बालविवाहविरुद्धको अभियानमा ग्लोबल

बालविवाहविरुद्धको अभियानमा ग्लोबल


संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्लोबल आइएमई बैंकले बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा पाँच लाख सहयोग गरेको छ । बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जोन्टा क्लब (काठमाडौं)का अध्यक्ष मीरा ज्योतीलाई पाँच लाख सहयोग रकम हस्तान्तरण गरेका हुन् । उक्त सहयोगबाट जोन्टा क्लबले प्रदेश सरकार तथा स्थानीय निकायहरूसँगको सहकार्यमा प्रदेश २ का विभिन्न विद्यालयमा पुगेर करिव एक हजार विद्यार्थीमाझ बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानका कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी दिइएको छ ।

गरिवी, अशिक्षा तथा अन्धविश्वासले गर्दा नेपालका धेरै समुदायमा बालविवाहको प्रचलन रहेको तथा प्रदेश २ मा यसको अवस्था गम्भीर रहेकोले बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा बैंक जोडिएको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए । महिलाको आर्थिक सशक्तीकरणले सबै किसिमका समस्या समाधानमा सहयोग पु¥याउने बताउँदै उनले यस अभियानलाई आर्थिक सबलीकरण, नेतृत्व विकास र उद्यमशीलतासँग जोड्न आग्रहसमेत गरे ।

सो बंैकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर प्राकृतिक विपत्ति, जनचेतनामूलक कार्यक्रम र सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको दाबी गरेको छ । बालविवाह देशकै एउटा ठूलो समस्या रहेको हुनाले संस्थाले यस क्षेत्रलाई नै आफ्नो कार्यक्षेत्र बनाएको जोन्टा क्लबका अध्यक्ष ज्योतीको भनाई छ । संस्थाले महिला सशक्तीकरणका विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

उक्त अवसरमा बैंकका सहायक महाप्रबन्धक आरती राणा, जोन्टा क्लबका सीमा गोल्छा लगायत बैकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।