अल नेपाल स्नुकरको उपाधि रेगनलाई

अल नेपाल स्नुकरको उपाधि रेगनलाई


रेगन श्रेष्ठले प्रथम चमुण्डा अल नेपाल स्नुकर च्याम्पियनीपको उपाधि जितेका छन् । रेगनले फाइनलमा राजन लामालाई ७–४ को फ्रेममा पराजित गरेका हुन् ।

उपाधिसंगै रेगनले २ लाख तथा राजनले ७५ हजार नगद पुरस्कार पाए । सोम लामा र निर्माण बोगटी तेश्रो भए । दुवैले जनही ३० हजार नगद पुरस्कार पाए । नेपाली स्नुकरको इतिहासमा यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगता भएको बताइएको छ ।

चामुण्डा स्नुकर क्लबद्वारा आयोजित प्रतियोगितामा राजन सर्वाधिक ब्रेककर्ता पनि बने । ८१ ब्रेक गरेका राजनले ३० हजार नगद पुरस्कार हात पारे । दोर्जे पाख्रिन उत्कृष्ट खेलाडी चुनिए । उनले १० हजार नगद पुरस्कार जिते ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, सदस्य इन्दिरा निरौला, नेपाल विलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष एवं पूर्व स्नुकर राष्ट्रिय च्याम्पियन सरोज मुल्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जोरपाटीमा भएको प्रतियोगितामा १ सय ५० खेलाडी सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव सिलवालले नवौं राष्ट्रिय खेलकुदमा स्नुकरलाई समावेश गर्ने प्रतिबद्धता जनाएका थिए ।