साढे चार अंक बढ्यो नेप्से

साढे चार अंक बढ्यो नेप्से


धितोपत्र बजारमा मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४.४५ बिन्दुले बढेर एक हजार २५९.०१ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ बिन्दुले बढेर २७१.२५ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उकालो लागे पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएन । कुल १६१ कम्पनीको १९ लाख ५६ हजार ६३० कित्ता सेयर ३४ करोड ७२ लाख ८९ हजार २७५ मूल्यमा खरिद–बिक्री भए ।

स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूह नै वृद्धि भएको छ । बैंकिङ ४.१३, होटेल ५६.०८, विकास बैंक ५.९९, जलविद्युत १.१६, वित्त ५.१४, निर्जीवन बिमा १०.४६, उत्पादन ७.०९, अन्य २.२३, लघुवित्त ५.५, जीवन बिमा १.७३ र सामूहिक लगानी कोष ०.४८ बिन्दुले बढे । मंगलबार चालू आर्थिक वर्षको अन्त्य र बुधबारदेखि नयाँ आर्थिक वर्ष शुरु हुने भएकाले पनि शेयर बजारमा लगानीकर्ताको चासो बढेको हो ।

स्टकका अनुसार कारोबारका आधारमा मंगलबार नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु. पाँच करोड ७८ लाख ७२ हजार ५७७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु. तीन करोड ४४ लाख ५० हजार, नबिल बैंक रु. दुई करोड ६ लाख ९० हजार ४८६, शिवम् सिमेन्ट रु. एक करोड ४९ लाख ६९ हजार ९३४, नेसनल लाइफ इन्स्योरेन्स रु. एक करोड २९ लाख ३० हजार ५४३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार नबिल इक्विटी फन्डका लगानीकर्ताले ९.१२ प्रतिशतले कमाए । सिभिल लघुवित्त वित्तीय संस्था ८.८२, सिटिजन म्यूचल फण्ड ८.३०, एनएमबी हाइब्रिड फन्ड ७.८५ र अरुण काबेली पावरका सेयरधनीले ६.२१ प्रतिशतले कमाए । त्यस्तै आँखु खोला जलविद्युत कम्पनी ४.१६, रिडी हाइड्रो ३.२२, स्वरोजगार लघुवित्त वित्तीय संस्था २.८६, फस्टमाइक्रो फाइनान्स डेभलपमेन्ट २.८४ र सानिमा माई हाइड्रोपावारका सेयरधनीले २.३९ प्रतिशतले गुमाए ।