तरकारी तथा फलफूल व्यवसायीलाई ग्लोबलले लगानी गर्ने

तरकारी तथा फलफूल व्यवसायीलाई ग्लोबलले लगानी गर्ने


तरकारी तथा फलफूल व्यवसायीलाई ग्लोबल आइएमई बैंक लिमिटेडले सरल तथा सुलभ कृषि कर्जा प्रवाह गर्ने भएको छ । यस उद्देश्यले सो बैंकले व्यवसायीहरूसँग आवधिक कृषि कर्जा लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

बैंकका सहायक महाप्रवन्धक सुरेन्द्रराज रेग्मी, नेपाल फलफूल थोक व्यवसायी संघका अमर बानियाँ तथा तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाका भरतप्रसाद खतिवडाले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताका लागि आयोजित कार्यक्रमका अवसरमा बोल्दै सहायक महाप्रबन्धक रेग्मीले विगतदेखि नै ग्लोबल आइएमई बंैक र फलफूल व्यवसायीबीच असल सम्बन्ध रहेको र यस सम्झौताबाट नेपाल फलफूल थोक व्यवसायी संघ र तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाबीचको सामिप्यता अझ बढ्ने विश्वास व्यक्त गरे । उनले सम्झौतापछि संघ–संस्थामा आवद्घ व्यवसायीहरूले सस्तो, सरल तथा सुलभ ब्याजदरमा कृषि कर्जा प्राप्त गर्न सक्ने भएकोले व्यवसायीलाई यसको भरपूर फाइदा लिन आग्रह गर्दै यसबाट फलफूल तथा तरकारी बजारको थप विकास एवम् विस्तारमा टेवा पुग्ने धारणा राखे ।

यस सम्झौताबाट नेपाल फलफूल थोक व्यवसायी संघ र तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थामा आवद्घ करिव सात सय फलफूल तथा तरकारी व्यवसायीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।

बैंकले कृषि व्यवसाय तथा पेशामा संलग्न रहेका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले विगतदेखि नै कृषि कर्जा प्रवाह गर्दै आइरहेको छ ।