पेरूका पूर्वराष्ट्रपति अमेरिकामा पक्राउ

पेरूका पूर्वराष्ट्रपति अमेरिकामा पक्राउ


भ्रष्टाचारको आरोपमा फरार रहेका पेरूका पूर्वराष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्त राज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरूका सरकारी अधिकारीहरूले बताएका छन् ।

पेरूका महान्यायाधिवक्ताको कार्यालयले पेरूको अनुरोधमा टोलेडो अमेरिकामा पक्राउ परेको जनाएको छ । महान्यायाधिवक्ताले पूर्वराष्ट्रपति टोलेडोलाई स्वदेश फर्काउन अमेरिकी अधिकारीहरूसँग वार्ता भइरहेको बताएको छ । टोलेडो सन् २०१७ देखि संयुक्त राज्य अमेरिकामा बस्दै आएका थिए ।

टोलेडोमाथि ब्राजिली विशाल निर्माण कम्पनी ओडेब्रेक्टसँग पेरू र ब्राजिल जोड्ने राजमार्ग निर्माणको ठेक्का दिँदा घुस लिएको तथा अरू विभिन्न अपराधमा संलग्न रहेको आरोप छ । उनकी पत्नी एलियान कार्पविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

टोलेडोको सुपुर्दगीका लागि एकदेखि डेढ वर्ष लाग्ने बताइएको छ ।