पशुबलि रोक्न शान्ति पदयात्रा

पशुबलि रोक्न शान्ति पदयात्रा


पशुबलिको विरोधमा बाराको कलैयामा शनिबार शान्ति पदयात्रा निकालिएको छ । ‘मलाई बाँच्न देउ, पशुबलि बन्द गर’ प्लेकार्ड बोकेर उक्त पदयात्रा निकालिएको थियो ।

बारा महिला विकास मञ्च र पशु कल्याण सङ्घ नेपालको सहकार्यमा निकालिएको शान्ति पदयात्रा विभिन्न स्थान परिक्रमा गरी धर्मशालामा कोणसभामा परिणत भएको थियो । कार्यक्रममा पशु कल्याण सङ्घ नेपालका अध्यक्ष स्नेहा श्रेष्ठले पशुलाई पनि मानवको जस्तै मायाको खाँचो रहेको बताए ।

धर्मको नाममा गरिँदै आएको पशुबलि रोक्नका लागि समुदायको महत्वपूर्ण भूमिका हुने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसकी नेत्री राधा साहले भाकललाई न्यूनीकरण गर्न सके पशुबलि रोक्न मद्दत पुग्ने बताइन् । दलित अधिकारकर्मी किसमतिदेवी राम, स्नेहा केयरका निर्देशक कपिल काफ्ले, पशु कल्याण अभियन्ता विकेश श्रेष्ठ, महिला विकास मञ्चका अध्यक्ष कलावती पासवानलगायतकाले पशुबलि रोक्न चेतना जगाउनुपर्नेमा जोड दिएका थिए ।