भैरहवामा स्ट्रोकको उपचार विधि ‘थ्रोम्बोलाइसिस’ शुरु

भैरहवामा स्ट्रोकको उपचार विधि ‘थ्रोम्बोलाइसिस’ शुरु


■ पुनहरि बेलबासे, भैरहवा

रुपन्देहीको भैरहवामा स्ट्रोक थ्रोम्बोलाइसीस उपचार विधि शुरु भएको छ । स्ट्रोक थ्रोम्बोलाइसिस शुरु भएको भैरहवा नेपालकै तेस्रो जिल्ला हो । यसभन्दा अघि यो सेवा काठमाडौं र पोखरामा उपलब्ध छ ।

ब्लक भएको नसा खोल्न प्रयोग हुने थ्रोम्बलाइसिस प्रविधि हो । स्ट्रोक भएको बिरामी ४ घण्टाभित्र अस्पताल पुगेमा थ्रोम्बोलाइसिस प्रविधिबाट औषधि उपचारमार्फत निको पार्न सकिन्छ ।

नेपाल स्ट्रोक एशोसियशनका अध्यक्ष डा. लेखजङ्ग थापाको गृहजिल्ला समेत रहेको रुपन्देहीमा उनले भैरहवास्थित आफ्नै घरमा न्युरो एण्ड एलाइड क्लिनिक स्थापना गरेका हुन् ।

थापाका अनुसार क्लिनिकको मुख्य काम नै स्ट्रोकको उपचार विधिबारे जनचेतना फैलाउनु रहेको छ । थापा भन्छन्, ‘बिरामी मेरैमा र मैसँग आउनुपर्छ भन्ने छैन जुन अस्पताल गए पनि बिरामीले स्ट्रोक आएमा ४ घण्टाभित्र नै उपचार पाउनुपर्छ भन्ने हो ।’

भैरहवामा क्लिनिक स्थापना गर्नुको कारण स्ट्रोकसम्बन्धी सचेतना र उपचार विधि देशको हरेक अस्पताल सम्म पुर्याउनु रहेको छ । त्यसैले नै भैरहवामा स्थापना गरिएको क्लिनिक स्ट्रोकको उपचारको लागि जनचेतना केन्द्रको रुपमा रहेको जानकारी थापाले दिए ।

विश्वभर स्ट्रोक भएका ८६ प्रतिशत मानिसले सही उपचार नपाउँदा स्ट्रोकको कारण मृत्यु हुने गरेको छ । तथ्यांकहरुलाई हेर्दा २५ प्रतिशत हस्पिटल भर्ना स्ट्रोकको कारण हुने गरेको देखिन्छ र ५९ वर्षभन्दा माथि उमेरका मानिसमा अधिक मात्रा यो रोग लागेको भेटिएको छ ।

नेपालको अहिले धेरै जस्तो तराई भेगमा स्ट्रोकको समस्या बढिरहेको छ । अन्य रोगभन्दा यो रोगको असर बढी रहेको छ । स्ट्रोकका प्रमुख लक्षणहरुमा सन्तुलन बिग्रिने वा चक्कर आउने, अनुहार बाङ्गो हुने, आखा धमिलो हुनु वा नदेख्नु, बोल्न ग्राहो हुने र हात अथवा खुट्टा कमजोर हुने रहेका छन् । थापाका अनुशार यस्ता लक्षण देखापरेमा तुरुन्तै अस्पताल पुगेर न्युरोलोजिस्ट सँग सम्पर्क गर्नुपर्छ ।