झापामा मुसलघारे वर्षा, सतर्क रहन स्थानीयलाई सरकारको एसएमएस

झापामा मुसलघारे वर्षा, सतर्क रहन स्थानीयलाई सरकारको एसएमएस


झापामा विगत २४ घन्टामा मुसलधारे पानी परेका कारण स्थानीय नदीहरूमा पानीको सतह बढेको छ । पानीको सतह बढेका कारण स्थानीय नदीले क्षति पुऱ्याउन सक्ने भन्दै नदी आसपासमा बसोवास गर्ने स्थानीयलाई सतर्क रहन भनिएको छ ।

विगत २४ घन्टामा झापामा १४८.६ मिलिमिटर वर्षा भएको वर्षा मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १४० मिलिमिटरभन्दा बढी वर्षा भएपछि खतराको संकेत पार गरेको मानिन्छ ।

अहिले झापामा रहेको विपत् सूचना केन्द्रमा खतराको साइरन बजिरहेको झापास्थित हाम्रा संवाददाताले जनाएका छन् । उनले बताएअनुसार अहिले झापाका कन्काई, बिरिङ, रतुवा, कमल नदीहरूमा पानीको सतह साबिकभन्दा उच्च देखिएको छ । त्यसैले ती नदीहरूमा बाढी आउन सक्ने भन्दै सरकारले ती नदी आसपास नजान र सतर्क रहन स्थानीयलाई एसएमएसमार्फत सूचना जारी गरेको छ ।