प्रतिफलबिनाको कर ‘शासकको जबर्जस्ती’

प्रतिफलबिनाको कर ‘शासकको जबर्जस्ती’


■ स्वयम्भुनाथ कार्की

नेपालकी चेली मिथिलाञ्चलकी गौरव सीतामाताको उत्पत्तिको बारेमा प्रचलित धारणाअनुसार उनी राजा जनककी कुनै रानीको गर्भबाट नभई मिथिला धर्तीको कोखबाट जन्मेकी थिइन् । लामो समय वर्षा नभएपछि जनक राजाले वैदिक विधिअनुसार गरेको अनुष्ठानका क्रममा हलो जोत्दै गर्दा हलोको फालीले उधिनेर निकालेको पात्रबाट ‘सीता’को जन्म भएको थियो । हलोले बनाएको सियोबाट उत्पत्ति भएकोले उनको नाम सीता रहेको हो, जो हलोले कोरेको सियोको अर्को नाम हो । अनि यो पात्र जमिनमा लंकाको राजा रावणद्वारा गडाइएको थियो । यो पात्रमा रावणको राजश्व विभागले ऋषिहरूसँग अन्यायपूर्वक करको रुपमा असुल गरिएको ऋषिहरूको रगत थियो । यही रगतबाट उत्पन्न भएकी सीता नै रावणको सबै बन्धुबान्धव समेत भएको विनासको कारण भइन् । कालो कानुन र अन्यायपूर्ण कर असुलीको हानीकारक प्रभावको यो सबैभन्दा गजबको दृष्टान्त हो ।

अमेरिकाको स्वतन्त्रता आन्दोलनको इतिहासमा करको पनि प्रमुख भूमिका छ । सन् १७५०–१७६० ताका उठेको नारा ‘प्रतिनिधित्व छैन भने कर पनि तिरिन्न’ नै अमेरिकी स्वतन्त्रता आन्दोलनको प्रमुख कारण हुन पुग्यो । अहिले संयुक्त राज्य अमेरिकाका हिस्सा भएका तेह्र अमेरीकी मुलुकहरूबाट उठेको यो आवाज सन् १७६५ मा आन्दोलनको नारा बन्न पुग्यो । यो कुरा कर राज्यको अधिकार हो भन्ने सोचाईलाई चुनौती थियो ।

कर नागरिकको दायित्व हो भने नागरिकले कर तिरेवापत राज्यमा पनि दायित्व श्रृजना हुन्छ । कर निर्धारण गरिने सरकारको अंगमा नागरिकको पनि हिस्सेदारी चाहिन्छ भन्ने अमेरीकीहरूको भनाई उचित थियो भन्ने कुरा आजको सम्पन्न संयुक्त राज्य अमेरिकाको निर्माणले पुष्टि गरेको छ ।

भारत सङ्घमा राष्ट्रपिता भनेर पुजिने मोहनदास करमचन्द गान्धी अर्थात् महात्मा गान्धीको प्रसिद्ध दाण्डी यात्रा अंग्रेजको नुन उत्पादकहरूलाई लगाइएको अनुचित करको विरोधमा थियो । यसै यात्राले महात्मा गान्धीलाई र सम्पुर्ण विश्वलाई बतायो कि अबको युग उपनिवेशको विरोधको युग हो । सत्तालाई मन नपराउनेले व्यक्ति वा केही कुरा मात्र मन पराएको हैन सम्पुर्ण सत्तालाई अस्विकार गरेको हो ।

महात्मा गान्धीको प्रसिद्ध दाण्डी यात्रा अंग्रेजको नुन उत्पादकहरूलाई लगाइएको अनुचित करको विरोधमा थियो । यसै यात्राले महात्मा गान्धीलाई र सम्पुर्ण विश्वलाई बतायो कि अबको युग उपनिवेशको विरोधको युग हो । सत्तालाई मन नपराउनेले व्यक्ति वा केही कुरा मात्र मन पराएको हैन सम्पुर्ण सत्तालाई अस्विकार गरेको हो ।

भित्रभित्रै सल्केको भुसको आगोसरहको विद्रोह हम्केर त्यसलाई ज्वाला बनाउने काम गर्छ बिनाप्रतिफलको करले । त्यसमाथि आफूले तिरेको कर ‘लखनौ लुट’ सरह प्रयोग भएको देखेपछि त्यसै पनि आक्रोश फैलिएको हुन्छ, त्यसमाथि सम्पुर्ण जनता कर छल्ने बेइमान जस्तै गरेर हरेक कारोबार पारदर्शी बनाउने बहानामा निन्त्रणमा लिने नियम कानुन बनाई लादेपछि त त्यो सत्ता नै पराई लाग्न थाल्छ ।

सनातन समाजमा त करको रुपमा लिन पाइने नागरिकहरूको कमाईको अधिकतम हिस्सा नै तोकिएको छ । कमाईको छैटौं हिस्सा भन्दा ज्यादा लिएको कर अवैधानिक कर हुने कुरा सनातनी शास्त्रहरूमा उल्लेख छ । यो हिस्सालाई प्रतिशतमा ल्याउदा करिव सत्र प्रतिशत हुन्छ । राज्यले कर लिनुलाई अधिकार सम्झेको हुन्छ तर यो कर लिएवापत उसको केही दायित्व श्रृजना हुन्छ भन्ने कुरा मान्न तैयार हुँदैन भने त्यो राज्य प्रणाली आततायी राज्य प्रणाली हो भन्ने मान्यता सनातन दर्शनको हो ।

जनताको निमित्त काम गरेवापतमा राज्यले कर लिन पाउने अधिकार पैदा हुन्छ । जनताको निमित्त गरिनुपर्ने आधारभूत कामको पनि उल्लेख सनातन शास्त्रमा पाइन्छ । बलियाको अत्याचारबाट निर्धाको, समुहको अन्यायबाट व्यक्तिको र अपराधिक कार्यको नियंत्रण गरेर समाजलाई सुरक्षा प्रदान गर्नु । नागरिकहरूको कमाउने प्रयत्नमा साथ दिएर राज्यलाई सम्पन्न बनाउनु । विद्वानहरूलाई सबैको हितमा प्रयोग गर्नु जस्ता राज्यका न्यूनतम काम मध्येका केही हुन् ।

राज्य सञ्चालन कत्तिको जनमैत्री छ भन्ने कुराको नापो त्यो राज्य प्रणालीका नेताहरू कत्तिको सम्पन्न भए भन्ने कुराले देखाउँछ । जति नेताहरूको सम्पन्नता बढ्दै जान्छ त्यति नै त्यो राज्य सञ्चालन जनविरोधि हुन्छ । राजश्व तिर्नु नागरिकहरूको कर्तव्य हो । यो कुरा बुझाउन भनेर राज्यकोेष नै खर्च गरेर कर दिवस, कर सप्ताह मनाइँदै गर्दा कर लिएवापत राज्यले प्रदान गर्नुपर्ने न्यूनतम सेवाको कुरा नगनु बेसर्म हो ।

नेपाल विपन्न छ भनेर विदेशीहरूको सामुन्ने भिखको कटौरा थाप्छ नेपाल सरकार । तीन तहको सरकार भनेर पार्टीहरूको आसेपासेले नै पद भरिएको छ । तिनीहरूको एक बारको जुनीमा मौजमस्ती गर्ने मौका यही हो भन्ने सरहको करको पैसामा भएको ब्रम्हलुटले विष्फोट पैदा गर्छ । केवल सलाईको काँटीको आवश्यकता छ । तर भरोसा राख्नुस् म त्यो सलाइको काँटी हैन, सुध्रिने मौका कति दिने कति नदिने त्यो जनताले तय गर्नेछन् ।