‘आठौँ’ राष्ट्रियका स्वर्ण र कीर्तिमानधारी खेलाडी पुरस्कृत

‘आठौँ’ राष्ट्रियका स्वर्ण र कीर्तिमानधारी खेलाडी पुरस्कृत


राष्ट्रिय खेलकुद परिषद्ले प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता र राष्ट्रिय कीर्तिमान बनाएका खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण जितेका जम्मा ६ सय ९६ खेलाडीलाई नगद पुरस्कार वितरण गरियो । व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई जनही १५ हजार तथा टिममा स्वर्ण हात पार्नेलाई जनही ७ हजार नगद पुरस्कार दिइएको थियो ।

विभिन्न ४ खेलमा राष्ट्रिय कीर्तिमान बनाउन सफल १६ खेलाडीलाई २६ कीर्तिमानका लागि प्रत्येक कीर्तिमानको २५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो । स्वर्ण र कीर्तिमानका लागि जम्मा ७७ लाख वितरण गरिएको थियो ।

एथलेटिक्सकी चन्द्रकला लामगाडेले २, कृष्णा चौधरी, तुलसा खत्री, संगीता मेचे र सरस्वती भट्टराईले (रिले) तथा सन्तोषी श्रेष्ठले समान १–१ कीर्तिमान बनाएका थिए । पौडीमा गौरिका सिंहले ६, तेन्जिङ नोर्गे गुरुङले २, शुभम् श्रेष्ठले २, शायद हम्जा शाहले ३, एलेक्जेन्डर शाहले २, अनुभव सुब्बाले २ र नाथेन दोर्जे शेर्पाले २ कीर्तिमान रचेका थिए । त्यस्तै सुटिङकी सुस्मिता नेपाल तथा गोल्फका टंकबहादुर कार्की र शुक्रबहादुर राईले समान १–१ कीर्तिमान बनाएका थिए ।
खेलाडीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।