जङ्गलका राजा कुसुण्डा यसरी लोप हुँदै छन्

जङ्गलका राजा कुसुण्डा यसरी लोप हुँदै छन्


तनहुँ/ नेपाललगायत विश्वका कैयौँ ठाउँमा यस्ता आदिवासीहरू छन् जो जङ्गली कन्दमूल र जनावरको मासु खाएर बाँच्ने गर्छन् । यिनका लवाइखुवाई, चालचलन सिकारीयुगका मानिसको जस्तै छ । जङ्गली कन्दमूल खोज्ने, जनावरहरूको सिकार गर्ने र आगोमा पोलेर वा काँचै खाने यिनीहरूको दिनचर्या यसरी नै बित्ने गर्दछ ।

तनहुँ जिल्लाको सदरमुकाम दमौलीसँग सीमा जोडिएको एक गाउँ गल्खुबेसी जहाँ नितान्त एक्लो अवस्थामा एक मात्र वनका राजा कुसुण्डा जिउँदो इतिहास बोकेर बाँच्न बाध्य छन् । मझौला कदका गहुँगोरा लामो जुंगा पाल्ने उनी अम्मलमा चुरोट, खैनी, सुर्ती लिने गर्दछन् ।

गाउँका सानातिना काम र मेलापात गरेर दिनचर्या बिताउने उनी तीन वर्षअगाडि आमाको मृत्युपश्चात् नितान्त एक्लो भएको महसुस गर्दछन् । अन्दाजी ४५ वसन्त पार गरेका उनी हालसम्म अविवाहित नै छन् । यसरी उनी उनको वंशजको अन्तिम सपुतको रूपमा रहेका छन् ।

आफ्नो नामसम्म थाहा नभएकोले उनलाई गाउँमा कुसुण्डा कान्छा, कान्छा दाइ, कान्छा मामा, वनका राजाजस्ता साइनोले बोलाउने गरिन्छ ।

फुर्सदको समयमा सिकार खेल्न मन पराउने ती कुसुण्डा दुम्सी, गोहोराजस्ता जङ्गली जनावरको सिकार गर्ने गर्दछन् । तर, हाल जङ्गली जनावरको सिकारमा प्रतिबन्ध लगाएको कारण सिकार खेल्न नपाएकोमा उनी दुःखेसो पनि पोख्छन् ।

लामो समयसम्म एक ठाउँमा बिताउन नचाहने यिनीहरूको परम्पराअनुसार सिकारको खोजीमा ठूला–साना जङ्गलहरू घुम्ने क्रममा तनहुँ जिल्लाको गल्बुबेसी आइपुगेका तिनीहरू त्यहीँ हैजाको आक्रमणबाट धेरै मृत्युको मुखमा पुगेका र बाँकी रहेकाहरू पनि हैजाको डरले यत्रतत्र भागेका थिए । एउटा हजारौँ वर्षअगाडिको मानवसभ्यतालाई स्मरण गराउने आदिवासीको एउटा समूहको दुःखद अन्त्य भएको थियो ।

केही समयअघिसम्म त्यही गल्बुवेसी गाउँको गजेडाँडा भन्ने ठाउँमा तिनै आदिवासीहरूले प्रयोगमा ल्याएको अँखोरा, कचौरा, मुगाका मालाजस्ता सामान पाइने गरेको कुरा एक स्थानीय वृद्धले यस पङ्क्तिकारलाई बताए ।

त्यही दलबाट हैजाको डरले भागेका एकजोडी कुसुण्डाकुसुण्डी केही परको साँगे भन्ने ठाउँमा पुगेका र त्यही ठाउँमा एक छोरा र दुई छोरीको जन्मपश्चात् कुसुण्डाको मृत्यु भएको र कुसुण्डी जवान नै भएकीले स्थानीय कुमालसँग विवाह गरी केही समयपश्चात् फेरि गल्बुवेसी नै आएर बसेकी छिन् । उनले एक–दुई वर्षपश्चात् नै कुमाललाई छोडिदिएको कुरा स्थानीय वृद्धा उजेली लौडारी बताउँछिन् ।

दुई छोरीहरूमध्ये जेठीले स्थानीय गाउँकै बोटेसँग विवाह गरेको र हाल उनको मृत्यु भइसकेको छ भने कान्छी छोरी पोखरामा क्षेत्रीसँग विवाह गरी त्यहीँ बस्ने गर्छिन् ।
कुसुण्डा जातिको आफ्नै किसिमका रीतिरिवाज, आफ्नै संस्कृति र आफ्नै परम्पराअनुसार यिनीहरू अरूले छोएको खाना, पानी साथै दूध, दही, घ्यू खाँदैनथे । तर, स्थानीय गाउँलेका अनुसार आमाले दूध, दही आदि नखाए पनि अरूले बनाएको परिकार खाने गरेको र छोराछोरीहरूले भने सबैथोक खाने गरेको बताउँछन् ।

करिब ४–५ वर्षअगाडि नेपालमा रहेका आदिवासीको अध्ययन गर्ने क्रममा विदेशबाट समेत शोधकर्ताहरू आएर आफ्नोबारेमा जानकारीका साथै फिल्मसमेत खिचेर लगेको कुरा ती कुसुण्डा बताउँछन् ।

आफ्नो जीवनको रमाइलो अनुभव बताउने क्रममा एकपटक स्थानीय शिक्षकले दिएको लुगा लगाएर सडकमा हिँड्दा विद्यार्थीले आफ्नो शिक्षक ठानी अनुहार नै नहेरी नमस्कार गरेको कुरा रमाइलो मानीमानी उनले बताए ।

हालसम्म नागरिकता प्रमाणपत्र नलिएका उनीसँग देश र राजनीतिबारे प्रश्न गर्दा आफूलाई केही पनि थाहा नभएको र अहिलेसम्म एकपटक पनि भोट नहालेको बताउँछन् । त्यसैगरी सुकुम्बासीमा नाम नलेखाउने भनेर प्रश्न गर्दा वनको राजालाई जग्गाजमिन के काम ? भनेर प्रतिप्रश्न गर्दछन् ।

पिछडिएका जनजातिको नाउँमा लाखौँ डलरहरू पाँचतारे होटेलमा खर्च गर्ने, तर यसरी आफ्नै आँखाअगाडि लोप हुन लागेका आदिवासीका अन्तिम निसानीका रूपमा रहेका वनका राजा कुसुण्डाको पुनर्उत्थानका लागि कुनै प्रयास हुन नसकेकोमा स्थानीय बासिन्दाहरूले दुःख व्यक्त गरेका छन् ।

■ प्रकाशचन्द्र हड्खले

(२०५५ साल भदौ २४ गते बुधबार, घटना र विचार साप्ताहिक)