विरोधी सिध्याउने खेलमा सरकार : देउवा

विरोधी सिध्याउने खेलमा सरकार : देउवा


नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको बताएका छन् । बीपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको ‘बीपीको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा उनले लोकतन्त्रका अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई अवरुद्ध तुल्याउन खोजिए सह्य नहुने स्पष्ट पारे ।

संघीय संसखमा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका देउवाले भने, ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई कटौती गर्ने ढंगले विधेयक ल्याइएमा सदन अवरुद्ध मात्र होइन, सडक संघर्षमा उत्रन पनि बाध्य हुने अवस्था हुन्छ । मिडिया काउन्सिल र मानव अधिकार आयोगसम्बन्धी विधेयक मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने ढंगबाट ल्याएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ ।’

अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा व्यक्तिविशेषलाई दुःख दिने नियतबाट काम भइरहेको बताउँदै उनले व्यक्तिविशेषको कुराकानीको टेलिफोन ‘ट्यापिङ’ गरेर विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको आरोप लगाए ।

बीपीको विकासको सोचका आधारमा देशलाई अघि बढाउन सकिए छोटो समयमा समृद्धि हासिल गर्न सकिने बताउँदै सभापति देउवाले भने, ‘बीपीको विचार अहिले पनि सान्दर्भिक छ, लेखक, कथाकार, समाजवादी चिन्तकका रूपमा स्थापित उहाँको व्यक्तित्व साँच्चिकै असाधारण छ ।’

राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई एकसाथ अघि बढाउनुपर्छ भन्ने मान्यतामा दृढ बीपीलाई राष्ट्रप्रति माया भएकै कारण मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको हो भन्दै देउवाले मुख्य कुरा भनेको प्रजातन्त्र हो, प्रजातन्त्रबिनाको समाजवाद हुँदैन भन्ने उहाँको प्रस्ट धारणा थियो भने ।

उपसभापति विमलेन्द्र निधिले बीपीले जनतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रियता, लोकतन्त्र र समाजवादको वैचारिक आधार अघि सार्नुभएकाले देशका लागि प्रजातन्त्र नै अपरिहार्य सर्त हो भन्ने पक्षलाई सबैले मनन गर्नुपर्ने बताए । प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्रको विजयको हिसाबले बीपीको विचारले निकै ठूलो उचाइ प्राप्त गरेको उल्लेख गरे । उनले भने, ‘अहिले मुलुकका सबै राजनीतिक दलका नेतृत्वको प्रेरणाको स्रोत बीपी भएको र सबैले गौरवका साथ स्वीकार गरेको अवस्था हो, राजा र कम्युनिस्टले बीपी विचारलाई बुझेको भए यो देश र यहाँका र जनताले यति धेरै दुःख भोग्नुपर्ने थिएन ।’
रासस