रोशी पुल निर्माणको दुई महिनामै भासियो

रोशी पुल निर्माणको दुई महिनामै भासियो


काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं. ११ बल्थली जोड्ने रोशीखोलाको पुल निर्माण भएको दुई महिनामै साल्मिटारतर्फ भासिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले उक्त पुल बनाएको हो । तीन करोड रुपैयाँको लागतमा निर्मित उक्त पुल ३५ दशमलव ६ मिटर लम्बाइको छ ।

पुल साल्मिटारतर्फ करिब एक फिटसम्म र बल्थलीतर्फ करिब ६ इन्च भासिएको छ । पुलको बल्थलीतर्फ दायाँबायाँ राखिएका दर्जन खम्बामध्ये केही भत्केर खोलामा खसेका छन् भने केही पुलसँगै भासिएका छन् । उक्त पुल जेठ महिनामा निर्माण सम्पन्न भएको हो । पूर्वाधार कार्यालय प्रमुख इन्जिनियर लोकनाथ रेग्मीले पुलको बिम नभासिएको, पुलको दायाँबायाँ जमिनसँग जोड्ने स्ल्याब मात्रै भासिएको बताए । ‘प्राविधिकले हेरिसक्नुभएको छ, निर्माणका बेला ध्यान नदिँदा स्ल्याबभित्र पानी पसेर भासिएको रिपोर्ट आएको छ,’ उनले भने । उनका अनुसार निर्माण कम्पनीले सम्पूर्ण क्षति पुनः निर्माण गर्नेछ ।

पुल निर्माणको एक वर्षसम्म ‘त्रुटि सच्याउने अवधि’को प्रावधान भएकाले सो अवधिसम्म भएका क्षति निर्माण कम्पनीले व्यहोर्नुपर्ने रेग्मीले जानकारी दिए । उनले पहिला क्षतिको विवरण संकलन गरिएकाले अब पुलको गुणस्तरबारे परीक्षण गरिने बताए । उनले भने, ‘सम्झौताअनुसारको गुणस्तर नभए निर्माण कम्पनीलाई कारबाही गरिनेछ ।’ त्रुटि सच्याउने अवधि (एक वर्ष) सकिएपछि सम्झौताअनुसारको पुल निर्माण कम्पनीले जिल्लास्थित प्राधिकरणको पूर्वाधार कार्यालयलाई हस्तान्तरण गर्नुपर्नेछ । तर, निर्माण कम्पनीले भने पुल निर्माणार्थ सम्झौताअनुसारको रकम लिइसकेको छ ।

निर्माण सम्पन्न भएलगत्तै पुलको बल्थलीतर्फ दायाँबायाँ राखिएका खम्बा लडेपछि स्थानीयवासीले नपा कार्यालयमा गुनासो गरेका थिए । तत्कालीन अवस्थामा नपाको एक टोलीले गरेको अगुगमनमा पुल गुणस्तरीय नबनेको जानकारी ल्याएको नपा प्रमुख भीम न्यौपानेले बताए । उनले भने, ‘हाम्रो अनुगमन टोलीले गत असारमै पुल गुणस्तरसँग नबनेको प्रतिवेदन पेस गरेको थियो, अहिले भासियो ।’ न्यौपानेले दाता र निर्माण कम्पनीबीच पुल निर्माण सम्बन्धमा गम्भीर छलफल गर्नुपर्ने बताए । उनले भने, ‘सम्बन्धित निकायलाई पुल निर्माणमा त्रुटि भएको जानकारी गराउँदा पनि बेवास्ता गरियो, सम्झौताअनुसारको गुणस्तरमा पुल नबनेको भए हामी जिम्मा लिँदैनौँ,’ उनले भने ।
रासस