पाकिस्तानकै सूचनाका आधारमा बिन लादेन मारिए : प्रधानमन्त्री खान

पाकिस्तानकै सूचनाका आधारमा बिन लादेन मारिए : प्रधानमन्त्री खान


अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँबारे पाकिस्तानी गुप्तचर निकायहरूले नै अमेरिकालाई सूचना दिएको बताएका छन् ।

पाकिस्तानले हालसम्म बिन लादेन पाकिस्तानको कुन ठाउँमा बस्थे भन्ने आफूहरूलाई आधिकारिक जानकारी नभएको बताउँदै आएको थियो । अमेरिकी विशेष फौजले पाकिस्तानभित्रै प्रवेश गरेर सन् २०११ मे २ तारिखमा गरेको कारबाहीमा बिन लादेन मारिएका थिए ।

अमेरिकी गोप्य कारबाहीका कारण पाकिस्तान र अमेरिकाबीच लामो समयदेखि विवाद हुँदै आएको छ । पाकिस्तानले अमेरिकामाथि आफ्नो सार्वभौमसत्ता हनन गरेको आरोप लगाउँदै आएको छ । पाकिस्तानी चिकित्सक शकिल अफ्रिदीले खोप अभियानका नाममा बिन लादेन रहेबसेको स्थान पत्ता लगाएका थिए । पाकिस्तानले तिनै चिकित्सक अफ्रिदीमाथि देशद्रोही कार्य गरेको भन्दै जेलमा राखेको छ ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको ट्विनटावर आक्रमणका मुख्य अभियुक्त बिन लादेन पाकिस्तानको राजधानी इस्लामावादनजिकैको अबोटाबादमा मारिएका थिए । अमेरिकाले लादेनलाई पक्राउ गर्न सम्पूर्ण शक्ति लगाएको थियो । तर, अबोटाबादमा बिन लादेन कहिलेदेखि बसेका थिए भन्ने अद्यापि अन्योल नै छ ।

अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा उनले भने– शकिललाई छाड्ने भन्ने विषय निकै भावनात्मक छ, किनभने शकिललाई पाकिस्तानमा जासुसको रूपमा व्यवहार गरिन्छ । हामी पाकिस्तानमा अमेरिकालाई सहयोगी मुलुकको रूपमा लिन्छौँ र यदि हामीले नै सूचना दिएको भए हामीले ओसामा बिन लादेनलाई त्यहीबेला अमेरिकाको जिम्मा लगाउनुपथ्र्यो ।

बिन लादेनबारे पाकिस्तानी गुप्तचर निकायलाई जानकारी थियो त भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री खानले भने– गुप्तचर निकायले सूचना दिएकै हो र त्यही आधारमा ओसामा बिन लादेन रहेबसेको ठाउँ पत्ता लगाउन सहयोग पुगेको थियो । आईएसआईले नै फोन गरेर अमेरिकी गुप्तचर निकायलाई जानकारी गराएको हो ।

तर, प्रधानमन्त्री खानले पाकिस्तानी गुप्तचर निकायले कहिले, कहाँ र कसरी जानकारी गराएको थियो भन्ने विस्तृत रूपमा बताउन चाहेनन् । पाकिस्तानले आफूहरूलाई बिन लादेनबारे जानकारी भएको औपचारिक रूपमा नबताए पनि पूर्वगुप्तचर असाद डुरानीले सन् २०१५ मा अल जजिरालाई दिएको अन्तर्वार्तामा पाकिस्तानी गुप्तचर निकाय (आईएसआई) लाई बिन लादेन लुकेर बसेको ठाउँबारे जानकारी भएको दाबी गरेका थिए ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको ट्विनटावर आक्रमणका मुख्य अभियुक्त बिन लादेन पाकिस्तानको राजधानी इस्लामावादनजिकैको अबोटाबादमा मारिएका थिए । अमेरिकाले लादेनलाई पक्राउ गर्न सम्पूर्ण शक्ति लगाएको थियो । तर, अबोटाबादमा बिन लादेन कहिलेदेखि बसेका थिए भन्ने अद्यापि अन्योल नै छ ।

सन् २०१३ मा सार्वजनिक भएको एक पाकिस्तानी सरकारी गोप्य रिपोर्टमा बिन लादेन सन् २००२ देखि पाकिस्तानमा रहेको उल्लेख छ । अमेरिकाले सन् २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा आक्रमण गरेपछि नै उनी पाकिस्तान भागेको अनुमान गरिएको छ र सन् २००५ अगस्टदेखि ओसामा अबोटाबादमा बस्दै आएका थिए । अमेरिकी गठबन्धनले ओसामा बिन लादेनलाई पाकिस्तानी गुप्तचर निकाय र सेनाले नै संरक्षण दिएको आरोप लगाउँदै आएको थियो ।

रासस–एएफपी