‘साग’ सफल बनाउन सबै लागिपरौँ : मन्त्री विश्वकर्मा

‘साग’ सफल बनाउन सबै लागिपरौँ : मन्त्री विश्वकर्मा


युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई सफल बनाउन सबै प्रयारत हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठित १३औं साग सचिवालयले आयोजना गरेको १३औं सागमा सहभागी हुने खेल–संघहरूसँग तयारीसम्बन्धी अन्तरक्रियामा मन्त्री विश्वकर्माले भने– ‘साग नेपालबाटै सुरु भएको गर्विलो इतिहास छ । यसलाई कायम राख्न हमी सबै प्रयासरत हुन जरुरी छ ।’

मन्त्री विश्वकर्माले सागका लागि मुख्य चुनौती हिटिङ पौडी पोखरी भएको बताउँदै पूरै सामर्थ्य प्रयोग गरेर काम सम्पन्न गर्ने बताए । उनले एक साताभित्र सागको कार्यविधि आउने बताउँदै आवश्यकताअनुसारको उपसमिति पनि गठन गरिने बताए ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा नवनिर्मित अडिटोरियम हलमा भएको कार्यक्रममा सागमा समावेश विभिन्न २७ खेल संघका अध्यक्ष, महासचिव र प्रमुख प्रशिक्षकहरुको सहभागिता थियो । त्यस अवसरमा सहभागीहरुले खेल स्थल, प्रशिक्षण स्थल, खेल सामाग्री, वैदेशिक प्रशिक्षण, स्वदेशमै विदेशी प्रशिक्षक झिकाएर खेलाडीलाई प्रशिक्षण गराउनुपर्ने लगायतका विषयमा सुझावसहितको आ–आफ्नो धारणा राखेका थिए ।

संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सागलाई भब्यताका साथ सम्पन्न गर्नु सबै नेपालको दायित्व र जिम्मेवारी भएको बताए । त्यस्तै, युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालकै कारण साग नरोकिने बताउँदै वर्तमान सदस्य–सचिवको कार्यशैली प्रशंसनीय रहेको बताए । राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले देशको प्रतिष्ठासँग जोडिएको सागलाई सफल बनाउन सबै एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको बताए ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले प्राप्त सुझावलाई कार्यन्वयन गर्नेतर्फ केन्द्रीत हुने बताउँदै सागलाई परिणामुखी बनाउन प्रयासरत रहने बताए । उनले प्रत्येक खेलको निरीक्षण गर्ने बताए । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो विभाग मातहत रहेका खेल पूर्वाधार आवश्यक परेमा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै सागमा सहभागी हुने टोलीको सुरक्षाका विषयमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।