अफगानिस्तान द्वन्द्वको समाधान वार्ताबाटै सम्भव : इमरान खान

अफगानिस्तान द्वन्द्वको समाधान वार्ताबाटै सम्भव : इमरान खान


अमेरिका भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा सैनिक बलमा शान्ति कायम गर्न सम्भव नरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुअघि अमेरिकामा बसोबास गरिरहेका पाकिस्तानी डायस्पोरालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसमक्ष पनि यही कुरा राख्ने स्पष्ट गरे ।

प्रधानमन्त्री खानले भने, ‘मलाई कसैले तालिवान खान पनि भने । मैले केही वर्षअघिदेखि भनेको कुरा नै विश्वले अहिले मानिरहेको छ, त्यो हो अफगानिस्तान द्वन्द्वको शान्तिपूर्ण समाधान वार्ताबाट मात्र सम्भव छ । म राष्ट्रपति ट्रम्पलाई पनि यही कुरा बताउन चाहन्छु ।’

अफगानिस्तान र पाकिस्तानमा अति सक्रिय तालिवानप्रति नरम व्यवहार गरेको भन्दै प्रधानमन्त्री खानलाई कतिपयले ‘तालिवान खान’को उपमा दिने गरेका छन् । प्रधानमन्त्री खानले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सोमबार ह्वाइटहाउसमा भेट गर्ने कार्यक्रा रहेको छ । उनका साथ पाकिस्तानी सेनाप्रमुख कमार जाभेद बज्वा र गुप्तचर निकायका प्रमुख फैज हमिद पनि रहेका छन् ।

अफगानिस्तानमा विगत दुई दशकदेखि भीषण गृहयुद्ध जारी छ । युद्धबाट ध्वस्त भएको अफगानिस्तानमा शान्ति स्थापना गर्ने उद्देश्यले अमेरिकी नेतृत्वमा अफगानिस्तानी शान्तिप्रक्रिया प्रारम्भ भएको छ । अफगानिस्तानी शान्तिप्रक्रियामा पाकिस्तानसमेत सहभागी छ । गल्फ न्यूजका अनुसार वासिंटनस्थित वान एरेना रंगशालामा प्रधानमन्त्री खानलाई स्वागत गर्न अमेरिकानिवासी करिब ३० हजार पाकिस्तानी नागरिक र डायस्पोरा भेला भएका थिए । अमेरिकी–पाकिस्तानी समुदायको सबैभन्दा ठूलो भेलालाई प्रधानमन्त्री खानले पहिलोपटक सम्बोधन गरेका हुन् ।

यहीबीच, पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसीले पाकिस्तानले शान्ति र स्थायित्वका लागि सबैसँग सहकार्य गर्न चाहेको बताएका छन् । उनले आतंकवादसँग पाकिस्तानले निरन्तर जुधिरहेको पनि उल्लेख गरे । अमेरिकाको तीनदिने भ्रमणमा रहेका प्रधानमन्त्री खानले आइतबार विश्व बैंकका अध्यक्ष डेभिड माल्पाससँग वासिंटन डिसीमा भेटवार्ता गरेका थिउ ।

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसी तथा प्रधानमन्त्री खानका वाणिज्य सल्लाहकार अब्दुल रजाक दाउद, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार अब्दुल हाफिज शेख पनि उक्त भेटवार्तामा सहभागी रहेका थिए ।

rss