रङ्गिइरहेकी छु स्वतः

रङ्गिइरहेकी छु स्वतः


■ दुर्गाकिरण तिवारी ‘क्षितिज’

रङको अनुभूति गर्न नपाएकी
मभित्र तिमी रङ खोज्छौ आफू रङ्गिनलाई
तर म रङको परिभाषा खोज्दै छु
रङरहित जीवनका तरेलीहरूमा,
अथाह मोडहरूमा
अनेकौँ भेष र रङ भेटिन्छन्
कतै बेइमानीको रङ,
कतै चाप्लुसीको रङ
कतै घातका रङ
र त तुरुन्तै रङ बदल्छन् मोडहरू ।

म रङ इन्द्रेणीहरूमा खोज्दिनँ
ऊ प्रफुल्ल बनाउँछ सबैलाई
स्वयम् इन्द्रेणी
शालीन, सौम्य छ र शीतल छ
ऊभित्र जायज रङ छ
म उसभित्र आफ्नो खुसी खोज्छु
मुस्कुराउँछु एक्लै–एक्लै
अनि सोध्छु उसलाई,
तिमीमा अनेकौँ रङ भएर पनि
तिमी दुनियाँभन्दा किन भिन्दै छौ ?
म उसलाई प्रेम गर्छु
केही क्षण भए पनि
उसकै सामीप्यमा रहन्छु
उससँग रङ्गिनुको मजै बेग्लै ।

तर,
ढोङका रङसँग आजित छु म
तिनमा मिसिन मनले दिँदैन
राता–नीला रङमा सजिन पर्दैन मलाई
कुनै रङ् पर्दै पर्दैन मलाई !

मेरो जिन्दगी स्वयम्
अनेकौँ रङमा देख्छु
उकाली–ओरालीहरूमा
गोरेटाहरूमा र अनगिन्ती मोडहरूमा
अनि सङ्घर्षका मैदानहरूमा
दुनियाँको नजर अनि सोचमा !

सदा अरूले नै रङ्ग्याइरहेका छन् मलाई
कतै चिथोरेर प्यासीहरूले
कोपेरर कतै अविश्वासीहरूले
कतै छेडेर मुटु वचनले
कतै किचेर दुव्र्यवहारले
कोही मनसँगै खेलेरै
र त कतै जानै पर्दैन
म आफैँ स्वतः रङ्गिइरहेकी छु
अर्काकै रङमा अमिलिएर
तीता, नमीठा भोगाइहरूमा
निरीह अनि नादान म !