बाढीपहिरोबाट ७८ को मृत्यु, सत्र हजार घरधुरी विस्थापित

बाढीपहिरोबाट ७८ को मृत्यु, सत्र हजार घरधुरी विस्थापित


मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण मंगलबार मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४ सय २० घरधुरी विस्थापित भएका र तीन हजार ३ सय ६६ जनाको उद्धार गरिएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले ती घरधुरीका मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण कार्यलाई तीव्रता दिएको बताए ।

अझै केही दिन आंशिक र केही स्थानमा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागको छ । अहिलेसम्म बाढीपहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएको छ । बेपत्ताको खोजी र राहत कार्य तीव्र पारिएको सरकारले जनाएको छ । तीनै तहका सुरक्षा निकायका ४१ हजारभन्दा बढी जनशक्ति उक्त अभियानमा सक्रिय छन् ।

rss