बल्खुदरबारबाट नयाँ क्रान्तिको घोषणा

बल्खुदरबारबाट नयाँ क्रान्तिको घोषणा


■ कमला थापा

कम्युनिस्टहरू जहिले पनि एक कदम अगाडि हुन्छन् । सर्वसाधारणले सुनेको मार्क्सवादले यसै भन्छ । मार्क्सवादले समाजको यथास्थिति मन पराउँदैन र स्वाभाविक परिवर्तनमा पनि विश्वास गर्दैन । मार्क्सवादको निर्विकल्प सिद्धान्त भनेको क्रान्ति नै हो । अर्को शब्दमा कम्युनिस्टहरू समाजका पथप्रदर्शक पनि हुन् । यस दृष्टिले समाजलाई होच्याउनुपर्ने दायित्व बोकेका कम्युनिस्टहरू एक कदम अगाडि हुनु स्वाभाविकै हो । कम्युनिस्ट साथीहरूले आफूआफूमा सम्बोधन गर्नुपर्दा नामको अगाडि कमरेड भन्ने विशेषण वा उपाधि पनि जोड्नुहुन्छ । हुन त आफू-आफूमा मात्र होइन, उहाँहरू अहिले पनि क. लेनिन, क. स्टालिन र क. माओ भन्नुहुन्छ । सर्वसाधारणले पनि बुझेको कमरेडको अर्थ साथी वा मित्र हो । त्यसैले यो सम्बोधनसँग कसैलाई केही आपत्ति छैन । हामी पनि उहाँहरूलाई कमरेड भनेर सबोधन गर्न सक्छौँ ।

कम्युनिस्ट पार्टीको रातो झन्डामुनि मुठी उठाएर कसम खानुभएका कमरेडहरूले क्रान्तिका कुरा गर्न कहिल्यै छाड्नुहुन्न । हाम्रा कमरेडहरू पनि विभिन्न गुटउगुटमा विभक्त हुनुभएको छ । विभक्त हुनुअघि उहाँहरू कसै न कसैको भक्त हुनुहुन्छ । त्यही भक्तिप्रति निष्ठाले नै उहाँहरूलाई विभक्त गरायो । यति बेला छुट्टाछुट्टै मठमा बसेर कमरेडहरूले क्रान्ति नै अन्तिम सत्य भएको र त्यसका निम्ति आफू मात्र सक्षम भएको घोषणा गरिरहनुभएको छ । सबै कमरेडहरूलाई वर्ग दुश्मन खत्तम गर्ने क्रान्ति सफलताका निम्ति अग्रिम बधाई छ ।

लामो समयको सहयात्रापछि एक हुल कमरेडहरूले भर्खरै आफ्नो चुलो–चौको छुट्याउनुभएको छ । दुवै पक्षले एक–अर्कोलाई नक्कली कमरेड प्रमाणित गर्दै सिध्याउने कसरतमा अहोरात्र खट्नुभएको छ । दुवैबाट गाली–गलोज र हिजोका कर्तुतहरूका वाण बर्सिरहेका छन् । सुनिन्छ– कति कमरेडहरू त वाण लागेर म परिरहनुभएको छ । दोहोरो भिडन्तमा अहिले सबभन्दा अगाडि प्रदीप नेपाल र निमकान्त पाण्डे हुनुहुन्छ । उहाँहरू थाकेपछि अर्का दुईजना कमरेडहरूको पालो आउनेछ । अब एकापट्टिबाट क. केशव स्थापित अघि सर्नुभएको छ र अर्कोपट्टिबाट भने अहिलेसम्म छनोट हुन नसकेकोजस्तो देखिन्छ । सम्भवतः क. स्थापितसँग क. कृष्णगोपाल श्रेष्ठको जोडा मिल्नेछ ।

अरू कुरामा जस्तै जुहारीमा पनि कमरेडहरू एक कदम अगाडि नै हुनुहुन्छ । माफ रहोस्, यहाँ धेरै कमरेडहरूको नामका अगाडि माननीय लेखिनुपर्ने हो, भूलवश त्यो छुटेको छ । आफ्नो निर्वाचन क्षेत्रका धेरै जनताले आफ्नो भाग्यनिर्माताका रूपमा चुनेका माननीय कमरेडहरू, मन्त्री र प्रधानमन्त्रीका प्रबल दाबेदार कमरेडहरू, पजेराका मालिक कमरेडहरू र प्रकृतिमाथि पनि विजय प्राप्त गर्दै सुत्केरी हुन सक्ने पुरुष कमरेडहरू सम्बोधन जसरी पनि गर्न सकिन्छ । सम्बोधन परिचय र सम्मानका लागि गरिन्छ । तर, कमरेडहरूका निम्ति यति मात्र सम्बोधन पर्याप्त छैन । सम्बोधन अरू पनि हुन सक्छन् । समयक्रममा तीमध्ये धेरै सार्वजनिक हुनेछन् । यस निम्ति धैर्यताको खाँचो छ । कमरेडहरू यतिबेला क्रान्तिको महान् अभियानमा हुनुहुन्छ । क्रान्तिको त्यो लामो यात्रामा बाटोमा केही सानातिना घटना घटेका छन् । तिनीहरूलाई कमरेडहरूले ठूलो महत्व पनि दिनुहुन्न ।

कमरेडहरू प्रकाश टिवडेवालाहरूसँगको पहुँच र परिचयका निम्ति लालायित हुनुहुन्छ । त्यस्तो सम्पर्क मात्रैले पनि उहाँहरूलाई आधा क्रान्ति सफल भए जस्तो लाग्छ । झन् टिवडेवालासँगको बसउठ र लेनदेनले त क्रान्तिको पूर्ण रूप नै लिन्छ । तर, त्यो काम गरेर पनि उहाँहरू त्यसको जश लिन चाहनु हुन्न । टिवडेवालालाई आपूmले चिनेकोसम्म पनि स्वीकार्नुहुन्न उहाँहरू । यदि सम्भव भएदेखि टिवलेवालाकहाँ जानुपर्दा क. माधव नेपालले वामदेवको र क. वामदेवले माधव नेपालको रूप धारण गर्नुहुन्थ्यो होला । तर, अहिलेसम्म त्यो सम्भव भएको छैन । अहिलेसम्म एउटै मात्र कमरेड केशव स्थापित यस्तो देखिनुभयो जसले कमरेडीय विशेषता गुमाएर १ काश टिवडेवालालाई भेटेको र नेता कमरेडलाई भेटाएको कुरालाई स्वीकार गर्नुभयो । नत्रभने अरू कमरेडहरूका निम्ति टिवडेवाला सुनेको तर नदेखेको, नभेटेको हिममानव ‘यती’ जस्तै । धन्य हो, काम गरेर पनि श्रेय लिन नचाहने कमरेडहरूको महानता ।

गाह्रो–साँधुरो जसलाई पनि पर्ने कुरा हुन् । सत्ताको हेराफेरी हुन खोज्दा एकपटक माननीय कमरेडहरूलाई यस्तै गाह्रो–साँधुरो पच्यो र उहाँहरूले आ–आफ्नो दरबार छडेर बल्खु दरबारमा सामूहिक रूपमा बास बस्नुपर्ने भयो । हुन सक्छ, पाको उमेरमा माननीय भइसक्दा पनि कमरेडहरूले त्यति निरासिलो रात गुजार्नुपरेको थियो । ज्यादै न्यास्रो लाग्यो । एउटै महान् अभियानमा हिँड्न भएका कमरेडहरूले मनमा एकै प्रकारको नरमाइलो महसुस गर्नुभयो । कमरेडहरूका बीच निर्णयक्षमताको अभाव हुने कुरै भएन । त्यस्तो नरमाइलो क्षणबाट मुक्ति पाउनका लागि उहाँहरूले त्यसलाई रङ्गीन बनाउने निर्णय गर्नुभयो । सर्वसम्मत तुरुन्तै निर्णय भयो प्रहरीले पटकपटक आरा मार्दा पनि नभेटाएको चिज कमरेड लीला श्रेष्ठले तुरुन्तै फेला पार्नुभयो, बाँकी तारतम्य कमरेड केशव स्थापितले मिलाउनुभयो ।

क. अमृत बोहराको निर्देशनमा बल्खु दरबारमा रमाइलो क्षण शुरु भयो । कमरेडहरू जहिले पनि एक कदम अगाडि मात्तिएका उरन्ठेउलेहरूले गर्ने काम माननीय कमरेडहरूले सामूहिक रूपमा गर्नुभयो । एक कदमअगाडिको यो एउटा उदाहरण हो । यसले हाम्रा प्रहरी भाइहरूलाई पनि खुसी लागेको हुनुपर्छ र कमरेडहरूको शासनव्यवस्थाप्रति आकर्षण बढेको हुनुपर्छ किनकि त्यसबेला अश्लील फिल्मका क्यासेट जफत गर्न उनीहरूलाई गल्ली-गल्लीमा भौँतारिनुपर्नेछैन ।

यस किसिमका नयाँ कार्यको थालनी गर्ने बल्खु दरबार एकपटक आफ्नो उपप्रधानमन्त्री पद जोगाउन माधव नेपालले झन्डै बेच्न थाल्नुभएको रहेछ । संयोग हो वा कसैको पराक्रमले त्यो अहिलेसम्म बेचिएको छैन । त्यो बेचिनु पनि हुँदैन । त्यो त कमरेड शब्दको व्याख्याका निम्ति पनि चाहिन्छ । रेड भनेको रातो हो र रातोले क्रान्तिको प्रतिनिधित्व गर्छ । हाम्रा माननीय कमरेडलाई यो सम्बोधन अब खुब सुहाउने भएको छ । अर्थात् उहाँहरूमा रातोपन कम हुँदै गएको छ र त्यसका ठाउँका ब्लु थपिएको छ । त्यसले गर्दा अब उहाँहरूलाई कम रेड वा बढी ब्लु जे भनेर सम्बोधन गरे पनि हुन्छ ।

कुराहरू सार्वजनिक हुन धेरै बाँकी छन् भन्ने हामीले सङ्केत पाइसकेका छौँ– क. केशव स्थापितबाट । त्यसैले अर्धभूमिगत रहेको विषयवस्तुमा धेरै बोल्नु उचित हुँदैन । अहिलेलाई कमरेडहरू एक कदम अगाडि हुनुहुन्छ र बल्खु दरबारबाट नयाँनयाँ क्रान्तिका घोषणा भइरहेका छन् । यति मात्रै बुझ्नुपर्छ ।

(घटना र विचार साप्ताहिक, २०५५ साउन २७ गते बुधबार)