बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोन्सन

बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोन्सन


■ प्रकाश केसी, लण्डन

प्रधानमन्त्री टेरेसा मेले पार्टीको अध्यक्ष तथा सरकारको नेतृत्वको पदबाट राजीनामा दिएपछि रिक्त रहन गएको स्थानमा कन्जर्भेटिभ पार्टीले आफ्नो नेतृत्वको लागि बोरिस जोन्सनलाई चुनेको छ । लण्डनको पूर्वमेयर रहेका जोन्सनले कन्जर्भेटिभ पार्टीको आन्तरिक निर्वाचनमा ८७.४ प्रतिशतले भोट हालेकोमा त्यसको ६६ प्रतिशत अर्थात् ९२,१५३ मत ल्याएर विजयी भएका हुन् । कन्जर्भेटिभ पार्टीमा १५९,३२० जना मतदाता छन् । बोरिस जोन्सनका प्रतिद्वन्द्वी वर्तमान विदेशमन्त्री जेरेमी हण्टले ४६,६५६ मत ल्याएका थिए ।

‘आजको यस ऐतिहासिक समयमा हामीसँग हाम्रो मुख्य ध्येयको रुपमा युरोपियन युनियनसँगको गहन र सुमधुर मित्रताको साथमा स्वतन्त्र व्यापारिक सम्बन्ध अनि शान्ति तथा सुरक्षाको भरोसा गर्दै एक स्वतन्त्र तथा इज्जतदार शान्त प्रजातान्त्रिक देशको रुपमा बेलायतलाई राख्ने रहेको छ ।’ आफ्नो विजय भेलामा उपस्थित पार्टीका सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा जोन्सनले मुख्य रुपले आउँदो अक्टोबरमा जसरी भए पनि ब्रेक्जिटलाई सफल पार्ने, सोही कार्यमा विगत तीन वर्षबाट पार्टी तथा देश विभाजिक भएकोमा देश तथा पार्टीलाई एकत्रित गर्ने र प्रतिपक्ष नेता जेरेमी कोर्विनलाई पराजित गर्ने आफ्नो मन्त्र तथा अठोट दोहोऱ्याएका थिए ।

युनियनभित्र रहने अर्थात् ब्रेक्जिटको प्रतिपक्षमा भोट हालेकी टेरेसा मेद्वारा नेतृत्व गरिएको सरकारमा विदेशमन्त्रीको रुपमा काम गरेका जोन्सनले मेको नेतृत्वले बेलायतको बहुमतका जनताको चाहनाअनुसारको ब्रेक्जिट दिन नसक्ने ठहर गर्दै पदबाट राजीनामा दिएका थिए । स्मरणीय छ, बोरिस जोन्सन ब्रेजिटको मुख्य कारकको रुपमा रहेका पात्र हुन् ।

भोलि (२४ जुलाई) विधिवत रुपम टेरेसा मेको उत्तराधिकारीको रुपमा बोरिस जोन्सनले बेलायतको सरकारको नेतृत्व सम्हाल्ने छन् । गत सरकारले तय गरेको युनियनसँगको ब्रेक्जिट सहमतिमा अप्ठ्यारो बुँदाको रुपमा रहेको नर्दन आयरल्याण्डको ब्याक स्टप बुँदालाई मृत भएको मान्ने बोरिस जोन्सनले युुनियनसँग कुनै डिल हुन नसके डिफोल्ट रुपमा बेलायत नो डिलमा गएर यही अक्टोबरमा बेलायत स्वतन्त्र हुने भन्ने आफ्नो विशेष अठोट अर्थात् हार्ड लाइनर ब्रेक्जिटिएर भएकोले बेलायतमा सनसनी नै फैलिएको छ ।

उनको यस अठोटलाई रोक्नको लागि पार्टी तथा सरकारबाट राजीनामा दिने क्रम शुरु भएको छ । बोरिस जोन्सनलाई नो डिल सिनारियो लैजान नदिनको लागि अन्य पार्टीलगायत कन्जर्भेटिभ पार्टीमा समीकरण बनाउने क्रम शुरु भइरहेको छ ।

भोलि उनले प्रधानमन्त्रीको सपथ लिएपछि यस विषयमा आउने घटनाहरु विस्तारै सार्वजनिक हुने भएका छन् । तर आम रुपमा कन्जर्भेटिभ पार्टी तथा मुलुकमा एक नयाँ उत्साहका र एक अप्ठ्यारो, एक अँध्यारो भविष्यको द्योतक अनि एक डरको रुपमा जोन्सनको बेलायती राजनीतिमा उदय भएको छ ।