अनुत्तरित प्रश्नहरू

अनुत्तरित प्रश्नहरू


■ इन्द्रकुमार श्रेष्ठ

कहिले होला ?’ यो जिज्ञासा मलाई भएकै छ
‘कहाँ होला ?’ मैले जान्न बाँकी रहेकै छ
‘किन ? किन ?’ यसको उत्तर खोजेर नि पाइनँ
‘कसले होला ?’ भन्ने जान्न थोरै दिमाग लाइनँ !
‘कुनचाहिँ हो त ?’ भन्ने पनि शङ्का रहिरह्यो
‘को ! को ! ’ भन्ने प्रश्न पनि सधैँभरि भयो
‘कसको ! कसको ?’ बुझिएन कस्तो कठिन भयो !
‘कस्तो ! कस्तो !’ प्रश्नै सस्तो ! के भन्नु के भयो
‘कसलाई ?’ भनी धेरै सोचेँ सोचाइ नै पुगेन
टाउको दुख्यो चित्तबुझ्दो उत्तर नै सुझेन
‘के ! के !’ भनी खुट्याउन ‘नि धेरै कठिन भयो
प्रश्न आयो घरीघरी उत्तर लुकिरह्यो
‘कसरी त ? भन्ने कुरा नसोधे’ नि भयो
मनभरि प्रश्न झरी जिन्दगी नै गयो
उत्तरहरू आए पनि सबै लुकिरहे
जन्मिएका घाउहरू सधैँ दुखिरहे
अझै पनि प्रश्नहरू नौला आउँदै छन्
आए पनि सबै प्रश्न अनुत्तरित नै छन् ।

– कमलाकुञ्ज,ओखलढुङ्गा ।