उदयानन्द स्मारक प्रतिष्ठानद्वारा तीन व्यक्तित्व पुरस्कृत

उदयानन्द स्मारक प्रतिष्ठानद्वारा तीन व्यक्तित्व पुरस्कृत


उदयानन्द स्मारक प्रतिष्ठानद्वारा काठमाडौंमा एक पुरस्कार समारोहको आयोजना गरियो । शनिबार (४ साउन) आयोजित समारोहमा प्रमुख अतिथि प्राडा वासुदेव त्रिपाठीका हातबाट वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङलाई आदिमहाकवि उदयानन्द पुरस्कार (२०७५), शोधार्थी ठाकुरप्रसाद पोखरेललाई रामेश्वर–इन्द्रछायादेवी प्रतिभा पुरस्कार (२०७५) र नियात्राकार प्रतीक ढकाललाई गोमा दामोदर प्रतिभा पुरस्कार (२०७५) प्रदान गरियो ।

‘आदि महाकवि उदयानन्द पुरस्कार’ संस्थापक रामेश्वर अर्ज्याललगायत उदयानन्दका सन्ततिहरूको सहयोगमा २०४७ सालमा स्थापना गरिएको हो । प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिने यो पुरस्कारको राशि रु २५,०००/– रहेको छ ।

२०७५ को पुरस्कार डा. जगमान गुरुङलाई प्रदान गर्दै प्रमुख अतिथि प्राडा त्रिपाठीले पृथ्वीनारायण शाह बडामहाराज भएजस्तै नेपाल एकीकरणको लागि साहित्यको क्षेत्रबाट ठूलो योगदान दिने उदयानन्द बडामहाकवि हुन् भन्नुभयो । उक्त पुरस्कार अहिले अत्यन्त उपयुक्त पात्रमा प्रदान गरिएको छ भन्दै उहाँले वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङका संस्कृति क्षेत्रको योगदानको चर्चा गर्नुभयो ।

पुरस्कार पाउने विद्वान् नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले आधुनिक नेपालको एकीकरण प्रक्रियामा गोर्खाली अर्ज्यालहरुको ठूलो भूमिका रहेको विचार प्रकट गर्दै एकीकरण अभियानमा प्रमुख भूमिका पुऱ्याउने त्यस्ता आदि महाकविको नामको पुरस्कार प्राप्त गर्नु आफ्नो गौरवको कुरा हो भन्नुभयो ।

उदयानन्द स्मारक प्रतिष्ठानका कार्य समिति सदस्य साहित्यकार सरिता अर्यालद्वारा आफ्ना सासू-ससुराका नाममा स्थापित गोमा–दामोदर प्रतिभा पुरस्कार–२०७५ वरिष्ठ नियात्राकार प्रतीक ढकाललाई प्रदान गरिएको थियो । पर्वतीय साहित्यमा विशिष्ट योगदान पुऱ्याउने नियात्राकार ढकालले एकजना बुहारीले सासुससुराको नाममा साहित्यीक क्षेत्रलाई समेटेर स्थापना गरेको पुरस्कार पाउँदा आश्चर्यचकित हुँदै हर्षविभोर भएको बताउनुभयो ।

संस्थापक सरिता अर्यालले प्रकाशित गरेका कृतिहरु र विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखबाट आएको रकमबाट अक्षयकोष खडा गरी त्यसैबाट पुरस्कृत हुन पाएकोमा भावुक हुँदै यस्ता बुहारीहरु साहित्यीक क्षेत्रमा धेरै अगाडि आउन् भन्नुभयो । पूर्वीय दर्शनका विद्वान् महापण्डितको उपाधि प्रदान गरिनुपर्ने डा. जगमान गुरुङजस्ता विशिष्ट व्यक्तिसँग कुम जोडेर पुरस्कार प्राप्त गर्न पाएकोमा अत्यन्त खुशी लागेको कुरा पनि ढकालले प्रकट गर्नुभयो ।

उदयानन्द स्मारक प्रतिष्ठानद्वारा २०७१ सालदेखि प्रदान गरिँदै आएको रामेश्वर–इन्द्रछायादेवी प्रतिभा पुरस्कार उदयानन्दकै बारेमा शोधार्थी ठाकुरप्रसाद पोखरेललाई प्रदान गरियो । कार्यक्रममा प्रतिष्ठानका महासचिव डा. केदार न्यौपानेले सम्मानित व्यक्तित्व डा. जगमान गुरुङ र पूर्व सम्मानित व्यत्तित्वहरुबारे जानकारी गराउनुभएको थियो ।

कोषाध्यक्ष सन्तनु अर्ज्यालले आदिमहाकवि उदयानन्द अर्ज्याल प्रतिष्ठानका बारेमा प्रकाश पार्नुभएको थियो । उक्त पुरस्कार वितरण समारोहको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष डा. प्रकाशप्रसाद अर्ज्यालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कार्यसमिति सदस्य डा. शैलेन्दुप्रकाश नेपालले गर्नुभएको थियो ।