पहिलो चुनौती नै ‘साग’, गर्नैपर्छ : सदस्यसचिव सिलवाल

पहिलो चुनौती नै ‘साग’, गर्नैपर्छ : सदस्यसचिव सिलवाल


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आफ्नो पहिलो चुनौती भएको बताएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्नो सम्मान तथा स्वागतमा बिहीबार (२ साउन) आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव सिलवालले उक्त कुरा बताएका हुन् । ‘पहिलो चुनौती साग हो, त्यसमा पनि पूर्वाधार हो । उनले भने– ‘निर्माण कार्यमा संलग्न प्रत्येकसँग मैले समयमै काम सम्पन्न गर्न लिखित प्रतिबद्धतापत्र मागेको छु । साग हुन्छ । गर्नैपर्छ ।’

सदस्यसचिव सिलवालले अभिभावकलाई मागपत्र बुझाउने नभई भेटेर कुरा गर्न सुझाए । ‘तपाईंहरुलाई केही चाहियो भने बुबा–आमालाई पक्कै पनि मागपत्र नदिई पक्कै कुरा गर्नुहुन्छ होला । म पनि खेलकुदको अभिभावक हुँ । केही समस्या छ भने भेट्न आउनुस्, बसेर कुरा गरौँला र हल निकालौँला । मागपत्र दिइरहनु पर्दैन’, सिलवालले भने ।

कार्यक्रममा खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, मानार्थ अध्यक्ष दीपक विष्टलगायतले सदस्य–सचिव सिलवाललाई पुष्पगुच्छा, माला र खादा प्रदान गरी स्वागत गर्नुका साथै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । सो अवसरमा खेलाडी संघका अध्यक्ष श्रेष्ठले सदस्यसचिव सिलवाललाई सुझावसहितको १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।

ध्यानाकर्षण पत्रमा बृहत राष्ट्रिय खेलकुदका स्वर्ण विजेतालाई मात्र नगद पुरस्कार दिँदै आएकोमा रजत र कांस्यलाई पनि नगद पुरस्कारको व्यवस्था गर्नुपर्ने, सागको तयारीलाई तीव्र गतिमा अगाडि बढाउनुपर्ने, सागको छनोटको आधार स्पष्ट हुनुपर्ने, पदक विजेता खेलाडीको वर्गीकरण गरी सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने, नयाँ पुस्ताका खेलाडीलाई आकर्षित गर्न सरकारले नीति ल्याउनु पर्ने, स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरका खेलाडीको पहिचान खुल्ने गरी परिचय पत्रको व्यवस्था गर्नुका साथै त्यसैका आधारमा सरकारले निश्चित सहुलियतका पहल गर्नुपर्ने र खेलाडीलाई पलायन हुनबाट जोगाउन नीतिगत पहल गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, सागका स्वर्णधारी, एसियाडका पदकधारी र ओलम्पियनहरुलाई दिइँदै आएको आजीवन भत्तालाई निरन्तरता दिँदै सागका रजत र कांस्य विजेतालाई पनि भत्ताको व्यवस्था गर्नुपर्ने, देशका लागि योगदान पुऱ्याएका खेलाडीहरूको मापन गरी प्रतियोगितापश्चात पनि खेलाडीको विमा गर्नुपर्ने, सागमा तीन वा सोभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई सरकारले नगद पुरस्कारबाट सम्मान गरिसकेकोमा तीनभन्दा कम स्वर्ण जित्ने खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था हुनुपर्ने, राजनीतिक आस्थाका आधारमा खेलाडीमाथि हुने विभेदको पूर्ण रुपमा अन्त्य हुनुपर्ने तथा राष्ट्रिय खेलाडी कल्याण कोषमा केही वर्षदेखि रकम थप गर्ने कार्य रोकिएको हुँदा हरेक वर्ष २० लाखका दरले कोषमा रकम थप गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने भनिएको छ ।

अध्यक्ष श्रेष्ठ र मानार्थ अध्यक्ष विष्टले सदस्य–सचिव सिलवालको कार्यकाल सुनौलो हुने विश्वास व्यक्त गर्दै सदस्यसचिव सिलवालको शैक्षिक संस्थाले खेलकुद र खेलाडीको विकासमा उल्लेखनीय कार्य गरेको बताए ।