सन्तान आफ्नो हो-होइन शङ्का गर्छन् आमाबाबु

सन्तान आफ्नो हो-होइन शङ्का गर्छन् आमाबाबु


  • सञ्चिता घिमिरे

साता दिन पहिले मात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा एक महिला आफ्नो २१ वर्षीय छोराको ‘डिएनए’ परीक्षणका लागि आइपुग्नुभयो । विवाह भएको १९ वर्षपछि र छोरा १८ वर्षको हुँदादेखि शुरु भएको तनावका कारण उहाँ अदालत हुँदै यहाँसम्म आइपुग्नुभएको थियो ।

वैदेशिक रोजगारीमा रहेका श्रीमानले स्वदेशमा बस्न थालेदेखि नै आफू र छोरालाई शङ्का गर्ने गरेको ती महिलाले बताउनुभयो । पटकपटकको झगडापछि उहाँले अदालतमा माना चामलका लागि मुद्दा हाल्नुभयो । त्यही मुद्दा अहिले तीन वर्षसम्म टुङ्गिएको छैन ।

डिएनए परीक्षण गरेर आफ्नो अधिकार लिने मात्रै नभई, लागेको आरोप पनि पखाल्न लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रिपोर्ट हुलाकमार्फत नै जाने भएकाले आउनु पर्दैन भन्नुभएको छ ।’

छोराछोरी निकै ठूला भइसकेपछि पनि ‘मेरो सन्तान होइन’ भनेर श्रीमानले शङ्का गरेपछि ती महिला परीक्षणका लागि आउनुभएको प्रयोगशालाका सूचना अधिकारी दिनेशकुमार झाले बताउनुभयो ।

उहाँका अनुसार महीनामा झण्डै तीन चार जनासम्म बाबु प्रयोगशालामा ‘सन्तान हो÷होइन शङ्का लाग्यो, डिएनए परीक्षण गराउन चाहन्छु’ भनेर आउने गरेको उहाँको भनाइ छ । अदालतबाट आउने मुद्दामा सबैभन्दा बढी अंश मुद्दा हुने गरेको छ । आमाभन्दा बढी बाबु विवादित हुने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘आमा र बाबु दुवै विवादित भएका दुई तीन वटा मात्रै मुद्दा आएको छ ।’

उहाँका अनुसार उमेर ढल्किएकामा समेत आफ्ना सन्तानसँग अविश्वास रहेको पाइन्छ । साठी वर्ष वा त्योभन्दा बढी उमेरका समेत डिएनए परीक्षण गरेर सन्तान आफ्नो हो÷होइन भनेर जान्न चाहन्छन् । उहाँले भन्नुभयो, ‘हामीले महीनैपिच्छे यस्ता व्यक्तिलाई फर्काइरहेका छौँ ।’

अर्को एउटा घटनामा केही समय पहिले आफूसँगै परिवारका अरु सदस्यलाई हङकङ लैजान एक पुरुष दुई सन्तानको डिएनए परीक्षण गर्न आए । उनीसँग आएका दुई सन्तानको परीक्षण पनि भयो । उनीहरुमध्ये एक जनाको नतिजा सकारात्मक र एक जनाको नकारात्मक आयो । प्रयोगशालाले अहिलेसम्म त्यो नतिजा उनीहरुलाई दिएको छैन । प्रयोगशालाले सम्भव भएसम्म बाबु र आमा दुवैको डिएनए परीक्षण गर्दै आएको भए पनि यो घटनामा बाबु र सन्तानको मात्रै डिएनए परीक्षण गरिएको थियो । प्रयोगशालाले अहिले पनि आमाको डिएनए परीक्षण गर्नुपर्ने भन्दै प्रतिवेदन दिएको छैन ।
rss