चोरीको फोनबाट दिइयो उदीतनारायणलाई ज्यान मार्ने धम्की

चोरीको फोनबाट दिइयो उदीतनारायणलाई ज्यान मार्ने धम्की


बलिउडका चर्चित पार्श्वगायक उदीतनारायण झालाई ज्यान मार्ने धम्की आएको छ । विगत एक महिनादेखि एक अपरिचित व्यक्तिले फोनबाट ज्यान मार्ने धम्की दिँदैआएको उदीत स्वयमले खुलासा गरेका छन् ।

बारम्बार अपरिचित व्यक्तिले फोनबाट ज्यानको धम्की दिएपछि दुई साताअघि नै उदीतले प्रहरीमा रिपोर्ट दर्ता गरेका भारतीय मिडियाहरूले जनाएका छन् । बताइएअनुसार उदीतले दर्ता गरेको रिपोर्टमा आफूलाई विगत एक महिनादेखि अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन् । साथै, ज्यान धम्की दिने व्यक्तिले आफुसँग पैसाको कुनै डिमान्ड नगरेको पनि उदीतले खुलाएका छन् ।

रिपोर्ट दर्ता भएपछि प्रहरीले उक्त अपरिचित व्यक्तिको तलास शुरु गरेको छ । मोबाइल फोनकोे लोकेसनका आधारमा प्रारम्भिक जाँच गर्दा उदीतलाई ज्यान मार्ने धम्की दिने व्यक्ति विहारको भएको प्रहरीले जनाएको छ । साथै प्रहरीले उक्त व्यक्तिले चोरी गरेको मोवाइलबाट उदीतलाई धम्की दिइरहेको बताएको छ । उक्त व्यक्ति बिहारको भएको पत्ता लागेपछि प्रहरी टोलीले बिहार गएर घटनाको अनुसन्धान गर्ने तयारी गरेको छ ।

यतिबेला उदीत मुम्बईस्थित अँधेरी वेस्टमा बस्दै आएका छन् । अम्बोली प्रहरी स्टेसनमा उदीतले रिपोर्ट दर्ता गरेपछि उनको बयान लिइयो र अनुसन्धानको लागि क्राइम ब्रान्चलाई जिम्मेवारी सुम्पियो । यतिबेला उदीतको घरको वरिपरि सादा पहिरनमा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ । साथै उनको घरको वरिपरिबाट हिँड्ने व्यक्तिमाथि कडा निगरानी शुरु गरिएको बताइन्छ । फोनकर्ताले उदीतलाई कहिले घरबाट निस्कन्छ, कहाँ–कहाँ जान्छ भन्ने आफुलाई सम्पूर्ण जानकारी भएको दाबी गर्ने गरेको छ ।

उदीतलाई धम्की दिने व्यक्तिको नाम लक्ष्मण भएको पाइएपछि प्रहरीले फोनकर्तालाई सम्पर्क गर्दा उदीतकै घरमा बस्दै आएको सुरक्षा गार्डको नाम रजिष्टे«सन भएको देखिएको थियो । यसपछि प्रहरीले सम्बन्धित सुरक्षागार्डसँग सोधपुछ गर्दा तीन महिनापहिले आफ्नो मोवाइल बिहारमा चोरी भएको जवाफ दिए । चोरी गरिएको फोनमा उदीतको फोन नम्बर रेकर्ड रहेकोले ज्यान मार्ने धम्की दिएको हुन सक्ने प्रहरीको अनुमान छ ।