विपद्बाट मात्रै १९५ जनाले ज्यान गुमाए

विपद्बाट मात्रै १९५ जनाले ज्यान गुमाए


यस वर्ष विपद्बाट अहिलेसम्म मृत्यु हुनेको संख्या १९५ जना पुगेको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनिधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंशलगायत एक हजार ५२५ घटनामा तिनको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार तराईका केही जिल्लाबाट अझै विवरण आइनसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । प्रमुख खनालका अनुसार बाढीबाट ५५, चट्याङबाट ४४, पहिरोबाट ३४, आगलागीबाट १३, लेक लागेर १३, जनावरको आक्रमणबाट नौ, हावाहुरीबाट आठ, भारी वर्षाबाट सात, सर्पदंशबाट छ, हवाई दुर्घटनाबाट तीन र अन्य घटनाबाट तीन जनाको मृत्यु भएको छ ।

विपद्को घटनामा परेर ३५ बेपत्ता र ४८८ जना घाइते भएका छन् । बेपत्ता हुनेमा बाढीबाट २४, पहिराबाट नौ तथा डुङ्गा पल्टेर र हिउँपहिरामा परी एक एक छन् । घाइते हुनेमा चट्याङबाट १६३, हावाहुरीबाट १४९, आगलागीबाट ६८, जनावरबाट ३५, पहिराबाट २९, भारीवर्षाबाट १४ र बाढीबाट दश जना भएको मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार ती घटनामा करीब रु दुई अर्ब ६८ करोड ५३ लाख ४७ हजार ६१९ क्षति भएको छ ।

सबैभन्दा बढी क्षति आगलागीबाट रु एक अर्ब ५३ करोड ९७ लाख ६५ हजार भएको छ । त्यस्तै बाढीबाट रु एक अर्ब पाँच करोड पाँच लाख चार हजार क्षति भएको छ । बाढीपछि हावाहुरीबाट रु छ करोड ५५ लाख ३३ हजार, पहिराबाट रु एक करोड ७८ लाख तीन हजार, भारी वर्षाबाट रु ८२ लाख २० हजार पाँच सय, चट्याङबाट रु २६ लाख दुई हजार र जनावर आतङ्कबाट रु नौ लाख १९ हजार क्षति भएको जनाइएको छ ।

उपसचिव खनालका अनुसार विपद्बाट १२ हजार ९९० घरपरिवार प्रभावित भएका छन् । सबैभन्दा बढी हावाहुरीबाट १० हजार ६९७ घरपरिवार प्रभावित भएका छन् । यसैगरी आगलागीबाट एक हजार ५६, बाढीबाट ६९९, चट्याङबाट २०७, पहिराबाट १५८, जनावर आतङ्कबाट ७५, भारी वर्षाबाट ५०, लेक लागेर १८ र सर्पदंशबाट १० घरपरिवार प्रभावित भएका छन् । विपद्बाट एक हजार २६४ घर आंशिक र ७२९ घर पूर्ण रुपमा क्षति भएको छ ।

यसैगरी एक हजार १७८ पशु चौपाया मरेको र ३८४ गोठमा क्षति पुगेको जनाएको छ । आगलागीबाट ५५८, चट्याङबाट ४१८, पहिराबाट ९२, बाढीबाट ५१, हावाहुरीबाट ३७, जनावर आतङ्कबाट नौ, भारी वर्षाबाट सात र असिनाबाट छ चौपाया मरे । केही दिनअघि आएको अविरल वर्षाका कारण भने करीब ९० जनाको ज्यान गएको थियो ।