यसकारण दुख्ने गर्छ राष्ट्रियता दुख्दा हाम्रो मन

यसकारण दुख्ने गर्छ राष्ट्रियता दुख्दा हाम्रो मन


■ डिल्लीराम अम्माई

कबिला राज्यको पालामा उनीहरूका मुखियाले चर्चेको भूभाग नै कालान्तरमा तिनका प्रशासकीय गण इकाईको रूपमा विकास भए । मानिस एकै थलोमा बस्न थालेदेखि नै उनीहरूले आफ्नो प्रभाव क्षेत्रको शान्ति–सुरक्षाको लागि बैदिक नीति–नियमहरू बनेको वृतान्त पुराणहरूमा पाइन्छ । आफ्नो त्यही टेरिटोरी कालान्तरमा कबिला राज्यमा विकास हुन थाल्यो । जनसंख्याको विस्तारसँगै ती प्रशासकीय इकाईहरू विस्तार हुँदै गए । त्यो बेला आफ्ना इकाईहरू विस्तार गर्ने क्रममा एक इकाईले अर्को इकाईसँग युद्ध गर्न थाल्यो । कमजोर पक्ष बलियो पक्षको अधिनमा बस्न बाध्य भयो । अन्ततः कबिला राज्यले देश र बलियो गणराज्यको मुखियाले राजा वा सम्राटको रूपमा आफुलाई रुपान्तरण गरेको वृतान्त इतिहासमा पाइन्छ ।

प्रकृतिले संयुक्त उपभोगको लागि उपलब्ध गराएको भूभाग कालान्तरमा विकास भएको मानव सभ्यताले विभक्त गरायो । त्यही बेलादेखि जमिनको भागबण्डाको लागि महायुद्धहरू हुँदै आएको सत्यलाई नकार्न सकिँदैन । त्यसैले देश, राज्य, राष्ट्र, राष्ट्रियता मानव निर्मित सुरक्षाभाव, युद्ध उन्माद, कब्जा र नियन्त्रणका परिणाम नै हुन् ।

ब्युत्पत्ति :

पुरानो संस्कृत परिभाषा अनुसार ‘राज्’ धातुबाट ‘ष्ट्रन्’ सूत्रले जोडिएर राष्ट्र शब्द बन्दछ । वैदिक वाङ्मयमा देश, जनपद, भूमि आदि शब्दलाई मुलुकको पर्यायवाची शब्दका रुपमा प्रयोग गरिएको पाइन्छ । यसरी शाब्दिक दृष्टिले सुसंस्कृत र सुशाशित देश नै राष्ट्रका रुपमा परिभाषित हुन्छ । सामान्यतया राष्ट्र भन्नाले जनसमुदायसहितको थलो वा देशलाई बुझिन्छ । व्यक्तिको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक र राजनीति आदि विविध उन्नतिहरूको आधारशिला राष्ट्र हो ।

त्यस्तै पश्चिमा सभ्यताले विकास गरेको शब्द ब्युत्पत्ति अनुशार अङ्ग्रेजी शब्द ‘नेसन’को ब्युत्पत्ति ‘लेटिन’ भाषाको ‘एनएटिआईओ’ शब्दबाट भएको हो, जसको अर्थ ‘जन्मको आधारमा’ वा ‘कुन जराबाट पलाएको हो’ भन्ने हुन्छ । विभिन्न शब्दकोषहरूले यसरी नै अर्थ्याउँछन्– ‘कुनै जनसमुदायले भूमिसँगको पुर्ख्यौली सम्बन्ध, भाषा–धर्म, इतिहास, सांस्कृतिक जीवन–दृष्टि (दर्शन) आदिका आधारमा अन्य समुदायभन्दा आफ्नो समूहलाई फरक मान्छन् भने त्यो समुदाय एउटा राष्ट्र हो ।

‘राष्ट्र’मा भाषिक, धार्मिक, जातीय, पुर्ख्यौली परम्परा र समुदायहरूको इतिहासका विभिन्न विरासतहरूको सांस्कृतिक सार समाहित हुन्छ ।

राष्ट्रिय एकता, जनता वा जातीय एकताले राष्ट्रियता बन्दछ । राष्ट्रियतासँग अभिन्न रूपमा जोडिएको अर्को पाटो राष्ट्रिय स्वाधीनता, जहाँको हरेक जाति वा जनता आन्तरिक सीमाभित्र संस्थागत, सुरक्षित र स्वतन्त्र हुन्छ । जनता, राष्ट्र वा जाति बन्नका लागि ऊसँग स्वतन्त्र भाषा, संस्कृति, भेषभुषा र ओगटेको सघन भूगोल हुनु पर्दछ । तिनै भाषा, भेषभूषा, संस्कृति र जोडिएको भूगोल, प्राकृतिक स्रोत साधनमाथिको अधिकार, स्वायत्तता तथा स्वतन्त्रताले मात्र राष्ट्रिय स्वाधीनता हासिल गर्दछ वा बन्दछ । राष्ट्रियता भनेको पहिचान हो, पहिचान सामूहिक भूगोलसहितको हुन्छ भने अर्को व्यक्तिगत हुन्छ । व्यक्तिगत पहिचान भनेको उसको पेशामा आधारित आदि हुन्छ ।

तर सामुहिक पहिचान भूमिको विविधता सहित सांस्कृतिक, भाषिक, भेषभूषा र भौगोलिक संरचनाअनुसार हुन्छ । जस्तो जनजाति, मगर, बाहुन, क्षेत्री, यादव, थारु, पहाड, मधेश आदि सामूहिक र त्यसले ओगटेको भूगोलसँग सम्बन्धित हुन्छ । तर त्यही व्यक्ति शिक्षक, पदाधिकारी, किसान आदि उसका विशेषता अनुसारका व्यक्तिगत पहिचानहरू हुन्छन् । लैंगिक पहिचान सार्वभौम हो । त्यसै ‘पहिचान र अस्तित्व विन्यासका लागि राष्ट्रियताको पहिचान आवश्यकता हुन्छ, जसले मात्र राष्ट्रिय राज्य निर्माण गर्दछ ।’ (कृष्ण गुरुङ)

स्वाधीन युगदेखि अहिलेसम्मको अवस्थामा भन्नुपर्दा राष्ट्रियता भनेको सामूहिक स्वत्वसँग जोडिएको अहम् हो । हामीले महाकाली र मेचीबीचका कयौँ मानिसलाई देखेका हुँदैनौँ तर नेपाली भनेर अपनत्व अनुभूति गर्छौं । नेपालको भूभागलाई आफ्नो भन्दै प्रेमभाव दर्शाउँछौँ । यही हो राष्ट्रियताको भावना । अनि नेपाल र नेपालीका लागि ज्यान दिन र अरु कसैको ज्यान लिन तयार हुन्छौँ । अन्य राष्ट्रका नागरिक पनि यसै भावनाबाट प्रेरित हुने गर्दछन् ।

बेनेडिक एन्डरसन यसलाई आत्मिय तर काल्पनिक समुदाय भन्छन् । राष्ट्रियता मानिसको दिमागमा सीमाबद्ध, सार्वभौम र आत्मीय समुदायको रुपमा सिर्जना हुन्छ । फिजीलगायत प्रवासमा बस्ने नेपाली भन्नेवित्तिकै हामीमा अथाह प्रेमभाव जागृत हुन्छ । त्यही हो हाम्रो सीमारहित राष्ट्रियता स्वत्वसँग जोडिएको अहम् ।

राष्ट्र कहिले माथि (नेतृत्व)बाट त कहिले तल (जनता)बाट बन्छ । जर्मनी विस्मार्कको नेतृत्वमा माथिबाट गठन भएको थियो भने इटाली गैरिवाल्डीको नेतृत्वमा तलबाट चलेको संघर्षद्वारा राष्ट्र निर्माण भयो । त्यस्तै जर्जिया, चेचेनिया, बेलारुस लगायत राज्यहरू तलबाट बने तर सोभियत संघ माथिबाट बन्यो ।

हामीले इतिहास पल्टायौँ भने थाहा हुन्छ, राष्ट्र/राज्य र राजनीतिका इतिहास क्रुरताले भरिएका छन् । राज्य निर्माणको सभ्य दृष्टान्त खासै पाइन्न । युद्ध, छलकपट, जितको अहंकार र हारका पीडा सँगसँगै छन् । सार्वभौम भनिएको भूमि सट्टापट्टा भएका छन्, किनबेच भएका छन् । त्यसैले अन्तर्राष्ट्रियतावादीहरूले भन्ने गर्दछन् कि ‘फगत अरूमाथि शासन गर्नका लागि बाहेक यसको प्रयोग र प्रयोजन नै छैन । त्यसैले यो भ्रामक अवधारणा हो ।

त्यस्तै, मार्क्सवादीहरूले राष्ट्रवादलाई वर्गसंघर्षभन्दा माथि राख्ने कार्य, समाजवादी ध्येय र उद्देश्यको मूल्यमा आत्मनिर्णयको अधिकार बहाल गर्ने कार्य वा राष्ट्रहरूको विशिष्टताको रक्षा गर्ने कामलाई क्रान्तिप्रतिको विश्वासघात ठान्दछन् । राज्यको संघ र महासंघमा रुपान्तरण गर्दै लैजाने सोचले मानवतावादी समतामा लैजाने सोच राख्छन् समाजवादीहरू । लेनिनले भनेका छन्, ‘मार्क्सवादलाई राष्ट्रवादसँग गाँस्न सकिँदैन, चाहे त्यो राष्ट्रवाद सबभन्दा सही, पवित्र, परिमार्जित र सभ्य प्रकारकै किन नहोस् ।’ उनीहरूको विचारमा ‘मानवताको अन्तर्राष्ट्रवादले क्रमशः सबै प्रकारका राष्ट्रियता विलय गर्ने छ । अबको दुनियाँ विस्तारै मानव मात्र नभएर प्राणी जगत र प्रकृति रक्षामा सङ्क्रमित हुँदैछ । वैज्ञानिक प्रकारको विभेदरहित सामुहिक संस्कृतिलाई संष्लेषण गरिएको समतावादी समाज सुदुर भविष्यमा हुने विश्वास गरिन्छ । समाजवादीहरूका अनुसार सोहीअनुरुपको संस्कृति क्रमशः निर्माण हुँदै जान्छ ।’

विगतदेखि अहिलेसम्म राज्यहरू कसरी बने ?

यस सन्दर्भमा कुरा गर्दा कुनै पनि राष्ट्रको निर्माणमा असीमित रगतको खोला बगेको इतिहास हाम्रो सामु साक्षी छ । नेपाल राज्यको निर्माण क्रममा कति रगत बगे होला हामी केवल कल्पना गर्न सक्छौँ । देश बलपुर्वक बनेको छ भने त्यो समयक्रममा विघटन पनि हुन्छ । यदि आवश्यकताअनुसार हो भने त्यो अझै बृहद पनि हुन्छ । राष्ट्र राज्यमा, राज्य संघमा र संघ महासंघमा रुपान्तरण हुँदै जाने हो । त्यतिबेलाको चेतनाको स्तरअनुकुल नयाँ सभ्यता, नयाँ संस्कार र नयाँ संस्कृतिको निर्माण बन्ने तर्कलाई कसैले खण्डन गर्न सकेको छैन । सोभियत संघ, युरोपियन संघलगायत क्षेत्रीय संघहरू र अन्तमा संयुक्त राष्ट्र संघ त्यही प्रक्रियाका भ्रुण हुन् ।

अचेल पत्रपत्रिका र सामुहिक, राजनीतिक तथा साहित्यिक वृत्तमा राष्ट्र, राष्ट्रियता, राज्य र देशसम्बन्धी हचुवा र काल्पनिक बहस चलेको देख्दा अचम्म लाग्छ । राष्ट्र, राष्ट्रियता, राज्य र देश जस्तो गहन विषयमा चर्चा गर्न र लेख्न यसको विविध ऐतिहासिक विकासक्रम बुझ्नु आवश्यक हुन्छ । विगतदेखि अहिलेसम्म राज्यहरू कसरी बने भन्ने कुरा नबुझेसम्म राज्यको स्थायित्वबारे बहस गर्न गाह्रो पर्छ र देश, राज्य र राष्ट्रको फरक छुट्याउन त झनै मुस्किल हुन्छ ।

आधुनिक तात्पर्यमा देश र राष्ट्र भन्नाले उस्तै कुरा बुझिने भए पनि राष्ट्र र राज्यको अवधारणाचाहिँ अलिक भिन्न छ । अहिले एउटा ‘राष्ट्र’भित्र अनेकौँ ‘राज्य’ हुन सक्छन् भन्ने बुझ्नु जरुरी छ । तर वैदिक अवधारणामा चाहिँ राष्ट्र र राज्यबीच कुनै भिन्नता रहेको पाइँदैन । वैदिक राष्ट्रहरू आधुनिक गणराज्य जस्तै हुन्, जहाँ राजा वा राष्ट्रप्रमुख जनताद्वारा चुनिन्थे ।

आधुनिक तात्पर्यमा चाहिँ ‘राष्ट्र’ भन्नाले निश्चित भूगोलमा बसोबास गर्ने त्यस्तो जन–समूहलाई बुझिन्छ, जसको आफ्नै एउटा मिल्दोजुल्दो पहिचान हुन्छ । ‘राष्ट्र’ बन्नका लागि त्यहाँ बस्ने जनताको भाषा, धर्म, इतिहास, संस्कृति, नैतिक आचार वा मूल उद्गममध्ये केही कुरा मिल्नुपर्छ । यही साझा मिलनबिन्दुले उनीहरूलाई आपसमा जोडेर राख्छ र उनीहरू एउटै राष्ट्रका नागरिक बन्छन् । यसरी ‘राष्ट्र’लाई बुझिने गरी एउटा त्यस्तो जनसमूहका रुपमा परिभाषित गर्न सकिन्छ, जो निश्चित भौगोलिक सीमाभित्रको एउटै भूगोलमा बस्छ, समान परम्परा, समान हित र समान भावनाले बाँधिएको हुन्छ । जसमा एकताबद्ध हुने उत्सुकता एवं समान राजनीतिक महत्वाकांक्षा समेत जरुरी हुन्छ । जसरी समुन्द्रमा पुगेपछि नदीहरूको जल एकरुप र एकाकार हुन्छ, त्यसैगरी राष्ट्रले विभिन्न वर्गका मानिसहरूलाई एकरुपता प्रदान गर्छ ।

राष्ट्र र राष्ट्रियता :

राष्ट्रियता भनेको एक विश्वास वा भावना हो, जसको माध्यमबाट व्यक्तिले आफ्नो राष्ट्रसँग आफूलाई गाँसेर हेर्छ, आफ्नो परिचय प्रस्तुत गर्छ र एक प्रकारको भावनात्मक लगाव प्रकट गर्छ । राष्ट्रियता स्वभावैले आत्मिक र आन्तरिक हुन्छ । राष्ट्रवाद त्यस्तो आस्था वा प्रेमपूर्ण बन्धनको नाम हो, जसअन्तर्गत आफ्नो साझा इतिहास, परम्परा, भाषा, जातीयता र संस्कृतिका आधारमा मानिसहरू एकजुट हुन पुग्छन् । वस्तुतः राष्ट्रप्रतिको अपनत्व र प्रेमको शाब्दिक रुप नै राष्ट्रवाद हो । परस्परमा अनेकौँ समानताहरू भए पनि राष्ट्रियता र देशभक्तिबीच केही भिन्नताहरू छन् । राष्ट्रियता राष्ट्रवासी बीचको कुनै कार्यक्रम वा योजनासँग गाँसिएको हुन्छ भने देशभक्ति वैयक्तिक अनुभूति वा उत्तेजनामा निहित रहन्छ । त्यो उत्तेजनाले आवश्यकता पर्दा राष्ट्रको लागि आफूलाई उत्सर्गित समेत गर्दछ । भावना र त्यागको माध्यामबाट देशभक्ति जन्मिन्छ । देशभक्तिले राष्ट्रियतालाई बढाउँछ ।

फिजीलगायत अन्य देशमा बाध्यताले बसिरहेका नेपालीहरूको भावना यहीँनेर जोडिन आइपुग्छ । त्यो मिलनबिन्दुले नै उनीहरूलाई उठाएर आफ्नो पुर्खाको थातथलो खोज्दै समीपमा बस्न आकर्षित गर्छ । हामीले एनआरएनलाई (चाहे ति फिजीका हुन् या अन्यत्रका) यहीँनेर जोड्न सक्नुपर्छ । आफ्नो भूगोलमा स्थायी बसोबास गरेका नेपालीहरूलाई के–केसरी राष्ट्रियतासंग जोड्न सकिन्छ ? यो एनआरएनहरूको पहिलो तथा नगरी नहुने कर्म हो ।

यहीँनेर हाम्रो बहस केन्द्रित हुनुपर्ने हो । तर यो बहस ब्याक्तिगत स्वार्थ र सेलिब्रेटीको लागि मरिहत्ते गर्ने एनआरएनएका नेतृत्वहरूले गहन रुपमा अहिलेसम्म चलाएको देखिएको छैन । चर्चा गर्नु र बहस चलाएर निचोडमा पुगी कामको आरम्भ गर्नु फरक कुरा हुन् । भारतको एनआरआइले विश्वभर छरिएका भारतीयहरूलाई बीसौँ वर्षको अभियान चलाएर आफ्नो राष्ट्र र राष्ट्रियतासँग जोडीसकेको छ ।

राष्ट्रियताको भावनाले ओतप्रोत व्यक्ति आफ्नो र राष्ट्रको एकसाथ उन्नतिको कामना गर्छ । राष्ट्रियताकै भावनाबाट राष्ट्रवाद विकसित हुन्छ, । राष्ट्रवाद जनसमूहमा विद्यमान एकताको नाम हो, जसले समुदायलाई सँगै बस्न र बाहिरी आक्रमणको सामूहिक प्रतिरोध गर्न प्रेरित गर्छ । सदस्यहरूमा आत्मीयता, सहचर्य, सहयोग र समझदारी राष्ट्रको प्रमुख लक्षण हो । राष्ट्रको सवलताको रक्षाका लागि नागरिकहरूमा अदम्य साहस, अटुट देशप्रेम र आत्मोत्सर्ग आदि गुणहरूको आवश्यकता हुन्छ ।

संस्कृति :

संस्कृति, भेषभूषा, रहनसहन, धर्म, भाषा, साहित्य, कला, दर्शन, खानपान, वास्तुशैली आदिका माध्यमले प्रकट हुने कुनै जाति सम्प्रदाय विशेषको पहिचान हो । हाम्रा ज्ञान, कर्म र रचनालाई भावी संस्कृतिको रुपमा रुपान्तरणका निमित्त पुस्ता हस्तान्तरण गर्नु आवश्यक छ । धर्म र नीतिको उदात्त प्रेरणा, चलन तथा सभ्यताले जन्माएको बौद्धिक विरासतलाई नै संस्कृति भनिन्छ । दर्शन, धर्म, साहित्य, चालचलन, जीवन र कलाका क्षेत्रमा मान्छेले गरेका समस्त स्वस्कार्य–कृति नै उसको संस्कृति हो । भौतिक अलंकारले र आध्यात्मिक चिन्तनले मात्रै संस्कृति निर्मित हुँदैन । जसरी पाँच तत्व मिसाएर पञ्चामृत बनाइन्छ त्यसरी नै अनेक भौतिक, सनातन, आध्यात्मिक, नैतिक, मिथक, साहित्य, दर्शन, कर्म, पैत्रिक सम्पदा, चालचलन, सँस्कार तत्वको योग नै संस्कृति हो ।

देश नामले हैन, पहिचानले राष्ट्र समेट्छ :

कुनै पनि देशको नामले उसले ओगटेको भूगोलको चारै किल्ला समेट्नु जरुरी छैन र त्यस्तो प्रायः पाइँदैन पनि । केही प्रतिनिधि उदाहरण हेरौं । संयुक्त अधिराज्य बेलायत जसको औपचारिक नाम हो ‘युनाइटेड किङ्डम अफ ब्रिटेन एन्ड नर्दन आयरल्यान्ड’ । यो नामले ब्रिटिस र आइरिस जातिको मात्र प्रतिनिधित्व गर्छ, स्कटल्यान्ड र वेल्सलाई प्रतिनिधित्व गर्दैन । त्यहाँ संविधान नामको कुनै सिङ्गो लिखत पनि छैन जसले उसको क्षेत्र र रूपको परिभाषालाई परिभाषित गरोस् ।

संयुक्त राज्य अमेरिकाको साँध–सीमाना अमेरिकी गोलार्द्ध भन्दा बाहिरसम्म पुगेको छ । त्यहाँको भूगोल संस्कृतिसँग कुनै साइनो नराख्ने हवाई टापु संयुक्त राज्य अमेरिकाको सबैभन्दा कान्छो अर्थात् पचासौँ राज्य (प्रान्त) हो । चीन पनि आजको समग्र चीनको भूभागलाई प्रतिनिधित्व गर्ने न नाम हो, न सभ्यता । भारत ‘भरत’ राजाका नामबाट बन्यो । ‘हिन्दुस्तान’ वा ‘इन्डिया’ पनि सिन्धु वा इन्डज् नदीबाट तानिएको हो, जसको मुख्य धार अहिले पाकिस्तानमा पर्छ । पाकिस्तानको नामकरणको प्रसङ्ग भने बेग्लै छ । छुट्टै देश स्थापनाको आन्दोलनमा सक्रिय एउटा विद्यार्थीको पर्चाबाट जन्मिएको नाम हो यो । सन् १९३३ अघि यो नामको कतै अस्तित्व नै थिएन । यो शब्दमा पर्ने अंग्रेजीको अक्षर ‘ए’ले अफगानी जाति र भूमिलाई जनाउँछ जुन पाकिस्तानभन्दा भिन्न स्वतन्त्र एवं सार्वभौम मुलुक हो । तथापि अहिले अस्तित्वमा भएका देशमध्ये पाकिस्तान सर्वाधिक रूपमा आफ्नो प्रमुख भूभाग (पन्जाब, सिन्ध, कस्मीर, बलुचिस्तान) को संयोजनबाट बनेको बताउँछ ।

देशको नाम र नक्सा नमिलेका अरू धेरै उदाहरण छन् । देशका नामले त्यो देशको सभ्यता, संस्कृति र राष्ट्रियता समेट्नुपर्छ भन्ने प्रायः देखिँदैन । जुन बेला जे नाम दियो, स्थापित भयो, त्यो त्यही नाम प्रख्यात बन्यो र दिइएको नामले नयाँ परिभाषालाई जन्म दिन बाध्य पाऱ्यो । कुरो यत्ति हो ।

कुनै पनि देशको नाम विशेषले मात्र त्यहाँको समग्र भूगोल, आवादी, सभ्यताको परिचय वा पहिचान दिँदैन । नामको जातीय सांस्कृतिक सापेक्षता हुन्छ । तसर्थ प्रयुक्त अक्षर वा नामले दिने समावेशिता आंशिक हुन्छ । राष्ट्र/राज्यको इतिहास र यथार्थ एकाकार गर्न निकै कठिन छ । मान्छेको नामजस्तै हो यो पनि । थुप्रै धनबहादुरहरू गरिबी र विपन्नतामा बाँचिराखेका छन् । वीरबहादुरहरू दासत्वमा बाँधिएर मालिकको सेवा गरिरहेका छन् । जस्तो कुनै मान्छेको नामले उसको शरीरका समग्र अङ्गप्रत्यङ्ग, मन वा मस्तिष्कको प्रतिनिधित्व गर्दैन, त्यस्तै देशको नाम शब्दले सबैको प्रतिनिधित्व गर्दैन ।

इतिहास, वर्तमान र भविष्य :

इतिहास एकै ठाउँमा कहिल्यै रोकिन्न, रोकिएको पनि छैन । वर्तमान र भविष्यको कुरा पनि त्यही हो । राज्य, राष्ट्र, देश र राष्ट्रियता सबैका परिभाषाहरू फेरिन्छन् । सोच्ने तरिकाहरूको भिन्नता, रुपान्तरणको क्रमिक प्रक्रियाले अहिलेका कुरा सुदुर भविष्यमा कति रहलान् अनुमान गर्न सकिँदैन ।

वैज्ञानिक युगको उत्तरार्धमा सीमारहित नागरिक समाज र व्यवस्थापन एउटा विकल्प हुन सक्छ तर यसले अझै संगतिपूर्ण कल्पनाको रूप पनि लिन सकेको छैन । यो अहिलेको लागि फगत कल्पना हो र त्यो बहस समाजसास्त्रीहरूलाई छोडि दिउँ ।

यथार्थ कुरा यो पनि हो कि मान्छे कुनै देश वा जाति रोजेर जन्मेको हुँदैन । यी त जन्मेपछिको सापेक्षिक अपनत्वका कुरा हुन् । हिजो के भयो, त्यो इतिहास भइसक्यो । इतिहासको उत्खनन सत्यतथ्य जान्नका लागि उपयोगी हुन्छ तर त्यो नै समाधान भने होइन । समाधान तत् समयको उपयुक्त निरुपण हो । भोलिको भविष्यले पक्कै पनि अरु कुनै नयाँ कुराको, नयाँ युगको माग गर्ने छ । त्यो बेला देशको सिमाभित्र राष्ट्रियता अल्मलिएर नबस्न सक्छ । समय गतिशील छ र भोलिको संसार कस्तो हुन्छ रहस्यको विषय हो ।

अहिले नेपाली नै १८२ राष्ट्रमा पुगिसके । केही वर्षमा त्यो ठाउँमा स्थायी बसोबास गर्न थाल्ने छन् (कतिपय देशमा ४–५ पुस्ता भैसक्यो भने कतिपय देशमा केही दशक मात्र भएको छ) र असहजतामा आफ्नो राष्ट्रियता तथा राष्ट्र खोज्ने दिन नआउला भन्न सकिन्न । मेघालयका नेपालीहरूले त्यो समस्या भोगीसकेका छन् । यदि समय अनुकुल नै रह्यो भने समयक्रमसँगै अन्तरदेशीय पहिचानको अन्तरघुलनले नयाँ पहिचानको जन्म दिने छ । अघिल्लो अवस्था क्रमशः कमजोर र पछिल्लो अवस्था क्रमशः बलियो बन्दै जाने छ ।

केही समय हामीलाई फिजीका नेपालीहरूलाई राजन शर्माले जोडे झैँ  गैरआवासीय नेपाली संघले जोड्ने छ । जोडीरहने छ वा टुट्ने छ भन्न सकिन्न । त्यसैले भनिएको होला, देश भन्दा राष्ट्रियताको आयु लामो भए पनि यो कालजयी चाहिँ हुन सक्दैन ।

के देशका नामहरूले राष्ट्रियताको प्रतिनिधित्व गर्दछन् ?

हाम्रै देशको इतिहास हेर्दा त्यस्तो देखिँदैन । जुन बेला पृथ्वीनारायण शाहले गोर्खा राज्यलाई भौगोलिक विस्तार गरेका थिए, त्यतिबेला नेवार बस्ती भएको उपत्यकालाई मात्र नेपाल भनिन्थ्यो । नेवारहरूले बोल्ने भाषालाई नेपाल भाषा भनिन्थ्यो । गोर्खालीले बोल्ने भाषालाई खस भाषा नै भनिन्थ्यो । सन् १८८७ मा दार्जिलिङमा बस्ने अंग्रेज रिभरेन्ड टर्नबुलले पहिलो पटक खसभाषालाई ‘नेपाली भाषा’ र गोर्खा राज्यको सट्टा ‘नेपाल’ भन्ने शब्द प्रयोग गरेका थिए । त्यसै कुरालाई भारतमा रहेका ब्रिटिश शासकले मान्यता दिँदै यहाँको राजालाई ‘नेपालका राजा’ भन्न थाले । सन् १८३० भन्दा अगाडि नेपालका शासक आफूलाई गोर्खाको राजा भनेर चिनाउँथे । यो कुरालाई लिएर चन्द्र शमशेरले आपत्ति पनि जनाएका थिए । पछि यही नाम दोस्रो विश्वयुद्धपछि कायम भयो । सुगौली सन्धीपछि नेपालको नक्सासमेत ब्रिटिशहरूले नै बनाइदिएका हुन् । यथार्थ तर पिरो कुरा यत्ति हो ।

सन् १८१६ मार्च ४ मा सुगौली सन्धीदेखि भारतीय सरकारको प्रत्यक्ष निर्देशनमा वा सीमा सुरक्षा बलको एकलौटी आत्मनिर्णयले भारतसँग नेपालका सीमाना जोडिएका २६ जिल्लाहरूमध्ये २१ जिल्लाहरूको ५४ स्थानमा पटक–पटक गरी भारतले ६० हजार हेक्टर नेपालको भूमि अतिक्रमण गरेको छ तर नेपाल सरकाले ९८ प्रतिशत सीमा समस्या हल भएको झुटो तथ्य सार्वजनिक गरेको छ । यो तथ्याङ्क मान्न कुनै पनि देशभक्त नेपाली तयार छैनन् । किनभने सबैभन्दा धेरै कालापानी लिम्पियाधुरा क्षेत्रमा ३७ हजार हेक्टर र सुस्तामा १४ हजार हेक्टर र अन्य सीमा जोडिएका स्थानहरूमा नेपालको भूमि भारतले दिनदाहाडै कब्जा गर्दै गैरहेको छ । सुगौली सन्धिअगाडिको नक्सा फेरिए जस्तै नेपालको नक्सा यसैगरी साँघुरिँदै जान पनि सक्छ । देश मेटिन पनि सक्छ तर राष्ट्रियता सदैव जीवित रहन्छ । देशहरू सदैव जीवित रहन सक्छन्् भन्नु कल्पना मात्र हो ।

देशसँग नेपाली जोडिने देश रहुन्जेल मात्र हो, देश मेटिएपछि जोडिने आफ्नो समुदायसँग हो । त्यो समुदाय नै त्योबेला अदृश्य राष्ट्र बन्दछ जुन भावनामा मात्र सीमाङ्कित हुन्छ । हामी एनआरएनहरूले यो कुरा महशुस गर्न थालिसकेका छौँ । हामी सीमारहित देशमा फिजीका नेपाली मात्र हैन हाम्रो पहिचानसँग सम्बन्धित संसारको कुनाकुनामा बाध्यताले च्यापिएर बसेका सबै ज्ञात–अज्ञात नेपालीहरूलाई जोड्ने प्रयत्न गरौँ । अब कसले कति कमायौँ त्यसको हिसाब गर्दै गरौँला । राष्ट्र र पहिचान दबाएर बसेका हाम्रा आफन्त जोड्न के गर्दै छौँ त्यसले नै इतिहासमा महत्व राख्ने छ । गुलाब जहाँ फुले पनि गुलाब भएरै फुल्दछ । जानी–नजानी फिजीका हाम्रा दाजुभाइ चौथो पुस्तामा समेत नेपाली भएर फुल्ने साहस गर्दैछन् ।

(फिजी तथा विश्वका अन्य भागहरूमा पहिचान दबाएर बसेका नेपालीहरूमा समर्पित ।)

सन्दर्भ सामाग्रीहरू :

डा. प्रकाश ढकाल– ‘राष्ट्र र राष्ट्रियता के हो ?’, प्रा. कृष्ण खनाल– (राष्ट्र/राज्य : इतिहास र यथार्थ), राम कार्की, केशव सिलवाल– (के हो आखिर राष्ट्रियता ?), डम्बर चेम्जोङ– (राष्ट्र, औपनिवेशिक राज्य र आदिवासी) लगायतका राष्ट्रियतासम्बन्धी विभिन्न पुस्तक तथा आलेखहरू ।