बुधबारसम्म देशभर भारी वर्षा, पहाडमा पहिरो, तराईमा बाढी र यातायात अवरुद्धको सम्भावना

बुधबारसम्म देशभर भारी वर्षा, पहाडमा पहिरो, तराईमा बाढी र यातायात अवरुद्धको सम्भावना


मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिण भूभागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुन सक्ने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले यो समयमा मनसुनी ‘ट्रफ’ कहिले तल कहिले माथि भइरहने जानकारी दिँदै न्यूनचापीय रेखा जहाँ रहन्छ त्यहाँ भारी वर्षा हुने बताए ।

केही दिनअघि दक्षिण सरेको न्यूनचापीय रेखा सोमबार पुनः नेपाल प्रवेश गरेको र बुधबारसरम्म देशको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान मशाहाखाले जनाएको छ । वर्षाका कारण पहाडी भूभागमा पहिरो जान सक्ने र चुरे अन्य पहाडबाट बहने खोलामा जल सतह बढ्नाका साथै हवाई र सडक यातायातसमेत सञ्चालनमा बाधा पर्ने भएकाले सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेका छन् ।

पचासदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी र १०० देखि माथिलाई अति भारी वर्षा भनेर मापन गर्ने गरिएको छ । यस वर्ष काठमाडौं उपत्यकामा सबैभन्दा धेरै जुलाई १३ (असार २८) मा १०४ मिलिमिटर वर्षा भएको थियो । यो मनसुन शुरु भएपछिको सबैभन्दा बढी वर्षा हो ।

बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कन्काई, कमला र बागमतीमा पानीको प्रवाह बढी हुने र केही शाखा नदीमा पानीको प्रवाह बढ्ने भएकाले मंगलबार र बुधबार प्रदेश १, २ र ३ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको सम्भावना हुने हुँदा तटीय क्षेत्रमा पूर्वतयारी र प्रतिकार्यका लागि समेत सचेत रहन आग्रह गरेको छ ।

राति देशको पूर्वी र मध्य भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भूभागमा आंशिक बदली भई पूर्व तथा मध्यका अधिकांश भागका साथै पश्चिमका केही भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रासस