गोरखामा प्रहरीद्वारा तीन हजार गाँजाका बोट फँडानी

गोरखामा प्रहरीद्वारा तीन हजार गाँजाका बोट फँडानी


गोरखाको गोरखा नगरपालिका–४ पीपलथोकमा किसानले अवैध रूपमा लगाएको तीन हजार गाँजाको बोटलाई प्रहरीले नष्ट गरेको छ ।

सामुदायिक सेवा केन्द्र गोरखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी उपरीक्षक ओम अधिकारीको नेतृत्वमा खटिएको टोलीले शुक्रबार बिहान सो परिमाणको गाँजाको बोट नष्ट गरेको हो ।

लागूऔषधविरुद्धको प्रहरीको अभियानअन्तर्गत जिल्लामा गाँजा फँडानीको काम शुरु गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए । ‘हामीलाई त्यस क्षेत्रमा गाँजा छ भन्ने जानकारी आयो,’ उनले भने, ‘त्यही आधारमा गएर अनुसन्धान गर्दा गाँजा रहेको पाइएपछि प्रहरीले नष्ट गर्ने अभियान चलाएको हो ।’

लागूऔषधविरुद्धको जनचेतनामूलक अभियान तथा दण्डात्मक कार्यक्रमअन्तर्गत स्थानीयसमेतलाई सहभागी गराएर अभियान सञ्चालन गरेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । ‘हामीले स्थानीय समुदायलाई आफैँलाई समेत गाँजाखेती गरेको भए नष्ट गर्नसमेत भनेका छौँ,’ उनले भने ।

पहिलो चरणमा हामी आफैँ आएर फँडानी गरेका छौँ, अब आफैँले फँडानी गरेर नष्ट गरी हामीलाई जानकारी नगरे कारबाहीसमेत शुरु हुन्छ : प्रहरी उपरीक्षक अधिकारी

फँडानी गरिएको गाँजालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले जानकारी दिए । ‘अब यसलाई केही दिन सुक्न दिएर प्रहरी कार्यालयमा जलाएर नष्ट गर्छौं,’ प्रहरी उपरीक्षक अधिकारीले भने । उनले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र गोरखासँग साझेदारी गरेर जिल्लाभर नै लागुऔषधविरुद्धको कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए ।

यो अभियान निरन्तर चल्ने भन्दै अबदेखि जसको जमिनमा गाँजा खेती गरिएको उसलाई कानुनी कारबाहीसमेत गर्ने उनको भनाइ छ । ‘पहिलो चरणमा हामी आफैँ आएर फँडानी गरेका छौँ, अब आफैँले फँडानी गरेर नष्ट गरी हामीलाई जानकारी नगरे कारबाहीसमेत शुरु हुन्छ,’ प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ ।