१२औँ सार्क शारीरिक सुगठन प्रतियोगिताको अन्तिम तयारी

१२औँ सार्क शारीरिक सुगठन प्रतियोगिताको अन्तिम तयारी


नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले १२औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको अन्तिम तयारीको बारेमा जानकारी गराएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिताबारे संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी गराएका हुन् ।

अध्यक्ष श्रेष्ठले प्रतियोगिताको अन्तिम तयारी पूरा भएको जानकारी गराउँदै दक्षिण एसियाली मुलुकका सात राष्ट्रका खेलाडीहरू काठमाडौं आइसकेको बताए । साउन २ देखि नै ती खेलाडीको स्वागत र रजिष्ट्रेसन शुरु गरिने उनको भनाई छ ।

प्रतियोगितामा नेपाल, अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिब्स, पाकिस्तान र श्रीलंकाले सहभागिता जनाउने छन् ।

त्यस्तै, साउन ३ गते युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आथित्यमा समुदघाटन र प्रतियोगिताको प्रिजजिङ तथा केही समुहगत प्रतियोगिताको फाइनल खेल सञ्चालन हुने अध्यक्ष श्रेष्ठले बताए । त्यस्तै ४ गते प्रिजजिङ तथा फाइनल खेलको संचालन हुनेछ ।

आठ तौल समुहमा प्रतिस्पर्धा हुने यो प्रतियोगितामा पहिलो पटक जुनियर पुरुष, पहिलो पटक पुरुष फिटनेस विजिक्स, पुरुष स्पोर्टस फिजिक्स, पुरुष एथलेटिक्स फिजिक्स, महिला एथलेटिक्स फिजिक्स तथा महिला मोडल फिजिक्स गरी कुल १८ विधामा प्रतियोगिता सञ्चालन हुनेछ ।

साउन ३ र ४ गते काठमाडौंको प्रज्ञा भवनमा आयोजना हुने प्रतियोगितामा कुल १ सय ३० जना खेलाडीले सहभागिता जनाउने छन् । यो प्रतियोगितामा नेपालका २३ जना महिला तथा पुरुष खेलाडीले सहभागिता जनाएका छन् ।

प्रतियोगितालाई सफल पार्न वल्र्ड बडिविल्डिङ तथा एसियन बडिविल्डिङ फेटनेस महासंघका अध्यक्ष दातुक पौल चुआ काठमाडौं आएका छन् ।