इराकमा नेपालीको पीडक नेपाली नै

इराकमा नेपालीको पीडक नेपाली नै


गोर्खालीको गरिमासँग जोडिएर पनि नेपाल र नेपालीको प्रसिद्धि विश्वभरि कहलिएको छ । भारत ब्रिटिस र सिंगापुर पुलिसमा आफ्नो छुट्टै इतिहास बनाएका गोर्खालीको योगदान हरेक क्षेत्रमा संलग्न रहिआएकोमा दुईमत छैन । तर, यस्तो गरिमालाई धमिल्याउने काम इराकमा बस्दै आएका एक गोर्खा क्याप्टेनले गर्द आएका छन् । सुनसरी धरान-८ घर भएका ब्रिटिस आर्मीका भूपू क्याप्टेन अम्बरबहादुर पन्दाक लिम्बूले रोजगारीको सिलसिलामा इराक पुगेका नेपाली कामदारहरूलाई दलाली गरेर ठग्ने मात्र नभई नेपाली स्वाभिमानी कामदारलाई खराब व्यवहार गर्द धक्म्याउने र अपमानित तुल्याउने गरेका छन् ।
इराकस्थित स्यालो ग्लोबल सभिर्स कम्पनीको स्टोरकिपर पदमा कार्यरत पन्दाकले दैनिक रोलकलमा आफू अनुभवी र खेलाडी भएको भन्दै धेरैलाई सताउने गरेका छन् । उनले ‘नेपाली भनेका कुकुर, हाँस र बाख्रा हुन्’ भन्ने दुर्वचन प्रयोग गर्द अपमानित गर्ने गरेका मलगायतका थुप्रै पीडित नेपाली कामदारको साझा पीडा छ । लिम्बूले मोरङ, सुनसरी, पोखरा, काठमाडौं घर भएका कामदारलाई विभिन्न धम्की दिँदै कामबाट समेत हटाएका छन् । दैनिक रोलकलमा आफू अनुभवी भएको उनी दाबी गर्छन् । आफूविरुद्ध लाग्नेलाई सिध्याइदिने धम्की दिन्छन् । ‘पश्चिमीहरू आफूलाई मनै नपर्ने’ भन्दै उनले नेपालको पश्चिमी जिल्ला गोर्खाबाट इराक पुगेका हाल काठमाडौं धापासी बस्ने दालचन्द्र दवाडी र पोखरा पृथ्वीनारायण चोकका बलबहादुर गुरुङलाई छुट्टी आएको बखत मेलमार्फत काममा फरि्कन दिएनन् । त्यस्तै, ललितपुर- १४ का हर्कबहादुर लिम्बूलाई ‘मसँग सिङ जोड्नेको सिङ भाँचिदिन्छु’ भन्दै उनले कामबाट राजीनामा दिन बाध्य बनाएका थिए । यसैगरी पोखराका गोविन्दबहादुर रानाभाटलाई पनि क्षेत्री-बाहुन दारा भएका चिसो हुन् भन्दै बिनागल्ती कामबाट राजीनामा दिन बाध्य बनाए भने बिनाप्रसङ्ग आफ्नो मान्छेलाई ड्युटीमा बोल्न नदिएको निहुँ बनाएर मोरङ पथरीका प्रेमकुमार लिम्बूलाई पनि लिम्बूले ‘नेपालमै गुण्डा लगाएर तह लगाउने’ धम्की दिए । सोही कम्पनीको हेडअफिसले श्रीलङ्कन मान्छे घर गएर रिक्त भएको स्थानमा नियमानुसार ल्याइएका पोखराका विष्णुबहादुर गुरुडलाई दुई महिनापछि त्यहाँबाट जालझेल गरी कम्पनीको सेक्सन कमान्डरको निर्देशनलाई समेत लत्याउने प्रयास गरेका थिए । लिम्बूले सो ठाउँमा सुनसरी धरानका चित्रकुमार राईलाई नोकरी थमाइदिने भन्दै जालझेल गरिआएका थिए । तर, यसमा भने लिम्बू सफल हुन सकेनन् ।
यसै पनि विदेशी भूमिमा नेपाली कामदारमाथि अनेक यातनादायी व्यवहार थोपरिने गरेकोमा एउटा नेपाली नै आफ्ना दाजुभाइलाई पीडा दिन यसरी अग्रसर भएकोमा कामदार नेपालीले दुःख मानेका छन् । हाम्रो यो पीडा सुनेर पीडकलाई उचित कारबाही गर्ने अब कसले –
– बीबी गुरुङ, हाल ः इराक

प्रशिक्षकसँग घुस माग
जिल्ला खेलकुद विकास समिति पर्सामा अध्यक्ष पदमा छन् अमिताभ बच्चन दास र कार्यालय प्रमुखको जिम्मेवारी विनोदकुमार सिंहले पाएका छन् । तर, उनीहरू खेलकुदको विकास गर्नभन्दा अर्कै धन्दामा लिप्त रहेका छन् भनी खुलासा गर्नुपर्दा मलाई दुःख लागेको छ ।
करार जुडो सहायक प्रशिक्षक पदमा बहाल रहेको मसँग स्थायी पदमा दरबन्दी गराइदिन्छु भन्दै पचास हजार घुस मागे । तर, आफ्नो खुवी र स्वाभिमानको आधारमा सेवा गर्न चाहने मजस्तालाई यो पाच्य र सैह्य हुने कुरै भएन । यो घटना गत तीन गतेको हो । यसविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा मैले उजुरी पनि गरेँ । अमिताभ बच्चन दास र विनोदकुमार सिंहले पटकपटक मोबाइल फोनमा सम्पर्क गरी मसँग घुस मागेको कुराको प्रमाणका रूपमा मोबाइल फोनको वार्तालाप टेपसमेत मसँग सुरक्षित छ । यी भ्रष्टाचारी अध्यक्ष र कार्यालयप्रमुखलाई कडाभन्दा कडा कानुनी कारबाही हुनुपर्छ । मैले मिति २०६८/०५/०९ का दिन जिल्ला प्रशासन कार्यालय पर्सामा ७५५ नम्बरमा दर्ता गरेको लिखित उजुरीउपर उचित कारबाही होस् भन्ने मेरो माग छ । यसरी घुस लिएर मात्र नियुक्तिको सिफारिस वा नियुक्ति गर्ने चलन कायम गरिएमा हामीजस्ता देशका लागि उत्कृष्ट खेलाडी तयार गर्ने क्षमता बोकेका प्रशिक्षक अनुभव भएर पनि घुस दिन नसक्दा केही गरेर देखाउने अभिलाषाबाट वञ्चित हुने अनुभव गरेको छु । साथै अनुभव भएर पनि घुस रकमको अभावमा अनुभवविहीनहरूलाई नियुक्त गरिएको खण्डमा हाम्रो आत्मबल कमजोर हुनेछ भने घुसखोर र भ्रष्टाचारीहरूको मनोबल बढ्ने भएकोले बाध्य भएर त्यस्ता भ्रष्टचारीहरूको पर्दाफास गर्न बाध्य भएको छु ।
– पृथ्वी आलोक, पर्सा

भन्सार छलेर यो कस्तो दान ?
सद्भावना पार्टीका केन्द्रीय सदस्य हरेकृष्णप्रसाद सिंहले रक्षाबन्धनको अवसर पारेर एउटा बोलेरो गाडी एक अध्यात्मिक संस्थालाई दान गरेका छन् । भारतीय नम्बर प्लेट रहेको महेन्द्रा कम्पनीको सो गाडी उनले ब्रह्माकुमारी प्रजापितार् इश्वरीय विश्व विद्यालयअन्तर्गतको राजविराजस्थित ओम शान्ति संस्थालाई प्रदान गरेका हुन् । नेपालमा सो संस्था ब्रह्माकुमारी राजयोग सेवाकेन्द्रको नामबाट सञ्चालनमा छ । भारतको राजस्थान राज्यको माउन्ट आवुमा मुख्यालय भई विश्वका धेरैजसो राष्ट्रहरूमा आध्यात्मिक सन्देश बाँड्दै आएको सो संस्था विशुद्ध आध्यात्मिक संस्था हो । तर, यस्तो असल उद्देश्य बोकेको संस्थाको नाममा पनि राजनीति गर्ने र आफ्ना विभिन्न गतिविधिका कारण उक्त संस्थालाई नै बद्नाम पार्ने कार्यमा लिप्त रहनेहरूको पनि समाजमा कमी रहेनछ भन्ने सिंहले पुष्टि गरिदिएका छन् । रक्षाबन्धनको अवसर पारेर ओमशान्तिलाई दान गरिएको सो गाडीको भन्सार काटिएको छैन । भारतीय नम्बर प्लेटको कुनै पनि सवारीसाधन नेपालमा राख्नु गैरकानुनी मानिन्छ । तर, कानुनलाई धोती लगाउँदै आफ्नो निजी प्रयोगमा समेत भारतीय नम्बर प्लेटको गाडी राखेका सिंहले ओमशान्तिलाई पनि त्यस्तै गाडी प्रदान गरेर पवित्र संस्थालाई बद्नाम पार्ने कार्य गरेका छन् । भन्सारबाहेक करिब ११ लाख नेपाली रकम परेको सो गाडीको भन्सार शुल्क तिरेपछि करिब २७ लाख मूल्य पर्न आउँछ । तर, भन्सारै नतिरी उक्त गाडी सप्तरी भित्र्याएर सिंहले ओमशान्तिलाई दान गरी सस्तो लोकप्रियता कमाउन हिच्किचाएनन् ।
सगरमाथा पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्षसमेत रहेका सिंह नेपाल आयल निगमको सञ्चालक समिति सदस्य पदबाट केही साताअघि मात्र निष्कासनमा परेका व्यक्ति हुन् ।
– हेमशंकर सिंह