अमेरिकी तल्लो सदनमा न्यूनतम ज्याला दोब्बर गर्ने विधेयक पारित

माथिल्लो सदन भने विपक्षमा


डेमोक्य्राटिक पार्टीको वर्चश्व रहेकोअमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्सले न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघन्टा १५ अमेरिकी डलर बनाउनेसम्बन्धी विधेयक पारित गरेको छ ।

तर, रिपब्लिकन पार्टीको बर्चश्व रहेको माथिल्लो सदन सिनेटले भने उक्त विधेयक पारित नगर्ने सम्भावना छ । तल्लो सदनबाट पारित विधेयक माथिल्लो सदनबाट पनि पारित भएपछि राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । हाउसमा भएको मतदानमा ज्याला वृद्धिसम्बन्धी विधेयक २३१–१९९ मतले पारित भएको थियो । विधेयकको पक्षमा डेमोक्य्राट सांसदले मतदान गरेका थिए भने रिपब्लिकनले विपक्षमा मतदान गरेका थिए ।

यो विधेयक स्वीकृत भई लागू भएमा न्यूनतम ज्याला दोब्बर हुनेछ । हाल अमेरिकामा न्यूनतम ज्याला प्रतिघन्टा ७.२५ डलर छ । अमेरिकामा न्यूनतम ज्याला सन् २००९ यता परिवर्तन भएको छैन । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याककोनेलले तल्लो सदनबाट पारित भएको विधेयक अस्वीकार्य छ भन्दै त्यसलाई सिनेटमा छलफलसमेत नगरिने जानकारी दिए ।

‘अनुसन्धानहरूले न्यूनतम ज्यालालाई १५ डलर पुऱ्याउँदा रोजगारी गुम्ने र सुधारोन्मुख अमेरिकी अर्थतन्त्रमा ठूलो क्षति पुग्ने देखाएका छन्,’ मिचेलले ट्विटमा गरेका छन्, ‘हामी यो विधेयकलाई सिनेटमा छलफल गर्ने स्थितिमा पनि छैनौँ ।’ बजेटसम्बन्धी कंग्रेस बजेट कार्यालयले यसै महिनाको शुरुमा प्रकाशन गरेको एक प्रतिवेदनमा सन् २०२५ सम्ममा न्यूनतम ज्याला १५ डलर पु¥याइए यसबाट एक करोड ७० लाख कामदारले थप भुक्तानी पाउने तर १३ लाख रोजगारी गुम्ने बताएको छ ।
rss

प्रतिक्रिया