रोपाई जात्रा !

रोपाई जात्रा !


■ अर्जुनराज पन्त

फुकालेर हरका लुगा धानका बिउले छोपी
कोहिले ला’छन् शिरैमाथि बनाएर टोपी !

सम्मान हो कि, अपमान हो बिचित्रै छ आज
हरको बस्त्र हटाएर बिउले छोप्छन् लाज !

खेतमा रोप्ने बिउ कठै होटल भित्र गा’छ
मनी प्लान्टको हाँगोसरि गमलामा ला’छ !

गमलामै फूलोस् फलोस् त्यही झुलोस् बाला
जसले रोप्छ गमलामा त्यसले त्यही खाला

नभरिँदा उसको भुँडी त्यो धानका भातले
गमलाकै माटो खाओस् उभाएर हातले

कसैको छ शिरैमाथि टोपीजस्तो गरी
देखिएको टाउको आज खेतको गरासरि !

उखरभूमि त्यो टाउकोमा क्यारी बिउ उम्रो ?
थोपरो कि हिलो कतै मार्छु भनि जुम्रो !

ढाक्नुपर्ने तिम्रा अंग धानका बिउले छेक्दा
लत्रिएर तन्द्राङतुन्द्रुङ लट्टासरि देख्दा

तर्सिएलान बच्चाबच्ची बनमान्छेमा गनी
सातो जाला झस्किएर यसले छल्छ भनी

लोभिएर बाख्रा बोका आउलान् त्यही चर्न
चरण गरी तिम्रा हरमा रहर पूरा गर्न

पात्तिएको मार्चे बोको प्यासको सधैं भोको
लम्किएर आउला त्यतै पूरा गर्न धोको

धर्तिस्वरुप नारी शरीर बस्त्र लगाई छोप
दुइटा गाभा किन नहोस खेतमै लगी रोप

बाँझै छाडी खेत सबै रोपाई शरीरभरि
बस्त्रसरि धानको बिउ कम्मर वरिपरि

कृषिप्रधान देशमा आज कठै यस्तो चाला !
रोप्ने बिउका भित्री बस्त्र अनि गला माला !

खेतैभरि बनमारा घाँटीभरि धान छ
विदेशी त्यो रद्दी चामल मिठो मानी खान्छ !

धानकै बिउका माला बस्त्र अनि माथि केस
कृषिप्रधान शरीर भयो भएन नि देश !