मानिएको थियो । तर नतिजा त्यसको ठिक उल्टो आयो, नेपाल छनोट चरणकै सबैभन्दा कमजोर राष्ट्र कतार र सिङ्गापुरसँग पराजित हुँदै विश्वकपबाट बाहिरियो ।

नेपाललाई अर्को चरणमा पुग्न आफ्नो अन्तिम खेलमा सिङ्गापुरलाई जित्नै पर्ने दबाब थियो । साँचो रुपमा भन्नुपर्दा सिङ्गापुरसँगको खेल नेपालका लागि ‘गर कि मर’ अवस्थामा थियो । तर उक्त खेलमा नेपाली खेलाडी उत्कृष्ट प्रदर्शनको कुरै छोडौं आफ्नो स्वभाविक खेलको प्रदर्शन गर्न समेत सकेनन् । परिणाम, सिङ्गापुर जस्तो कमजोर टीमसँग ठूलो अन्तर अर्थात ८२ रनले पराजित हुन पुग्यो । जुन अहिले नेपालको लागि सर्मनाकको विषय बनेको छ । नेपाली टीम सिङ्गापुरसंग भएका कुनै पनि क्रिकेटका फम्र्याटका खेलमा अहिलेसम्म पराजित भएको थिएन् । यो नै सिङ्गापुरसँग नेपालको पहिलो हार हो ।

नेपालको तर्फवाट अविनास बोहराले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपालले सर्मनाक पराजय भोग्नुपरेको थियो । निर्णायक खेलमा चर्चित स्पीनर सन्दीप लामिछाने निकै महङ्गा सावित भए । साथै उनले एउटा विकेट पनि लिन सकेनन् । पहिलो खेलमा कतारसँग अप्रत्यासित हार ब्यहोरेको नेपालले त्यसयता मलेसिया र कुवेतलाई पराजित गरेको थियो । नेपाललाई पराजित गरेपछि सिंगापुरले अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएको छ । ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ टोलीले २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउने छ ।

नेपालले ग्लोबल क्वालिफायरमा स्थान बनाउन नसकेपछि अहिले नेपाली क्रिकेट खेलाडी र उक्त टीमका प्रशिक्षक उमेश पटवालको निकै आलोचना भैरहेको छ । अझ प्रशिक्षक पटवालले नेपाली क्रिकेट टोली ग्लोबल खेल्न लायक टोली होइन, त्यहाँ नपुगेको ठिकै भो भनेपछि अहिले आगोमा ध्यू थप्ने काम भएको छ । नेपालको विश्वकप खेल्ने सपना चकनापुर भएको अवस्था टोलीकै प्रशिक्षक पटवालले सञ्चारमाध्यमसामु यस्तो धारणा राख्नु नेपाली क्रिकेट र उसका समर्थकको चह¥याई रहेको घाउमा नुन खुर्सानी दल्नुजत्तिकै भएको छ ।

स्मरणीय छ, नेपाल सन २०१४ को ट्वान्टी–२० विश्वकपमा छनोंट भएको थियो । करिव ३ महिनाअघि क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमटाको स्थानमा पटवाललाई नियुक्ति गरिएको थियो । त्यो भन्दाअघि पट्वाल नेपाली क्रिकेट टीमको ब्याटिङ परामर्सदाताको रुपमा कार्यरत थिए ।

विश्वकप ट्वान्टी–२० एसिया छनोट चरणमा नेपाली खेलाडीहरुको स्तरहिन प्रदर्शनप्रति पूर्व प्रशिक्षक जगत टमटाले आपत्ती प्रकट गर्दै यसको सम्पूर्ण जिम्मेवारी व्यवस्थापन पक्षले लिनुपर्ने बताएका छन् । साथै राष्ट्रिय क्रिकेट टोलीलाई हतोत्साही गर्ने खालको बयान दिने प्रशिक्षक पटवाललाई राष्ट्रिय खेलकुद परिषदले स्पष्टिकरण लिनुपर्ने माग समेत गरेका छन् । टमटाले भने– पटवालको राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षकमा नियुक्ति भएको धेरै समय भएको छैन, तर उनलाई नेपाली क्रिकेटको स्तर कस्तो छ त्यो राम्रोसंग थाहा छ ।’ तर पटवालले अहिले आएर नेपाली टीमप्रति जुन टीकाटीप्पणी गरे त्यो आफैमा दुर्भाग्यपूर्ण भएको टमटाले बताए ।

पटवालको उक्त बयानबाजी प्रति असन्तोष प्रकट गर्दै टमटाले भने– ‘यो नेपाली क्रिकेट टोलीको लागि शुभ समाचार होइन् ।’ प्रतियोगिता खेल्न जानुअघि एउटा कुरा गर्ने प्रतियोगितावाट टीम वाहिरिए पछि अर्को कुरा गर्ने, यो पटवालको छेपारोको जस्तो रङ्ग भएको टमटाले आरोप लगाए । साथै विश्वकप छनोट खेल्न जानुअघि पटवालले यो टीम उत्कृष्ट रहेको भन्दै विश्वकपमा छनोंट गराएर ल्याउने दावी गरेको समेत गरेको टमटाले खुलासा गरे ।

नेपाल विश्वकपमा छनोट हुन असफल भएपछि यतिबेला पटवालाको प्रशिक्षण र क्षमतामाथि प्रश्नचिन्ह खडा भएको छ । टोलीको सफलता र असफलताप्रति प्रशिक्षकको प्रत्यक्ष हात रहन्छ । यी दुवै अवस्थामा पुरस्कार र सजायको भागिदार पनि प्रशिक्षक नै बन्नुपर्ने छ । यस्तो अवस्थामा नैतिकताको कुरा गर्दा पटवालप्रति औंला उठ्नु स्वभाविकै हो ।

तर उनले जसरी टोलीप्रति आक्षेप लगाएर आफु पानी माथिको ओवानो बन्ने प्रयास गरेका छन् त्यो आफैमा सोचनीय बनेको छ । यतिबेला सम्वन्धित निकाय नेपाल क्रिकेट संघ क्यान प्रतिबन्धमा छ । त्यसैले विश्वकप छनोट चरणमा के कारणले नेपालको प्रदर्शन दयनीय बन्यो र नेपालले अपेक्षाअनुरुप प्रदर्शन गर्न सकेन त्यसको सतही रूपमा छानविन आवश्यक देखिएको छ ।