जब नेताजीले नौ करोड घुसको प्रस्ताव अघि सारे…


■ अर्जुन बराल

काठमाडौंको वसुन्धरा (महाराजगञ्ज)नजिकै रहेको एउटा सामान्य घरभित्रबाट आउने हिन्दु धर्मभित्रका मीठा अनि देवीदेवताका लोभ्याउने शैलीका श्लोकहरूको लय सुनिसकेपछि पैदल हिँडिरहेको पङ्क्तिकारको मनमा कौतुहल जाग्यो– साँच्चै हेर्दा उच्च शिक्षित परिवारिक वर्गको जस्तो देखिने यो घर अनि ‘धर्म’प्रतिको लगाव… नबुझी अगाडी बढ्न मन नै मानेन र दायाँबायाँ अरु केही नसोचि गेटमै पुगेर बेल बजाएँ ।

आश्चर्यचकित भएँ– तत्कालीन रोयल नेपाल एयरलाइन्समा इनफ्लाइट सुपरभाइजर पदमा रहेका किशोर प्रसाद शर्माकी श्रीमती अनि सत्यसेवा सुरक्षणम्को मुलमन्त्रलाई आत्मसात गर्दै प्रहरी सेवामा तीस वर्ष बिताउनुभएकी पूर्वडिआईजी विमला थापा सामुन्ने उभिन आइपुग्नुभयो । आस्थाले शिर झुकाउँदै अभिवादनका साथ आफ्नो परिचय दिएँ । नेपाल प्रहरीको यति लामो इतिहासमा प्रहरीको उच्च तहमा पुग्ने महिलामध्यकी एक उहाँको बारेमा धेरथोर नजान्ने त कुरै भएन ।

एकैछिनको भलाकुसारीपछि राजनीतिक दलको दबाबले गिराएको प्रहरी संगठनको साखसहित अध्यात्मका विषयबस्तु आदिप्रति उहाँको झुकावबारे अलिक जान्ने जिज्ञासाबाट अभिप्रेरित भएर प्रश्न गरेँ– धर्म के रहेछ ? जवाफ जस्तो सुकै होस तर जान्न उत्सुक नै थिएँ ।

‘असल, परोपकारी, सकरात्मक कामसँगै जीवन मृत्युसँग उत्तिकै सामिप्यतामा रही प्राणी र ब्रह््राण्डको सम्बन्धसहित स्वभाव, कर्तब्य, अधिकार, कानुन, ब्यबहार, गुण र जिउने शिक्षालाई नै धर्म भन्नु उचित हो भन्ने लाग्छ ।’ हातमा रहेको पुजाको थालीलाई नजिकै रहेको टेबलमा राख्दै उहाँले जवाफ दिनुभयो ।

०४० सालमा सोह्र सय प्रत्यासीमध्यबाट प्रथम स्थानमा छनोट भई प्रहरी सेवामा प्रबेश गर्नुभएकी एउटा सक्षम प्रहरी अफिसर अपराधको दुनियाँमा कठोर बनी अपराधीलाई जेलको छिँडीमा बसाली आफ्नै प्रहरी संगठनभित्र आफूमातहतका कैयौँ खराब आचरणका प्रहरी कर्मचारीलाई कारवाही गर्न कत्ति नडराउने साथै महिला तथा बालबालिका निर्र्देशनालयको प्र्रमुख रहँदा केही जिल्लामा महिलासेलसहित नेपाल प्रहरीमा जेण्डर पोलिसी निर्माणका साथै नेपाल प्रहरीको इतिहासमा पहिलो इन्टरनेशनल अवार्ड हासिल गर्ने महिला अधिकृत, यस्तो उच्च र सार्थक पृष्ठभूमि भएको व्यक्तित्व ०७० सालमा रिटार्यड भएदेखि गुमनाम किन ? जिज्ञासा सामयिक नै हो ।

उमेरले ६ दशक भए पनि प्रत्येक दिनको योगा अनि ब्रह्मकुमारी राजयोगको सामिप्यतासँगै धर्मप्रतिको लगावले नै हो कि जोस–जाँगर र उर्जा उहाँमा तीव्र रहेको अनुभूति हुन्छ ।

‘देशको राजनीति बाल्यकालमा भोगेको भन्दा दिन–प्रतिदिन ओरालो उन्मुख देख्छु, कोही नेता पनि देशप्रति जवाफदेही भएको पाउँदिनँ, लुटतन्त्र हाबी छ नेताहरू आफु र आफ्ना नातागोताको उन्नतिमा मात्र केन्द्रित देख्छु । यस्तो गंञ्जागोल र विदेशीहरूको क्रिडास्थल बनाइएको देशमा मजस्ता कैयौँलाई अहिलेको पद्धत्तिले गुमनाम बनाउनु स्वभाविक हो । यसै क्रममा हालै प्रारम्भ भएको ‘मातृभूमिका लागि नेपाली’ नामक अभियान संचालनमा सरिक भएका छौँ हामी । एक यस्तो अभियान जो देशको लागि समर्पित रहने छ, जसमा म केन्द्रिय सचिवालय सदस्यमा पनि छु । मेरा दुई सन्तान अष्ट्रेलिया भएकाले मलाई उतै जान कर नगरेका होइनन्, तर करिअरको सिलसिलामा उनीहरू उता रहे पनि मचाहिँ केवल उनीहरुलाई कहिलेकाहीँ भेट्न जाने गरेकी छु, देशप्रति जिम्मेवार हुन्छु भनेर मातृभूमिको टीका लगाएकी म बरु गुमनाम हुन नै रुचाउँछु तथापि देश छोडेर प्रदेश जाने कुरै हुँदैन… !’ एक प्रश्नको प्रतिक्रियास्वरुप उहाँले एकैचोटि धेरै जिज्ञासा शान्त हुनेगरी जवाफ दिनुभयो ।

नेपाल प्रहरीमा पहिलो महिला गुल्मपति, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो महिला प्रहरी प्रमुख अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा प्रमुखमा रहँदा प्रख्यात त्रिशठ्ठीपट्ट चौथो, सवारी अनुमतिपत्र वितरण इकाइमा रहँदा गोरखा दक्षिणबाहु चौथोसहित राष्ट्रिय तथा अन्तरौष्ट्रिय गरी करिव दुई दर्जन पदक तथा अवार्ड प्राप्त उहाँ प्रहरी सेवामा रहँदा मेची, गण्डकी, धवलागिरी अंञ्चलसहित सुदुरपश्चिम प्रहरी प्रमुखको सफल रुपबाट जिम्मेवारी सम्हालिसक्नुभएकी र सेवामै रहँदा सियरालियोन तथा कम्बोडिया समेत पुगेर आफ्नो दायित्व सफलताका साथ निर्वाह गर्नुभएकी उहाँ प्रहरी संगठनभित्र मात्र नभई संगठनबाहिर पनि आफ्नो जिम्मेवारीसहित कर्तब्यमा अडिग प्रहरी अफिसरको रूपमा परिचित पात्र हुनुहुन्छ ।

देशमा अराजक मानसिकताको विकास हुँदै जानु, दलका नेता–कार्यकर्ताले मनपरी गरेकाले विधिको शासन हराउँदै जानु र यसको दुष्प्रभाव समग्र क्षेत्रमा परेको सम्बन्धमा चर्चा चल्दै जाँदा उहाँले सम्झना गर्नुभयो एउटा प्रसङ्ग । उहाँ सवारी अनुमतीपत्र शाखा प्रमुखको जिम्मेवारीमा रहेको बेला नियमविपरित सवारी अनुमति पत्र नदिएको झोकमा नेपाली कांग्रेसका तत्कालीन महामन्त्री तारानाथ रानाभाटले शक्तिको आडमा उहाँलाई अन्यत्र सरुवा गरिदिएका रहेछन् । यस्तै, आफूलाई ‘चर्चित पत्रकार’ भन्न रुचाउने ऋषि धमलाले बागमती अञ्चलमा सवारी अनुमति परीक्षा चरणमा फेल भएपछि नियमविपरित भए पनि आफूलाई अनुमतिपत्र दिनुपर्ने र नदिए दुई घण्टाभित्रमा सरुवा गरिदिने धम्की दिँदा उनलाई यथोचित जवाफ दिएर आफ्नो कर्तब्यमा अडिग रहँदाको सन्दर्भ पनि उहाँले सम्झनुभयो ।

यस्तै, प्रहरी सेवाको कार्यकालमा तीनपटक सम्म सवारी अनुमति शाखा प्रमुखको जिम्मेवारी सम्हाल्नुहुने विमला थापा दरबारबाट तत्कालीन अधिराजकुमारी श्रुती राज्यलक्ष्मी शाहलाई सवारी अनुमति पत्र चाहियो भनि दरबारको आदेश लिएर कोही उनको कार्यकक्षमा आए तर दरबारको आदेश चल्ने त्यस समयमा उनी आदेश लिएर आउने ब्यक्तिलाई कानुन सबैको लागि बराबर हुन्छ, म बर्दी खोल्छु तर कानुनविपरीत अनुमति पत्र दिन सक्दिनँ भनी फिर्ता पठाएको र पछि श्रुती राज्यलक्ष्मी शाहले तीन दिनको कक्षासहित लिखित, मौखिक र प्रयोगात्मक परीक्षामा आफै सहभागी भई नियमपूर्वक परीक्षा उत्तीर्ण गरेर सवारी चालक अनुमतिपत्र हासिल गरेको सन्दर्भ पनि उहाँले यहीँनेर उप्काउनुभयो ।

आफ्नो व्यवसायिक जीवनमा ब्यहोरेका यी प्रतिनिधिमूलक घटना–सन्दर्भहरूले प्रहरीमा कस्ता कुरामा पनि दबाब आउँछ र कुन–कुन तहबाट दबाब सिर्जना गर्न खोजिन्छ भन्ने बुझ्न सहज हुने उहाँको भनाई छ । उपरोक्त सन्दर्भहरूतर्फ फर्केर मन्थन–मनन गर्दा आजका यी शासकभन्दा त्यतिबेलाको दरबार बरु प्रजातान्त्रिक थियो, विधिको शासनमा विश्वास गर्दथ्यो भन्ने यतिबेला महसुस भएको उहाँको भनाई छ ।

आफू डिएसपीसम्मको तहमा बढुवा हुँदा सिनियारिटीको आधारमा स्वभाविक रूपले भएको र त्यसपछिका बढुवामा संगठनप्रति बफादार, कार्यसम्पादन मुल्याङ्कनमा समेत अब्बल हुँदा पनि विभेद नै विभेदको शिकार हुनुपरेको तिक्त विगत पनि उहाँले उजागर गर्नुभयो । जुनियर तहका साथीहरू आफूभन्दा माथिल्लो पदमा पुग्दा बल्ल बढुवा गरिन्थ्यो, अझ प्रत्येक बढुवामा आर्थिक चलखेल हुन्थ्यो ! यस्ता विकृतिहरू अझै छन् भन्नुहुन्छ उहाँ । डिआईजीबाट एआईजीमा बढुवा हुनुपर्ने सिलसिलामा आफूलाई देश परिवर्तनको ठूलो सारथी ठान्ने एक नेताजीले ‘नौ करोड दिने हो भने प्रहरी प्रमुख बनाइदिन्छु’ भन्ने प्रस्ताव गरेपछि उहाँ अत्यन्त विरक्त बन्न पुग्नुभयो । राजनीतिक दलका यस्तै नेता र यस्ता नेताका पिछलग्गु कार्यकर्ताकै कारण प्रहरी सङ्गठन विकृत र जर्जर बन्न पुगेको महसुस गर्नुभयो उहाँले । यस्ता भ्रष्ट नेताले नेतृत्व गरेको शासन व्यवस्थाले देशलाई कहाँ पु¥याउला भन्ने प्रश्न र चिन्ताले विरक्त तुल्याएको थियो तत्कालीन डिआईजी विमला थापालाई ।

उक्त विकृति घट्नुको साटो झन्–झन् मौलाइरहेको उहाँ महसुस गर्नुहुन्छ । हामी ‘ब्यवसायिक प्रहरी, मजबुत प्रहरी’को नारा दिन्छौँ, तर राजनीतिक नेतृत्वले यस्तो रवैया देखाउँछ अनि कसरी प्रहरी–प्रशासनमा सुशासन आउँछ । यस्तै रवैया कायम रहे त समृद्ध नेपाल सुखी नेपालीको नारा बेकार हो । उहाँको निर्धक्क अभिव्यक्ति थियो ।

(पूर्वडिआईजी विमला थापासँगको कुराकानीको सम्पादित अंश)

प्रतिक्रिया