भक्तजनहरुको विश्वास जित्दै तौलेश्वरनाथ शिवालय

भक्तजनहरुको विश्वास जित्दै तौलेश्वरनाथ शिवालय


■ रचना खासु मगर, तौलिहवा (कपिलवस्तु)

बोलबम कावर जलयात्रा सुरु भएसँगै श्रावण महिनाको तेस्रो सोमबार आज तौलिहवामा रहेको तौलेश्वरनाथ शिवालय मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । आज (साउन २०) मात्रै मन्दिरमा करिव डेढ लाख भक्तजनहरुले दर्शन गरेको अनुमान छ ।

एसियामै सबैभन्दा ठूलो शिवलिङ्ग रहेको दाबी गरिएको ऐतिहासिक नगरी तौलिहवा पछिल्ला वर्ष यता बोलबम कावँर नगरको रूपमा विकास हुँदै गएको छ ।

वि.सं. २०६६ मा मन्दिर दर्ता भएपछि ब्यवस्थित रुपमा कावँर जलयात्राको सुरुवात भएको मन्दिर ब्यवस्थापन समितिका सचिव हरिषचन्द्र श्रीवास्तवले बताउनुभएको हो।

महिला र पुरुषका लागि प्रवेश र निकासको छुट्टाछुट्टै द्वार ब्यवस्था गरिएको थियो । त्यस्तै, भक्तजनहरुको सुरक्षाको लागि पनि ३० जना सुरक्षाकर्मी र ७५ स्वयमसेवक खटाइएको थियो । अप्रिय घटना नघटोस् भनेर सिसिटिभी क्यामेराको ब्यवस्था गरिएको श्रीवास्तवले बताउनुभयो ।

सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी उत्साहका साथ खटिएका थिए । सार्वजनिक स्थलमा सुरक्षाको लागि खटिन पाउँदा खुसी लाग्ने र राति २ बजे देखि नै ३० जनाको टोलीसहित खटिएको प्रहरी सहायक निरीक्षक इन्दिरा गिरीले बताउनुभयो ।

आफूले कक्षा १० मा अध्ययन गर्ने र एसईई परीक्षामा पास हुने शक्ति प्रदान गरुन् भन्दै ५ घन्टादेखि रामघाट नदीबाट घस्रिएर आएको वर्गदवा घर भएका पिन्टुको भनाई छ । स्वच्छ मनले मागेको कुरा पूरा हुने विश्वासका साथ विहानै ३ः३० बजेदेखि नै भक्तजनहरुको घुइँचो र ४ बजेदेखि लाइनमा बसेर परिवारको सुखशान्तिको कामना गर्दै पूजा गरेको स्थानीय भक्तजन रुपा खासु मगर र उषा गुप्ताले बताउनु भयो ।

शुद्ध आत्माले आराधना गर्नेहरूको मनोकामना पुरा हुने भएकाले समेत अस्था बढ्दै गएको हो । पछिल्लो समययता भारतको उत्तर प्रदेशबाट पनि ठूलो संख्यामा भक्तजनहरु आउने गरेका छन् । तिथीले श्रावण महिना शुरु भएदेखि नै रामघाट नदी (बाणगंगा)बाट जलयात्रा लिई जलार्पण गर्नेहरूको घुइँचो लाग्ने गर्दछ ।

तिलौराकोट किनारमा अवस्थित प्राचीन भागिरथी (बाणगंगा) नदीमा स्नान गरी जल लिई भजन कीर्तन गर्दै ४ किलोमिटर टाढा रहेको तौलेश्वरनाथ महादेव मन्दिरमा आउने गरेका छन् । महिनाभरी शिव मन्दिरमा जलार्पण गर्नाले विशेष पुण्यफल मिल्ने विश्वास बढ्दै गएको छ । जलार्पण गरेमा जान अन्जानमा भएको पाप काटिने र मनोकांक्षा पूरा हुने भक्तजनको विश्वास छ ।

स्थानीय प्रशासनले समेत भारतबाट बोलबमका लागि आउने श्रद्धालुका लागि भन्सारमा सहुलियत दिएको छ । पछिल्लो समयमा करिव ४० प्रतिशतका हाराहारीमा भारतको उत्तर प्रदेशको सिद्धार्थनगर, बस्ती, बलरामपुर जिल्लाबाट आउने गरेको समितिले बताएको छ ।

शिवपुराणमा उल्लेख गरिएअनुसार बाह्र ज्योतिर्लिङग मध्य एक भएकाले देवघर (बाबाधाम) जाने प्रचलन थियो । श्रावण महिनामा लाग्ने श्रावणी मेलामा कावँरसहित करिव १ सय किलोमिटरको यात्रा तय गरी सुल्तानग१ज हुँदै बाबाधाम जाने गरिएको थियो ।

शिवरात्री र श्रावणी मेला तथा अन्य चाडबाडमा ठूलो संख्यामा श्रद्धालु आउने तौलेश्वरनाथ मन्दिरको प्राचिनताको विषयमा धेरै किंवदन्तीहरू रहेको पाइन्छ । मन्दिरको शिवलिङ्ग आफै उत्पत्ति भएको मान्यता राखिँदै आएको छ ।

मन्दिर निर्माणको क्रम हेर्ने हो भने गोश्वामी जयकृष्ण पुरीद्वारा वि.सं. १८७२ मा काष्टमन्दिर निर्माण गरेको इतिहास छ । वि.सं. १९२८ मा मन्दिरमा अग्निकाण्ड भएपछि गोश्वामी लच्छी पुरीद्वारा बि।सं। १९३० मा पक्की मन्दिर निर्माण गरेकोमा वि.सं. १९७४, २०१५ र २०३५ जिर्णोद्वार गरेको तथ्य रहेको छ ।