पर्यटन वर्ष २०२० का लागि प्रेमध्वज प्रधानको ‘सिन्धुभूमि’

पर्यटन वर्ष २०२० का लागि प्रेमध्वज प्रधानको ‘सिन्धुभूमि’


पर्यटन वर्ष २०२० मा सिन्धुपाल्चोकमा पर्यटक भित्र्याउने उद्धेश्यले निर्माण गरिएको गीति वृत्तचित्र सार्वजनिक भएको छ । वरिष्ठ एवम् लोकप्रिय गायक प्रेमध्वज प्रधानका साथै चन्द्रसिंह घले र मीना सिंहको स्वरमा रहेको सिन्धुपाल्चोक चिनाउने गीत सार्वजनिक गरिएको हो ।

सिन्धुपाल्चोकको स्थानीय सञ्चारमाध्यम ओखरेनी साप्ताहिकले निर्माण गरेको गीति वृत्तचित्र एसियन म्युजिकले यूट्युबमार्फत बजारमा ल्याएको हो । वृत्तचित्रभित्र समावेश सिन्धुपाल्चोक चिनाउने गीत सञ्चारकर्मी किशोर बुढाथोकीको शब्दमा चन्द्रसिंले संगीत भरेका हुन् ।

एक साता बढी समय खर्चिएर जिल्लाका सबै स्थानीय तहमा रहेका पर्यटकीय गन्तब्यहरूको दृष्य कैद गरिएको भिडियोको सम्पादन उत्तर रानामगरले गरेका छन् । सन्तोष दाहालले खिचेको ड्रोनमा मिलन शंकरले क्यामेराका साथै र बृत्तचित्रको निर्देशन गरेका हुन् ।

‘नेपालमा भित्रिने पर्यटकहरू नेपालभित्रको सिन्धुपाल्चोकसम्म ल्याउने उद्देश्यले भिडियो निर्माण गरेका हौँ,’ निर्माण पक्ष ओखरेनी साप्ताहिकका सम्पादक अमित घिमिरेले भने, ‘सरकारको अभियानलाई साथ दिने हाम्रो यो सानो प्रयास हो ।’ उनले दृष्यमा सिन्धुपाल्चोक भित्र रहेका जातजाति, भाषा, कला, साहित्य, संस्कृतिलगायतको उजागर गरिएको बताए ।

सरकारले घोषणा गरेको पर्यटन वर्षमा सञ्चारमाध्यमको तर्फबाट आफ्नो जिल्लाको प्रचारका लागि गीति बृत्तचित्र निर्माण गरिएको गीतका रचनाकार तथा ओखरेनी साप्ताहिकका समाचार संयोजक किशोर बुढाथोकीले जानकारी दिए । ‘शब्द र दृष्यमार्फत जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थलको वर्णन गरेका छौं,’ उनले भने, ‘आफ्नो जन्मभूमिका लागि कला र साहित्यमार्फत पर्यटन भित्र्याउने प्रयास गरिएको हो ।’ शब्द तथा दृष्यमा हालै पहिलोपटक सफल आरोहण भएको जुगल हिमश्रृंखलादेखि पाँचपोखरी, हेलम्बु, आमायांग्री, गौराती, नौलिंगेश्वर महादेवसहित सुनकोसी, इन्द्रावती तीर समावेश छ ।