४० लाखको मेसिन दुई करोडमा खरिद !

४० लाखको मेसिन दुई करोडमा खरिद !


स्वास्थ्य मन्त्रालय तथा यस मातहतका विभिन्न विभागमा हुने गरेका भ्रष्टाचारका प्रसङ्गबारे पटक–पटक उजागर हुँदै आए पनि स्वास्थ्यभित्रको भ्रष्टाचारका श्रृङ्खला जारी रहेको बुझिएको छ ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा स्वास्थ्य मन्त्रालयअन्तर्गतका कार्यालयमा उपकरण र मेसिन खरिदमा ठूलो भ्रष्टाचार भएको उल्लेख गरिएको विषयले व्यापक चर्चा पाएको थियो । धेरैले ठानेका थिए कि अब ‘स्वास्थ्य’भित्र आर्थिक सुशासन थोरबहुत कायम हुनेछ । तर, नतिजा भने ठिक उल्टो देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीको अग्रसरतामा पुनः करोडौँको घोटला गरिएको समाचार प्राप्त भएको छ । ‘पछिल्लो चरणमा ‘मेडिकल माफिया’को नयाँ पहिचान बनाएका विशाल पण्डित नामक मेडिकल व्यवसायीको समूहसँग सेटिङ मिलाएर सचिव पुष्पा चौधरीले ४० लाख पर्ने उपकरण २ करोडमा खरिद गर्ने तयारी गरेकी मन्त्रालय सुत्रले जनाएको छ ।

बताइएअनुसार स्वास्थ्य सेवा विभागले गत जेठ १ मा टेण्डर गरी १२८ स्लाइसको सीटी स्क्यान मेसिन १ थान, अल्ट्रासाउन्ड मेसिन २ थान, इन्टिग्रेटेड वेष्ट म्यानेजमेन्ट अटोक्लेभ २ थान खरिद गर्न लागेको छ । यी उपकरण खरिदमा स्वास्थ्य मन्त्रालयका सचिव डा. चौधरीले नै हस्तक्षेप गरी पण्डितलगायतका ठेकेदारहरूलाई बोलाएर सेटिङ गरिसकेकी छन् ।

यसअघि हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डितलाई मात्र उपकरण खरिदको ठेक्का दिँदा धेरै मिडियाबाजी भएकोले यसपटक भागबण्डा गरेर बायोमेड इन्टरनेशनलका चेतन अग्रवाल र ग्लोबल र मेड्रिटोनका धिरज थपलियालाई समेत दिनेगरी स्पेसिफिकेसन बनाइएको बताइन्छ । चौधरीले तीनवटै सप्लायर्ससँग सेटिङ गरी उनीहरूले आयात गर्ने कम्पनीलाई मात्र मिल्ने गरी टेण्डरको ‘स्पेक’ बनाउन लगाएको सुत्र बताउँछ ।

सचिव चौधरी, उनका पीए सोभित रिजाल र सुरेन्द्र चौरसियाको डिजाइनमा हस्पिटेक, बायोमेड र ग्लोबललाई मिल्ने गरी स्पेक बनाइएको स्रोतको दाबी छ ।

सचिव चौधरीको डिजाइनमा ४० लाखमा पर्ने अस्पतालको फोहोर ब्यवस्थापन गर्ने इन्टिग्रेटेड वेष्ट म्यानेजमेन्ट अटोक्लेभ मेसिन २ करोड रुपैयाँमा खरिद गर्नका लागि हस्पिटेकसँग मिल्नेगरी स्पेक बनाउन निर्देशन दिएको स्वास्थ्य सेवा विभाग स्रोतले बताएको छ । स्रोतका अनुसार अटोक्लेभ मेसिन २ थानको ८० लाख रुपैयाँमा आउने भए पनि ४ करोड रुपैयाँमा हस्पिटेकसँग खरिद गर्न लागिएको छ ।

यसअनुसार विशाल पण्डितको ‘हस्पिटेक इन्टरप्राइजेज’ले ४० लाख पर्ने मेसिनलाई २ करोडमा सप्लाई गर्न लागेको छ । इन्टिग्रेटेड वेष्ट म्यानेजमेन्ट अटोक्लेभ मेसिन जम्मा दुई थानलाई प्रतिथान ४० लाखका दरले बजारमा ८० लाख भन्दा बढि पर्दैन । तर, स्वास्थ्य सेवा विभागले सेटिङमार्फत ४ करोडमा लिएको छ । जसको सम्झौता गत ३१ गते गरिएको छ । यस हिसाबले ८० लाखको मेसिन लिँदा व्यापारीलाई ३ करोड २० लाख नाफा दिइएको छ भने राज्यको सवा तीन करोड रकम सोझै घोटला गरिएको छ । यसरी अनियमितता हुन लागेपछि सोबारे छानबिन र कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परिसकेको बुझिएको छ ।

यो सेटिङमा स्वास्थ्यसचिव पुष्पा चौधरी, पूर्व डिजी गुणराज लोहनी, निर्देशक रमेश अधिकारी, आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसिया, वायोमेड इञ्जिनियर पद्मा मिश्रा जोडिएका छन् । साथै, नेकपाका वरिष्ठ नेता माधव नेपालका ज्वाईं नाताका विशाल पाण्डे पण्डितका पार्टनर भएको बुझिएको छ । विशाल पाण्डे कुनैबेला आफैलाई भ्रष्ट भन्दै कारवाहीका लागि अख्तियारसँग गुहार मागेर चर्चामा आएका पूर्वमन्त्री हरि पाण्डेका छोरा हुन् ।

त्यसैगरी, अल्ट्रासाउन्ड मेसिन बायोमेड इन्टरनेशलनका चेतन अग्रवालसँग २ थान ५ करोडमा खरिद गर्न लागिएको छ । विनासेटिङ स्वस्थ प्रतिस्पर्धा हुने हो भने अल्ट्रासाउन्ड मेसिन १ करोड ५० लाख रुपैयाँमा आउँछ । २ थान अल्ट्रासाउन्ड मेसिन प्रतिस्पर्धा गराएको भए ३ करोड मूल्यमा विभागले पाउने थियो । तर सचिव चौधरीको सेटिङमा स्पेक नै बायोमेडले भित्र्याउने उत्पादक कम्पनीसँग मिल्ने गरी बनाइएको छ । यसबाट स्वास्थ्यका उच्चाधिकारीहरू भ्रष्टाचारमा कसरी लिप्त रहेका छन्, स्वतः प्रष्टिएको छ ।

थप उदाहरणका लागि, २ करोड ५० लाखमा प्राप्त हुने सिटीस्क्यान मेसिनलाई ४ करोड मूल्यमा खरिद गर्ने सेटिङ भएको छ । सीटीस्क्यान मेसिनको ठेक्का तोसिभासँग मिल्नेगरी स्पेक बनाइएको सुत्र बताउँछ छ । तोसिभा ग्लोबल र मेडिट्रोन केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसिएसनका अध्यक्ष धिरज थपलियाको कम्पनी हो ।

गत वैशाख २० मा अस्पतालका उपकरणहरुको २ करोड बराबरको ठेक्का सचिव चौधरीका पीए रिजालका आफन्त पोष्टराज ज्ञवालीको लुम्बिनी हेल्थकेयर प्रालि र नेपाल ट्रेड कन्सर्नलाई दिइएको थियो । सचिव चौधरी, चौरसिया र रिजालको टोलीले बायोमेड इन्जीनियर पद्मा मिश्रलाई पनि सेटिङमा समावेश गर्दैआएको स्रोत बताउछ । जुन टीममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी पनि समेत सामेल रहेको मन्त्रालयभित्रै चर्चाको विषय बन्दै आएको छ ।

यसरी सचिवलगायतका उच्चाधिकारीहरूसँग सेटिङ मिलाएर स्वास्थ्यसम्बन्धी उपकरण सप्लाई गरी राज्यलाई करोडौँ चुना लगाउँदै आएका विशाल पण्डितले काठमाडौंको सिडिओ कार्यालयसँगै भब्य होटल निर्माण गरिरहेका छन् । सिंहदरबारको आडैनजिक भएकोले उक्त होटल सुरक्षाका हिसाबले निकै संवेदनशील रहेको यथार्थलाई नजरअन्दाज गरी काठमाडौं महानगरपालिकाले कसरी नक्सा पास तथा निर्माणको अनुमति दियो– गम्भीर सवाल पैदा भएको छ ।