नियात्रा लेखनमा महिला उपस्थिति र योगदानबारे चर्चा

नियात्रा लेखनमा महिला उपस्थिति र योगदानबारे चर्चा


‘नियात्रालेखनमा महिला उपस्थिति र योगदान’ विषयमा राजधानीमा विचार गोष्ठी आयोजना गरिएको छ । नियात्रा समाज नेपालद्वारा आज (३० असार) आयोजित गोष्ठीमा डा. गीता त्रिपाठीले नियात्रालेखनमा महिलाको उपस्थितिबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

उनले नियात्राकार रञ्जुश्री पराजुलीद्वारा ०४१ सालमा लिखित ‘विदेशमा बिताएका केही वर्ष’ नै महिलाले लेखेको पहिलो नियात्रा कृति भएको उल्लेख गरिन् । महिला नियात्राकारका लेखनमा पाइने विभिन्न प्रवृत्तिगत योगदानका बारेमा चर्चा गर्दै डा. त्रिपाठीले आगामी दिनमा अझ उत्कृष्ट नियात्रा प्रकाशन हुने कुरामा आशावादी रहेको बताइन् ।

उक्त कार्यपत्रमाथि निबन्धका अन्वेषक तथा समालोचक प्रमोद प्रधानले टिप्पणी गरेका थिए । प्रधानले केही छुटेका निबन्ध कृतिबारे उल्लेख गर्दै विदेश भ्रमणमा आधारित महिलाका कृति प्रशस्त प्रकाशन भए पनि स्वदेश भ्रमणका कृति प्रकाशनमा पनि जोड दिनुपर्ने बताए ।

दर्शकदीर्घामा रहेका सहभागी नियात्राकारहरूले पनि नियात्रा समाज नेपालले यस्तै ऊर्जाशील कार्यक्रममा जोड दिनुपर्ने र आगामी दिनमा भ्रमण क्रियाकलापको अगुवाई गरिदिन आग्रह गरे । नियात्रा समाज नेपालका उपाध्यक्ष प्रतीक ढकालको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वरिष्ठ नियात्राकार देविचन्द्र श्रेष्ठ प्रमुख अतिथि थिए भने गीता रेग्मीले सञ्चालन गरेको सो कार्यक्रम पर्यटन बोर्डको सभाकक्षमा सम्पन्न भएको थियो ।