एनआरएनए ग्लोबल महासचिवमा जानकी गुरुङको उम्मेदवारी निश्चित

एनआरएनए ग्लोबल महासचिवमा जानकी गुरुङको उम्मेदवारी निश्चित


■ डिल्ली अम्माई, बेल्जियम

बेल्जियम तथा नेपालमा समेत रेष्टुरेन्ट ब्यावशाय सञ्चालन गर्दै आउनुभएकी एनआरएनए अन्तराष्ट्रिय समितिको बहालवाला सचिव (सन् २०१७-२०१९) जानकी गुरुङले आगामी कार्यकालको लागि महासचिवको रुपमा काम गर्ने गरी आफ्नो तैयारी सुरु गरेको जानकारी दिनुभएको छ । गुरुङले डायस्पोराका सम्पूर्ण महिलाको आत्मसम्मानका लागि मात्र नभएर गैरआवासीय नेपाली संघको स्थापना कालको उद्देश्य परिपूर्तिको लागि पनि यसपटक महासचिवमा आफ्नो उम्मेदवारी रहने बताउनुभएको हो ।

‘अहिलेसम्म यो संस्थामा नियमित बजेट सार्वजनिक तथा बिनियोजन गरी सोअनुरुप कार्यक्रमहरु सञ्चालन गर्ने परिपाटीको विकास गर्न सकिएको छैन। नियतवश त्यसो गरिएको हो वा के हो थाहा भएन । यदि नियतवश हो भने त्यसलाई तुरुन्त बदल्न आवश्यक छ। शीर्षकअनुशार बजेट विनियोजनको परिपाटीले एक त आर्थिक योजना र संगठनका कार्यक्रम नियमित हुन्छन् भने अर्कोतर्फ संगठनभित्र पारदर्शी आर्थिक अनुशासन कायम हुन्छु’, जानकीको भनाई छ ।

कुराकानीको क्रममा सचिव जानकीले भन्नुभयो, ‘एनआरएनए केन्द्र र राष्ट्रिय समन्वय परिषदमा कार्यकालको नियमित बजेट प्रक्षपण गर्ने ब्यवस्था लागु गर्नुका साथै संस्थालाई थप पारदर्शिता, चुस्त र व्यवहारिक बनाउन, सरल, सामाजिक र भावनात्मक गतिविधिबाट संस्थाको साख उचो राख्न, मुलुकको विकास र समृद्धिको सहयोगी भूमिकालाई व्यवहारमा उतार्न, संस्थामा आबद्धताका लागि सरल र सहज बातावरण बनाउन, दक्ष, प्राविधिक र बौद्धिक जनशक्तिलाई देश विकासमा सरिक गराउने विशेष कार्यक्रम तर्जुमा गर्न, आमा (महिला)मार्फत दोश्रो पुस्तालाई संस्थामा सकृय गराउन विशेष कार्यक्रम लागु गर्न, नेपाली सेवा र उत्पादनलाई विश्व बजारमा प्रबर्द्धन गर्न र संस्थामा मौलाउँदै गएको रकमी, कलमी, लुकिछिपी गरिने दलाली तथा मानवतस्करी र सबैखाले गलत प्रवृत्तिलाई रोक्न मेरो उम्मेदवारी रहने छ। ‘

अर्को एक प्रसङ्गमा उहाँले अलिक दकस मान्दै आफ्नो कुरा राख्नुभयो, ‘दु:ख लागे पनि भन्नैपर्ने हुन्छ, हाम्रो संगठनमा केहि व्याक्तिहरुको सिन्डिकेट छ । अँध्यारो कुनामा बसेर सिन्डिकेटमार्फत पुर्वलिखित निर्णय सुनाइन्छ। पानी धमिल्याएर संगठनको निर्णयलाई कुल्चिइन्छ त्यसैले त्यो अवस्था नबदलेसम्म सबैका लागि एनआरएनए बन्नै सक्दैन । त्यो तोड्न अलिक जियालो मान्छे चाहिन्छ। जसको लागि मैले निरन्तर संघर्ष गर्दै आएकी छु। मेरा हरेक कार्यकालहरुको समीक्षा गर्नुभो भने तपाईंहरुले त्यो हिम्मत र उर्जा मभित्र पाउनुहुनेछ।’

तपाईं कुन खेमाबाट उठ्ने… कुलजीको खेमाबाट कि कुमारजीको ? भन्ने प्रश्नमा उहाँले हाँस्दै भन्नुभयो, ‘भाइ ! म एनआरएन खेमाबाट उठ्ने हो किनकि कुनै प्रकारका सिन्डिकेट वा गुट उपगुट संस्थाभित्र हुनुहुन्न भन्दै म निरन्तर लड्दै आएकी छु। सँस्थागत न्याय, गैरआवासीय नेपालीहरुको मन-मुटु जोड्ने कार्य, मुलुकको कृषि, उद्योग, हाइड्रो, व्यवसाय, शिक्षा, संचार, स्वास्थ्य, सफाई, निर्माण लगायतका क्षेत्रमा हामीले सिकेको प्रविधि हस्तान्तरण लगायत प्रमुख मुद्धाहरु छन्। त्यसको लागि हामीसँग आन्तरिक र बाह्य चुनौती सामना गर्ने शक्ति र सामर्थ्यको आवश्यकता रहन्छ। यी यावत कुराहरुमा मेरो प्रत्यक्ष चासो रहने छ।’

जानकी गुरुङ निर्णय र कार्यमा कठोर भए पनि युरोप मात्र नभई संसारभरका नेपालीहरुसँग भिजेकी महिला नेतृ हुनुहुन्छ। अनुभवको हिसाबले भन्नुपर्दा उहाँ एनआरएनए बेल्जियम तदर्थ समितिको संस्थापक कोषाध्यक्ष (२००५) हुँदै एनआरएनए बेल्जियम सल्लाहाकार (२००६-२००८), एनआरएनए युरोप सह-सँयोजक (२००७-२००९), एनआरएनए बेल्जियमको तेश्रो कार्यकालको अध्यक्ष (२०११-२०१३), एनआरएनए बेल्जियमको तर्फबाट आइसिसी सदस्य (२०१३-२०१५०), एनआरएनए बेल्जियमको तर्फबाट आइसिसी सदस्य (२०१५-२०१७) र एनआरएनए केन्द्रिय समितिको बहालवाला सचिव (सन २०१७-२०१९) हो। यस बाहेक उहाँले चितवन क्याट लगायत अनगिन्ती अभियानमार्फत परोपकारी अभियानहरुमा सक्रिय भूमिका निभाइसक्नु भएको छ।