जापानमा प्रस्तुति दिन गएका कलाकारहरू विमानस्थलबाटै फकाईएपछि…

जापानमा प्रस्तुति दिन गएका कलाकारहरू विमानस्थलबाटै फकाईएपछि…


■ श्याम क्षेत्री, टोकियो

तमु धीं जापानको आयोजनामा हुन लागेको ‘२३औँ रोधी साँझ तथा रजत जयन्ती २०१९’मा प्रस्तुति दिन जापान पुगेका चर्चित हास्य कलाकार फुलन्देको आमा (उमेश राई) र लोक तथा दोहोरी गायिका सविना गुरुङलाई टोकियो एरपोर्टबाट नेपाल फर्काइएको तमु धीं जापानले जनाएको छ । आफ्नो आमन्त्रणमा जापान आइपुगेका कलाकारहरूले हनेदा अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्कनु परेकोमा सो संस्थाले अपशोच प्रकट गरेको छ ।

गत शुक्रबार (२ अगस्ट) एक प्रेस विज्ञसप्त जारी गर्दै ‘तमु धीं जापान’ले जनाएअनुसार आफ्नो स्थापनाको २५औँ वर्ष प्रवेशका अवसरमा आयोजना गर्न लागिएको भब्य कार्यक्रममा प्रस्तुति दिन कलाकार राई र गुरुङलाई आमन्त्रण गरिएको थियो । तर, नेपालस्थित जापानी राजदुतावासले प्रवेआज्ञा जारी गरे पनि हनेदा अन्तर्राष्ट्रिय विमानस्थलस्थित आध्यगमन केन्द्रले प्राविधिक त्रुटि देखाई प्रवेआज्ञा नदिएकोले उनीहरू विमानस्थलबाटै नेपाल फर्किनु परेको हो । ‘प्राविधिक त्रुटी’ जनाइए पनि खास के–कस्तो प्रकारको त्रुटी हो भन्ने खुलासा भने गरिएको छैन ।

यसरी उत्साहका साथ जापान पुगेका उमेश र सविना दुर्भाग्यवश जापान प्रवेश गर्नै नपाई फर्कनु परेपछि तमु धीं जापानको रोधी साँझ लोकप्रिय पप तथा आधुनिक गायक सर्वज्ञमान शाक्य र गायिका काजल गुरुङले तताउने भएका छन् ।

तमुहरूको मौलिक संस्कृति परम्परालाई जीवन्त राख्न हरेक वर्ष रोधीं, ल्होसार जस्ता महत्वपूर्ण चाडपर्बहरू सो संस्थाद्वारा जापानमा विविध साँस्कृतिक कार्यक्रमसहित मनाउँदै आइरहेको छ ।

अविरल यात्रामा लम्कन र आफुलाई अझ परिस्कृत, परिमार्जित र जीवन्त राख्न आफ्नो स्थापना कालको २५ वर्ष पूरा भएको अवसरमा संस्थाले रजत जयन्ती तथा रोधी साँझको अन्तिम तयारी गरिरहेको कार्यक्रम संयोजक युक्तमान गुरुङले जानकारी दिएका छन् ।

उक्त संस्थाले विदेशमा रहेका नेपालीहरूको समस्याप्रति प्रतिबद्ध रहनुका साथै भइपरि आउने समस्यप्रति सधै साथ दिँदै आइरहेको छ । यसरी हरेक नेपालीको दुःख–सुखमा साथ दिँदै अनवरत यात्रामा दौडिरहँदा आफ्नो २५ वर्षे लामो गौरवमय इतिहास बनाइसकेको तमु धीं जापानको रोधी साँझ तथा रजत जयन्ती विशेष हुने महासचिव चित्र गुरुङले दाबी गरेका छन् ।

यसरी उत्साहका साथ तयारी चलिरहेको र कार्यक्रमको मुखैमा आइपुग्दा अध्यागमन विभाग हानेदाले प्रवेआज्ञा नदिएका कारण आमन्त्रित कलाकारहरू फर्कनु परेको सन्दर्भलाई तमु धीं जापानले दुःखपूर्ण भनेको छ । संस्थाका अध्यक्ष अनिता गुरुङ, महासचिव चित्र गुरुङ र कार्यक्रम संयोजक युक्तमान गुरुङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उक्त प्रसङ्गप्रति दुःख प्रकट गर्दै सहयोगी सबै पक्षलाई धन्यवादसहित आभार प्रकट गरिएको छ ।
समय र परिस्थितिले उमेश र सविनाजस्ता लोकप्रिय र चर्चित कलाकारको उपस्थिति नरहे पनि पूर्वघोषित कार्यक्रम तोकिएकै स्थान, समय र मितिमा चर्चित लोक तथा दोहोरी गायिका काजल गुरुङ, चर्चित पप तथा आधुनिक गायक सर्वज्ञमान शाक्य र स्थानीय कलकारहरुको बेजोड प्रस्तुतिसहित हुने जानकारी तमु धीं जापानले जनाएको छ ।