पार्टी एकताका बाँकी काम आजै टुंग्याउने प्रचण्डको दाबी

पार्टी एकताका बाँकी काम आजै टुंग्याउने प्रचण्डको दाबी


पार्टी एकताका क्रममा बाँकी रहेका काम आजै (मंगलबार) सम्पन्न गर्ने तयारी भइरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले दाबी गरेका छन् ।

ललितपुर पार्टी कमिटीको पूर्ण बैठकलाई आज सम्बोधन गर्दै उनले असार मसान्तभित्र एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणाअनुसार नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल जारी रहेको र सबै काम आजै टुङ्गो लगाउने तयारी गरिएको बताए ।

अध्यक्ष दाहालले सकेसम्म आजै कार्यविभाजन, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार परिषद्, विशेष कमिटी, विभाग र आयोग टुङ्ग्याउने तयारीमा रहेको उल्लेख गर्दै भने, ‘मूलभूत रुपमा आज हामी बाँकी काम टुङ्ग्याउँछौँ, सचिवालय, स्थायी कमिटी बसेर त्यसलाई अन्तिम रुप दिने छौँ । ढिलै भए पनि केन्द्रीय कमिटीको बैठक बसेर केन्द्रीय कार्यक्रम र अभियान बनाएर देशव्यापी अभियानमा जानेछौँ ।’

केही महीनाभित्र पार्टी कमिटीलाई जनतासँग जोड्ने गरी अभियान सञ्चालन गरिने उनको भनाइ थियो ।

देशभित्र र बाहिर दुई पार्टीबीच भएको एकतालाई असफल पार्ने षडयन्त्र भइरहेको जिकीर गर्दै अध्यक्ष दाहालले कसैको दयामायाले आफूहरुले एक्लै दुई तिहाइ मत नपाएको अभिव्यक्ति दिए ।

‘हिजोका राजा महाराजाको दयामायाले हामी यो स्थानमा आएका होइनौँ, हामीले लडेर, सङ्घर्ष गरेर, जनतासँग एकाकार भएर, जनताको भावना र आवश्यकतालाई सम्बोधन गर्ने प्रक्रियामा त्याग, तपस्या र बदिलानका थुप्रै कीर्तिमान कायम गर्दै खोसेर लिएको हो’, उनले भने ।

देशको स्थायित्व र आर्थिक समृद्धिका लागि पार्टी एकता आवश्यकता छ भन्ने बोध गरेर मात्र दुई पार्टी एकता गरिएको प्रष्ट्याउँदै उनले अगाडि भने, ‘प्रलोभन, धम्की र घेराबन्दी पार गरेर पार्टी एकता गरिएको होइन, पार्टी एकता खल्बल्याउने देशी–विदेशी प्रतिक्रियावादीको षड्यन्त्र हामीले परास्त गऱ्यौँ, हाम्रा उम्मेदवार, घोषणापत्र र पार्टी एकता गर्ने सङ्कल्पलाई देशैभरि जनताले अनुमोदन गरेका छन् ।’

दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीले षडयन्त्र गरिरहेको पनि प्रचण्डको दाबी थियो ।