११ महिनामा ६.७ प्रतिशत मूल्यबृद्धि, महङ्गो बन्दै भान्सा

११ महिनामा ६.७ प्रतिशत मूल्यबृद्धि, महङ्गो बन्दै भान्सा


प्रत्येक बर्ष नेपालीको भान्सा महङ्गो बन्दै गएको छ । मुल्यबृद्धिका कारण नेपालीहरु महङ्गीको मारमा परेका हुन् ।

गत आर्थिक बर्ष २०७५/७६ मा खाद्य तथा पेय पदार्थको मुल्य बृद्धिदर दोब्बरले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत आर्थिक बर्षको ११ महिनामा त्यसता मूल्यबृद्धि ६.७ प्रतिशत पुगेको छ । अघिल्लो बर्षको यहि अवधिमा त्यस्तो मूल्यबृद्धि तीन प्रतिशत मात्रै थियो । मुलुकमा बलियो र स्थायी सरकार भएपनि महङ्गीको मारबाट नागरिक उम्कन भने नसकेको उपभोक्ताहरु बताउँछन् ।

राष्ट्र बैंकको ११ महिनाको तथ्यांकलाई हेर्ने हो भने खाद्यान्तको मुल्य बृद्धिदर ३.९ प्रतिशतबाट बढेर ५.६ प्रतिशत पुगेको छ । यस्तै तरकारीको बृद्धिदर ७.५ प्रतिशतले बढेको थियो । गत वर्षको यहि अवधिमा तरकारीको बृद्धिदर ११ प्रतिशतबाट १४.६ प्रतिशत पुगेको छ । माछामासुको मुद्रास्फीति अघिल्लो वर्ष १.३ प्रतिशत विन्दुले घटेकोमा गत वर्ष ७.६ प्रतिशत विन्दुले बढेको छ । जहाँ राष्ट्र बैंकले गत आर्थिक वर्षमा मुद्रास्फीति ६.५ प्रतिशत कायम गर्ने लक्ष्य राखेको थियो ।

तथ्यांकमा जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको जेठमा उपभोक्ता मुद्रास्फीति ४.१ प्रतिशत थियो ।

यस्तै, गैर खाद्यतर्फको मूल्यबृद्धि पनि उछालिएको अर्थविद्हरुको भनाई छ । जेठ महिनामा गैर खद्य तथा सेवा समुहको मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ । जहाँ अघिल्लो वर्षको जेठमा यस समुहको मुद्रास्फीति ५ प्रतिशत रहेको थियो । यस समुह अन्तर्गतको घरायसी सेवा तथा उपयोगिताको मुद्रास्फीति ७ प्रतिशत बिन्दुले बढेको राष्ट्र बैंकले जनाएको छ ।

अहिले सबैभन्दा बढी महंगी काठमाडौंमा बढेको तथ्यांकले देखाएको छ । काठमाडौं उपत्यकामा मुद्रास्फीति ७.१ प्रतिशत विन्दुले बढेको छ । नेपाल र भारतको तुलना गर्दा नेपालको वार्षिक उपभोक्ता मुद्रास्फीति ६.२ प्रतिशत विन्दुले बढेकोमा भारतमा ३.१८ प्रतिशतले मात्रै बढेको छ ।

राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षत्रीले महङ्गी बढ्दै गएकोप्रति चिन्ता ब्यक्त गरेका छन् । उनले समयमै सरकार सचेत नभए थप महङ्गी बढ्ने र व्यापारीको मनोमानी बढ्ने बताउँछन् । उनले यस्ता विषयलाई सरकारले कडाई गर्नुपर्नेमा जोड दिए । अर्थविद् नरबहादुर थापा पनि बलियो सरकारकै पालामा मुल्यबृद्धिमा उछाल आउनु राम्रो सङ्केत नभएको बताउँछन् ।