बुद्धस्थल तिलौराकोटमा महाभिनिष्क्रमण दिवस

बुद्धस्थल तिलौराकोटमा महाभिनिष्क्रमण दिवस


■ श्याम क्षेत्री, कपिलवस्तु

२ हजार ६ सय ४३ वर्षअघि राजकुमार सिद्धार्थले राजदरबार छोडेको घटना चित्रित गर्दै बुद्धस्थल तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाइएको छ । मानव जातिमा दुःखको कारण खोज्दै राजशी सुखसयल छोडेर दरबार त्यागेको घटनासँग मेल खानेगरी कठोर निर्णय महाभिनिष्क्रमण गरेको देखाइएको थियो ।

बुद्ध सर्किट्स डट कमको आयोजना पहिलो पटक आयोजना गरेको कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महास्थवीर, म्याराथन धावक बैकुण्ठ मानन्धर, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनी शाक्य, कोषका कार्यकारी सदस्य राजेश ज्ञवाली र पर्यटन व्यवसायी नवराज घिमिरे साजसज्जायुक्त घोडामा सवार भई दरबारको पुर्वीगेटबाट बाहिर निस्किएका थिए ।

महाभिनिष्क्रमणको महत्व बुझाउँदै बुद्धको जीवनीसँग जोडिएको गुरु पुर्णिमामा गृहत्याग गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न तथा सरकारले शुरु गरेको भ्रमण वर्ष २०२० मा बुद्धस्थल कपिलवस्तुलाई जोड्न कार्यक्रम गरिएको दिवसका परिकल्पनाकार विक्रम पाँडे काजीले बताए ।

गुरु पुर्णिमाको दिन सिद्धार्थ गौतमको जीवनीका तीन पक्षसँग जोडिएको अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए । सिद्धार्थ गौतम गर्भमा रहेको दिन, राजा शुद्धोधनले धान रोपाईं सकेर सिद्धार्थको बन्दना गरेको दिन र सिद्धार्थ गौतमले राजसी सुखसयल त्यागी दरबार छाडेको २ हजार ६ सय १४ वर्षअघि दरबार त्यागेको दिनको स्मरणमा तिलौराकोटमा महाभिनिष्क्रमण कार्यक्रम गरिएको उनले बताए ।