कमजोर बन्दै मनसुनी गतिविधि

कमजोर बन्दै मनसुनी गतिविधि


गत बिहीबारदेखि सक्रिय रहेको मनसुन मंगलबाट कमजोर हुँदै गएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिण सर्दै गएकाले अबका केही दिन मनसुनी गतिविधि कमजोर हुने मौसमविद् समीर श्रेष्ठले बताए ।

‘न्यूनचापीय रेखा (वर्षा गराउने वायु) विस्तारै दक्षिण सर्दै छ त्यसैले अबको केही दिन वर्षा कम हुनेछ,’ मौसमविद् श्रेष्ठले भने । यद्यपि आज (मंगलबार) देशका मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदको भनाइ रहेको छ । मनसुन सेम्टेम्बरको तेस्रो हप्तासम्म रहने भएकाले कहिले सक्रिय र कहिले कमजोर यो क्रम निरन्तर भइरहने बताइएको छ ।

तत्कालका लागि अति भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी २४ घन्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै रहेकाले सामान्य सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम दृश्यस्थितिका कारण सामान्य अवरोध आउन सक्ने पूर्वानुमान छ ।

राति देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि देशभर आंंशिकदेखि सामान्य बदली रही देशको पूर्वी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही तराई भू–भागका केही स्थानमा र पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।